महिलामा पिसाब रोक्न नसक्ने स्थिति



प्रा.डा. अर्जुनदेव भट्ट

पिसाब रोक्न नसक्ने स्थिति पुरुष वा महिला सबैमा देखा पर्न सक्छ । तर जुन परिणाममा महिलाहरूमा पिसाब रोक्न नसक्ने समस्या देखा पर्दछ, त्यसको तुलनामा यो समस्या पुरुषहरूमा केवल वृद्धावस्थामा मात्र हुन सक्छ । पुरुषको तुलनामा महिलामा पिसाब रोक्न नसक्ने स्थिति निकै ठूलो समस्याको रुपमा छ । तर हाम्रो समाज र महिला आफैँले समेत यो समस्यालाई यथार्थरुपमा व्यक्त गर्न सकेको पाइँदैन । चिकित्सक समूहमा पनि यो समस्यालाई खासै महत्व नदिने र अरु स्वास्थ्य विषयमै अल्झेर आफ्नो पेसागत दायित्व पूरा भएको ठान्ने प्रवृत्ति व्याप्त छ । २० वर्ष नाघेका महिलाहरूमध्ये २५ प्रतिशतसम्मलाई पिसाब राम्ररी नियन्त्रण नहुने समस्या देखा पर्दछ । यसको उचित निदान र उपचारको कमीले गर्दा सामाजिकरुपमा र शारीरिकरुपमा महिलाले कष्ट भोग्नुपरेको छ । पिसाब चुहिनुको कारण विभिन्न हुन्छ ।

सबै प्रकारको पिसाब चुहिने अवस्थालाई एकै तरिकाले उपचार गर्न मिल्दैन ।

पिसाब किन चुहिन सक्छ ?

पिसाब थैली एउटा ज्यादै भरपर्दो मांसपेशीले बनेको पिसाब सञ्चय गर्ने र उचित स्थानमा निष्कासन गर्ने अङ्ग हो । जब पिसाब सञ्चय गर्ने कार्यमा पिसाब थैलीको वा त्यहाँ भएका स्नायुहरुको कमजोरी हुन्छ वा मूत्र निष्कासन नलीको खराबी हुन्छ तब पिसाब चुहिएर बाहिरिन पुग्छ । मूत्रथैलीमा प्वाल पर्नु पनि पिसाब चुहिनाको कारण हुन सक्छ ।

महिलाहरुले पिसाब रोक्न नसक्ने स्थिति आउनुका मुख्यतः तीनवटा कारण मानिएको छ– चाप वृद्वि हुँदा पिसाब रोक्न नसकिने स्थिति, पिसाब फेर्न प्रबल इच्छा हुँदा रोक्न नसकिने स्थिति र मिश्रित स्थिति ।

चाप वृद्वि हुँदा पिसाब रोक्न नसकिने

पेटभित्र एक्कासि चाप बढ्ने अवस्था जस्तो– खोक्दा, हाच्छ्यँ गर्दा, टुक्रुक्क बस्दा, कुनै भारी सामान उठाउँदा, यौन सम्बन्ध राख्दा मूत्रथैलीभित्र पनि चाप बढ्छ । सानो पेटको जालो र मलद्वार उठाउने मांसपेशीहरु कमजोर भएका बेला मूत्रथैली र मूत्र निष्कासन नली अस्थिर हुने भएकोले पिसाब थैलीभित्र एक्कासि चाप बढ्दा मूत्रथैलीको मुख खुलेर महिलामा पिसाब रोक्न नसक्ने स्थिति देखा पर्दछ ।
मूत्र निष्कासन नलीको मुख बन्द गर्न योनिले नजिकको मांसपेशीसँग बनाएको झोलुङ्गो (Vaginal Hammock) ले ठूलो भूमिका खेल्दछ ।
महिला शरीरमा तल्लो पेटका अङ्गलाई आफ्नो ठाउँमा स्थिररुपमा राख्ने कार्य मलद्वार उठाउने मांसपेशी र संयोजक तन्तुबाट बनेको आधारको पारस्परिक क्रियाबाट हुन्छ । तर तल्लो पेटको जालो र मांसपेशीले राम्ररी कार्य नगरे  (Dysfunction)  मा सानो पेटका अङ्गहरुको खराबी उत्पन्न हुन्छ । त्यसमध्ये मूत्रथैली, पाठेघर, मोटो आन्द्राको तल्लो भागजस्ता अङ्ग आफ्नो ठाउँबाट तल झर्ने, खोक्दा पिसाब त्याग हुने समस्या देखिन्छ ।

