छालाको स्याहारका लागि धुलिखेल अस्पतालको आफ्नै उत्पादन



काभ्रे । धुलिखेल अस्पताल काठमाडौ विश्वविद्यालय शिक्षण अस्पतालले विभिन्न विषयमा अध्ययन, अनुसन्धानका साथै बिरामीको उपचारका लागि नयाँ–नयाँ प्रविधि भित्र्याउने र बिरामीलाई सेवा दिने मात्र नभै मानव शरिरको सुन्दरतालाई समेत उत्तिकै प्राथमिकतामा राखेको छ ।

सुन्दरताको लागि अनुहारको चायापोतो हटाउँने, कपाल झरेकालाई झर्नबाट रोक्ने र तालु खुईलिएकालाई कपाल रोप्ने सम्मको प्रविधि भित्र्याएको धुलिखेल अस्पतालले पछिल्लो समय कस्मेटिक प्रोडक्ट अनुहार र हातगोडाको मुलायमका लागि “स्याहार” लोसन, क्रिम उत्पादन गरेर नयाँ आयाम थपेकोछ ।

स्वदेशमै उत्पादन हुने कच्चापदार्थबाट छालाको प्रकार र मौसम अनुसारका क्रीमहरु उत्पाद गरेर धुलिखेल अस्पतालको छुट्टै पहिचान दिलाउन सचिन माकजु लागि पर्नुभएको स्त्रीरोग विशेषज्ञ तथा धुलिखेल अस्पतालका प्रवक्ता प्रा.डा.सुमनराज ताम्राकारले जानकारी गराउँनुभयो ।

सोमबार स्याहार उत्पादका बारेमा जानकारी गराउँन धुलिखेल अस्पतालमा आयोजित कार्यक्रममा सचिन माकजुले स्याहार उत्पादनहरु किन ? यसको उदेश्य के हो भन्ने बिषयमा सामाजिक मूल्य मान्यतालाई आत्मसात गरि अन्तर्राष्ट्रिय गुणस्तरका नितान्त नौलो कस्मेटिक उत्पादनहरु विकसित गर्ने प्रष्ट्याउँनुभएको थियो ।

उहाँले यो उत्पादनले छालासम्बन्धी स्याहार एवं उपचारका लागि अनुसन्धान एवं विकास योजनाका रुपमा सन् २०१५ देखि धुलिखेल अस्पतालले स्याहारका उत्पादनहरु थालिएको बताउँनुभयो । अस्पतालका सेवाग्रहीहरुलाई सुलभ मूल्यमै अन्तर्राष्ट्रिय गुणस्तरका कस्मेटिक उत्पादनहरु उपलब्ध गराउनु नै यसको मुख्य लक्ष्य हो । यस क्रममा सन् २०१६ मा केवल ३ वटा प्रडक्टहरु धुलिखेल अस्पतालको फार्मेसीबाट विक्री वितरण गर्न थालिएको थियो ।

अक्टोबर २०१८ बाट अस्पताल परिसरमै छुट्टै आउटलेट खडा गरी विक्री वितरण गर्न थालियो । जुलाई २०२० मा नाफारहित संस्थाको रुपमा कम्पनी रजिष्टर गर्नुका साथै ट्रेडमार्क पनि दर्ता गरियो । यसको लोगो डिजाइन काठमाण्डौ विश्वविद्यालयका स्कुल अफ आर्टस्का विद्यार्थीहरु माझ प्रतिस्पर्धा गराई गरिएको थियो ।

हाल स्याहारका ५० थरि स्किन केयर प्रडक्ट क्रिम, झोल, साबुन, लिप केयरका रुपमा उपलब्ध छ । र, मूल्यको हकमा रु.१५० देखि रु.५००० सम्मका प्रडक्टहरु छन् । हाम्रा उत्पादनहरु मध्ये एन्टी एजिङ र मोइस्चराईजर प्रडक्टहरु प्रति हामीलाई निकै गर्व छ, यी प्रडक्टहरु हाम्रो लागि कोशेढुंगाका रुपमा रहेको छ ।

हामी छालाको प्रकार एवं मौसम अनुसार प्रडक्टहरुलाई वर्गीकरण गर्दछौं भने पर्व वा कुनै विशेष अवसरका बेला हाम्रा प्रडक्टहरुमा छुट दिने गरेका छौं । प्रयोगकर्ता अर्थात् सेवाग्रहीहरुमध्ये ९० प्रतिशत खुशी एवं सन्तुष्ट छन् । अहिले यसको उत्पादन स्थल धुलिखेल अस्पतालको बालुवा स्वास्थ्य केन्द्र (आउटरिच सेन्टर) मा रहेको छ । यसमा ४ जना जनशक्ती संलग्न रहेको छ । स्याहारका उत्पादनहरु नेपाल राज्यभरि ७ वटा विक्री कक्षबाट विक्री वितरण भैरहेको छ । यसको विस्तारका लागि लागेका छौ ।

उत्पादन र वितरणलाई निरन्तरता दिनका लागि स्थानिय रुपमै आवश्यक कच्चा पदार्थ उत्पादनको लागि अस्पतालकै वालुवा आउटरिज सेन्टरलाई उत्पादन क्षेत्र बनाईदै आएकोमा उत्पादनको माग बढेसँगै अब पाँचखाल नगरपालिकासँग सम्झौता गरि २ सय रोपनी जग्गामा उत्पादन भएको कज्जा पदार्थ खरिद गर्ने, त्यसैगरि नमोबुद्ध नगरपालिकाको ४ सय रोपनीमा उत्पादन भएको कच्चा पदाथए खरिद गर्ने र उत्पादनलाई बृहतर बनाउँने लक्ष्य र उदेश्यका साथ अघि बढेको डा.ताम्राकारले बताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस्