चिकित्सकले मागे गृहमन्त्री र स्वास्थ्य मन्त्रीको राजीनामा



काठमाडौँ। 

पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि  कुटपिट भएपछि चिकित्सकहरु विरोधमा उत्रिएका छन्। उनीहरुले विरोध स्वरुप एक साता सेवा बन्द गर्ने घोषणा गरेका छन् ।
लमजुङकी ५७ वर्षीया सुकमाया दुराको उपचारको क्रममा मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकलाई कुटपिट गरेका थिए । चिकित्सकलाई कुटपिट गर्नेलाई कानुनी कारबाही नभएसम्मका सुरक्षित भएर काम गर्न नसक्ने भन्दै सेवा बन्दको घोषणा गरेको जनाएका छन्  ।

आवासीय चिकित्सहरुले सोमबार साँझ एक सूचना जारी गर्दै चिकित्सकमाथि हातपात गर्नेलाई पक्राउ गरी कानुनी कारबाही गर्नुपर्ने र दोषीलाई बिना धरौटी जेल चलाउन कानुनी सुनिश्चितता नभएसम्मका लागि सेवा दिन नसक्ने उल्लेख गरेका छन् ।

सूचनामा ओपीडी, वार्ड, आइसियु, आकस्मिक प्रयोगशालालगायतका सेवा बन्द हुने उल्लेख गरिएको छ ।
मृतक दुराका आफन्तले  डा अनिल शाहमाथि आक्रमण गर्नुका साथै अस्पताल परिसरमा तोडफोड समेत गरेको र  डाक्टरमाथि हातपात गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरी  अनुसन्धान  अघि बढाएको छ ।

यसै घटनालाई लिई चिकित्सकमाथि हातपात बढेको भन्दै त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुले पनि विरोध प्रदर्शन गरेका छन् ।
त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकले आकस्मिक बाहेकका सेवा ठप्प पार्दै विरोध प्रदर्शन गरेको जनाएका छन् । चिकित्सकमाथि श्रृंखलावद्ध जस्तो आक्रमण भइरहेको बताउँदै चिकित्सकहरु विरोधमा उत्रिएको जनाएका छन् ।

पछिल्लो १० दिनको बीचमा हेटौँडा, कञ्चनपुर, मोरङ, चितवन, लमजुङ र पोखरामा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण हुनुका साथै स्वास्थ्य संस्था तोडफोड भएकाले सुरक्षा ग्यारेन्टी नभएसम्म काममा नफर्किने गरी आन्दोलन गरिएको शिक्षण अस्पताल अन्तर्गतको स्वतन्त्र विद्यार्थी युनियनले जनाएको छ ।

शिक्षण अस्पताल आवासीय चिकित्सक संघले विज्ञप्ति जारी गर्दै आफूहरुले काम छाडेको जानकारी गराएको छ । राष्ट्रिय आवासीय चिकित्सक संघ शिक्षण अस्पतालका तर्फबाट सभापति सन्दीपकुमार ओखेडाले ¥यालीका लागि आह्वान गर्नुभएको र   त्यहाँ अध्ययनरत विद्यार्थीले शिक्षण अस्पतालबाट र्‍याली निकालेर माइतीघर मण्डलामा पुगेर विरोध प्रदर्शन गरेका थिए ।

डाक्टरहरूले कार्यस्थलमा सुरक्षाको प्रत्याभूति हुनुपर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी संशोधन ऐन कार्यान्वयन गर्नुपर्ने माग राख्दै र्‍याली सहित माइतीघर मण्डला पुगेको चिकित्सकहरुको विरोध जुलुसमा गृह मन्त्री र स्वास्थ्य मन्त्रीको राजीनामा माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्