मलद्वार उठाउने मांसपेशी  (Levator Ani) र तल्लो पेटको जालो (Pelvic Diaphragm) को अवस्था सशक्त हुनु महिलाको स्वास्थ्य ठीक रहनको लागि नितान्त आवश्यक छ । मांसपेशी कमजोर भए जालोमा बढी भार परेर छिट्टै त्यो पनि कमजोर वा बिग्रिने हुन्छ ।चाप वृद्वि हुँदा पिसाब रोक्न नसक्ने स्थिति सामना गर्नुपर्ने महिलामा बारम्बार पिसाब नचुहियोस् भन्न छिटो–छिटो पिसाब निखार्ने बानी बस्न सक्छ । पटक–पटक पिसाब फेरिराख्नुपर्ने अवस्था आफैँमा झन्झटपूर्ण र मानसिक तनावको कारण पनि बन्दछ ।

अन्तर्राष्ट्रिय आँकडा अनुसार करिब ५० प्रतिशत महिलामा पेटमा चाप बढेको अवस्थामा पिसाब रोक्न नसक्ने स्थिति आउँछ । गर्भधारण गरेको अवस्थामा खोक्दा वा अरु कुनै कारणबाट पेटमा चाप वृद्वि हुँदा पिसाब रोक्न नसकिने स्थिति भएका महिलाहरूको संख्या झन्डै ४० प्रतिशत हुन्छ । तिनीहरूमध्ये ५ प्रतिशतमा यो स्थिति ठूलो समस्याको रुपमा देखा पर्दछ । तर बच्चा पाएको ३ महिनाभित्र प्रायः धेरैको यो समस्या आफैं समाधान हुन्छ ।

एकपल्ट गर्भधारण गर्दा पिसाब रोक्न नसक्ने समस्या भएका महिलाहरूमा भविष्यमा गर्भधारण गर्दा पनि यो अवस्था आउन सक्छ । एकपल्ट गर्भधारण गर्दा पिसाब रोक्न नसकिने स्थिति भइसकेकाको ५ वर्षपछि पिसाब रोक्न नसकिने अवस्था आउने सम्भावना ४० प्रतिशतभन्दा अधिक हुन्छ । शल्यक्रियाबाट चापवृद्धिसँग सम्बन्धित पिसाब रोक्न नसक्ने स्थितिको उपचार हुन सक्छ ।

पिसाब फेर्न प्रबल इच्छा हुँदा रोक्न नसकिने

पिसाब च्यापे पनि उपयुक्त ठाउँ र वातावरणको अभाव हुन्जेलसम्म पिसाब रोक्न सक्नु मानव शरीरको पवृत्ति हो । पिसाब फेर्न प्रबल इच्छा हुँदा रोक्न नसकिने स्थिति भएका महिलाले पिसाब फेर्न आवश्यकता अनुभव गर्नासाथै पिसाब चुहिएको अनुभव गर्दछन् । यो अवस्था पिसाब थैलीको मांसपेशी अत्यधिक तबरमा सक्रिय भएको खण्डमा देखा पर्दछ ।

सामान्य अवस्थामा पिसाब थैली पिसाब थुपार्ने र पिसाब निखार्नेजस्ता दुई विपरीत कार्य गर्ने अङ्ग हो । पिसाब थैलीको मांसपेशी, स्नायु, धमनी, श्लेष्मा–तह (Mucosa)  र अन्तरलिस कोशिकाहरूको कार्य सन्तुलनले मात्र पिसाब सञ्चय गर्ने र निष्कासन गर्ने कार्य सुचारूरुपले सम्भव हुन सक्छ ।

कुनै प्रकारको घाउ, अवरोध, सुजन वा मनोवैज्ञानिक केही स्थितिले पनि पिसाब थैलीको कार्यलाई खलबल्याएर थैलीको मांसपेशीलाई अत्यधिक तबरमा सक्रिय गर्न सक्छ । मूत्र संक्रमण, स्नायुको खराबी, पिसाब थैलीको अर्बुद रोग, चिन्ता वा आतङ्कित मानसिक अवस्था जुनसुकै कारणबाट पनि पिसाब फेर्न प्रबल इच्छा हुँदा रोक्न नसक्ने स्थिति सृजना हुन सक्छ । यस्तो अवस्थाको जाँच गर्ने र सिस्टोस्कोपी लगायत सम्पूर्ण अनुसन्धान भएपछि गरिएको औषधि उपचारबाट धेरै हदसम्म लाभ प्राप्त हुन सक्छ । सामान्यतया यो समस्यामा शल्यक्रिया गरिँदैन ।

मिश्रित पिसाब रोक्न नसकिने स्थिति

धेरै महिलाहरू खोक्दा पिसाब रोक्न नसकेर भिजेको अनुभव गर्दछन् भने उनीहरूमध्ये कोही पिसाब फेर्ने इच्छा जाग्नासाथ पिसाब थाम्न नसकेर पिसाब चुहिने गरेको बताउँछन् । उनीहरू यसरी दुई विभिन्न अवस्थामा भिज्नुपर्ने हुँदा आफूलाई ज्यादै असजिलो पर्ने र कुनै पनि ठाउँ जानबाट आफूलाई रोक्नुपर्ने बाध्यताबारे गुनासो गर्दछन् । यस्तो अवस्था नै मिश्रित पिसाब रोक्न नसकिने स्थिति हो ।

सामान्यतया पेटभित्र चाप बढ्ने अवस्थामा पिसाब रोक्न नसकिने अपर्झट स्थिति जुन देखा पर्दछ त्यसमा एक्कासि रोक्नै नसक्ने गरी पिसाबले च्याप्ने र पिसाब निष्कासन गर्न जान खोज्दा तुरुन्तै चुहिने वा पूरै छ्वाल्लै निस्कने स्थिति एउटा ठूलो विपत्तिकै रुपमा देखा पर्दछ । पिसाब रोक्न नसक्ने महिलामध्ये करिब ३० प्रतिशत यस्तो मिश्रित कारणबाट पीडित हुन्छन् ।

यद्यपि ३० प्रतिशत बिरामीहरू यो कारणबाट असर परेका पाइन्छन् तर उनीहरू प्रायः अरु दुई कारणमध्ये एउटाबाट मात्र पीडामा भएको भन्दा बढी कष्ट भोग्छन् । त्यसैले तिनीहरूमध्ये झन्डै आधा आफ्नो रोगको कारणबाट निराश र चिन्तित पनि हुन्छन् । खोक्दा पिसाब चुहिने स्थिति सामना गर्नुपर्ने महिलाहरूले त्यस्तो अवस्थाबाट उम्किनका लागि जानी–जानी छिटो–छिटो पिसाब फेर्ने हुनाले पछि त्यो नै बानीमा परिणत हुन्छ । फलस्वरूप पिसाब थैली नै सानो भएर अलि धेरै पिसाब जम्मा गर्नै नसक्ने हुन्छ ।

पिसाब निष्कासन नलीको प्रारम्भ भागमा पिसाब फेर्न नबसेकै बेला अचानक पिसाब छिरेर त्यसले पिसाब फेर्नको निमित्त चाहिने प्रतिक्रिया प्रारम्भ गर्दछ र पिसाब थैलीको मांसपेशीलाई खुम्च्याउँछ ।मिश्रित पिसाब रोक्न नसक्ने स्थिति भएका महिलाहरूको पिसाबमा कोशिका जाँच (Urine Cytology) र सिस्टोस्कोपी  (Cystoscopy)  जाँच गरेर पिसाब थैलीको अर्बुद रोग (Carcinoma in Situ) छैन भनी ढुक्क हुन आवश्यक छ । त्यो बाहेक पिसाब रोक्न नसक्नुको कारण थाहा पाउन युरोडाइनामिक्स जाँच गर्न ज्यादै महत्वपूर्ण हुन्छ । मिश्रित पिसाब रोक्न नसकिने स्थितिको उपचार औषधि र शल्यक्रिया दुवैबाट हुने भए पनि त्यस्ता महिलाहरू अरु दुई कारणबाट पिसाब रोक्न नसकिने स्थितिभन्दा कम सफलता हासिल गर्दछन् ।

पिसाब चुहिने समस्याको उपचार
शरीरको तौल बढी हुनु पनि पिसाव चुहिने समस्याको कारण भएकाले यसको उपचारका लागि सर्वप्रथम आफ्नो शरीरको तौल शरीरको उचाइसँग मेल खाने गरी नियन्त्रण गर्नुपर्दछ । यसका साथै मधुमेह, उच्च रक्तचापजस्ता रोग भएका मानिसले यी रोगका विशेषज्ञसँग सम्पर्क गरी उपचार गर्नुपर्दछ ।

यदि पिसाबमा संक्रमण भएको पाइएमा आफ्नो यौनजोडीको पनि पिसाब, वीर्य जाँच गराएर संक्रमण निराकरण गर्नुपर्छ । निरन्तर व्यायाम गर्ने बानी बसाल्नुपर्दछ । विशेष गरी मलद्वार, पिसाब थैली तथा योनि खुम्च्याउने किसिमको मांसपेशीको कसरत निरन्तर गर्दा लाभ प्राप्त हुन्छ । यी सबै तरिका अपनाउँदा पनि पिसाब चुहिने भई अपेक्षा गरेअनुरुप फाइदा नभएमा औषधि तथा शल्यक्रियाबाट रोगको उपचार गर्नुपर्दछ । शल्यविधिबाट मलद्वार, मूत्रथैली तथा योनि खुम्च्याउने मांसपेशीको कमजोरीसँग सम्बन्धित पिसाब चुहिने रोग निको पारिन्छ ।

धेरै महिला आफूलाई पिसाब चुहिने समस्या भएर पनि लामो समय उपचारमा जाँदैनन् र कसैलाई भन्दैनन् पनि । यसो गर्दा यो समस्या हट्ने त कुरै भएन, बरु बढ्दै जान्छ । यसले गर्दा महिलालाई घरबाहिरको काममा जान नै समस्या पर्छ । घरमै पनि उठ्दा, बस्दा, खोक्दा, हाच्छिउँ गर्दा वा अरु कुनै कारणले पेटमा दबाब पर्दा नचाहँदा नचाहँदै पिसाब चुहिन जान्छ । पिसाब चुहिने क्रम बढ्दै गएपछि लुगाहरु फेरिरहनुपर्ने स्थिति आउँछ । कुनै पारिवारिक वा सामाजिक जमघट तथा कार्यक्रममा पनि सहभागी हुन असहज हुन्छ र आफू एक्लिँदै गइन्छ ।

यसै गरी घरबाहिर जाँदा पिसाब लागेमा उपयुक्त स्थानको अभाव हुँदा निकै कठिनाइको महसुस गर्नुपर्ने हुन्छ । यसले ज्यादै तनाव र लाजको स्थिति बनाइदिन्छ । त्यसकारणले पिसाब रोक्न नसकिने अवस्था छ भने यसलाई लाजको विषय सम्झिनुहुँदैन । बरु बेलैमा उपचार गरेर रोगमुक्त सहज जीवन जिउने प्रयास गर्नुपर्दछ । यसो गर्दा महिलाले आफ्नो जीवन बढी सार्थक र गुणस्तरीय पनि पाउनेछन् ।
(मेडिकेयर नेसनल हस्पिटलमा कार्यरत वरिष्ठ युरोलोजिस्ट प्रा.डा. अर्जुनदेव भट्टसँगको कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस्