नायकको खोजीमा नेपाल



स्वाधीन भूपरिवेष्टित मुलुक नेपालसामु आएका सबै चुनौतीहरुलाई सामना गर्न सक्षम नायकहरु यो मुलुकले विगतदेखि नै पाउँदै आएको छ । शायद ती नायकहरु नपाएको भए नेपालको अस्तित्व के हुन्थ्यो होला भन्ने प्रश्नको उत्तर कहाली लाग्दो हुन सक्थ्यो वा रहर लाग्दो हुन सक्थ्यो ? त्यो आँकलन गर्न सहज छैन । तर पनि नेपालले आफ्नो स्वाधीन अस्तित्व कायम गर्नकै लागि आवश्यक परेको बखत नेपालभित्रै नेपाली माटो सुहाउँदा नायकहरुको उदय यो मुलुकमा भएको पाइन्छ ।

एकीकरणअगाडि बाइसे, चौबीसे राज्यहरुमा विभाजित नेपाल र भारत अनेक साना–ठूला राज्यहरुमा विभाजित थिए । विश्व मानचित्रमा कहिल्यै सूर्य नअस्ताउने देशको रुपमा परिचित ब्रिटिस साम्राज्य इष्ट इन्डिया कम्पनीको रुपमा भारतीय उपमहाद्वीपमा पसेर त्यहाँका राजा–रजौटाहरुबीचको वैमनस्यता र महत्वाकांक्षामाथि खेल्दै बिस्तारै नेपालतिर लम्किन सुरसार गर्दै गर्दा नेपालले पृथ्वीनारायण शाहको रुपमा एक नायक पायो । पृथ्वीनारायण शाहले नेपाललाई एकीकरण गरेर सबल र सक्षम नबनाए विस्तारवादी पाइलालाई रोक्न सकिन्न भन्ने यथार्थलाई आत्मसात् गरेर एकीकृत मुलुक बनाउने महान् कार्य गरेकै हुन्, जुन स्तुतियोग्य छ । कतिपयले अहिले आएर एकीकरण अभियानले आफ्नो पहिचानलाई मेटेको आरोप लगाउँछन् तर ती सबैलाई एउटा प्रश्न गर्न सकिन्छ कि के पृथ्वीनारायण शाहले नेपाललाई एकीकृत र बलियो नबनाएको भए इस्ट इन्डिया कम्पनीबाट उनीहरुले आफ्नो भूभाग जोगाउन सक्थे त ? विशाल भारत (अहिलेको पाकिस्तान र बंगलादेशसहित) लाई त क्वाप्पै निल्ने वक्रदृष्टिबाट के नेपाली सुरम्य भूभागहरु बच्थे होला त ? त्यसैले त्यो युगले जन्माएका एक नायक हुन् पृथ्वीनारायण शाह भन्ने कुरामा अधिकांश राष्ट्रप्रेमी नेपालीको दुईमत हुनै सक्दैन ।

पृथ्वीनारायण शाहले आफ्नो लडाकू योद्धाको छविबाट बाहिर निस्किएर राजाको भूमिका निर्वाह गर्न पाउनुभन्दा अगाडि नै भएको उनको मृत्युपश्चात् षड्यन्त्र, दाउपेचजस्ता कुटिल दरबारिया राजनीतिको कारण नेपाल कमजोर हुँदै गएको अवस्थामा देशले अर्को नायक खोजिरहेको थियो । त्यो यस्तो परिवेश थियो, जुन परिस्थितिमा इस्ट इन्डिया कम्पनीले आफूलाई स्थापित गरिसकेको थियो र नेपालको दरबारमा मौलाएको अव्यवस्था र अराजनीतिले गर्दा नेपालका धेरै योद्धाहरुले षड्यन्त्रको सिकार हुनुपरेको परिस्थिति थियो । देशलाई स्थिरता दिनको लागि देशले अर्को नायकको खोजी गरिरहेको त्यो समयमा नेपालमा जंगबहादुरको उदय भयो । जंगबहादुरले आफ्नो उदयसँगसँगै दरबारिया षड्यन्त्र र दाउपेचलाई बन्द गरे र मुलुकलाई स्थिरता प्रदान गरे । सुगौली सन्धिमा गुमेका भूभागहरुमध्ये बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलाई नेपालमा गाँस्ने काम गरे । जंगबहादुर त्यो समयमा बेलायती सरकारको निमन्त्रणामा स्वाधीन मुलुकको प्रधानमन्त्रीको हैसियतमा बेलायत भ्रमण गर्ने पहिलो व्यक्ति थिए दक्षिण एसियामा । तर उनले आफूलाई पूर्णरुपले स्थापित गराउँदै राजनीतिलाई स्थिर बनाउन नसक्दै उनको मृत्यु भएपछि रणोद्दिप सिंहको हत्यासँगै जंगबहादुरका सन्तानहरु मारिए । राणा शासनको शुरुवात यस्तो समयमा भएको थियो कि जुन समयमा दरबारभित्रको बिग्रिएको राजनीतिको कारण विस्तारवादीलाई आकर्षित नगर्ला भन्न सकिने अवस्था थिएन ।

जंगबहादुरको उदयपश्चात् शुरु भएको राणा शासनले उनको मृत्युपश्चात् राणाहरुलाई बिस्तारै निरंकुश, विलासी र दम्भी शासकको रुपमा स्थापित गरायो । त्यो समय अगाडि लम्किँदै गर्दा विश्वमा नै स्वतन्त्रताको लहर चल्न थाल्यो र भारतमा महात्मा गान्धीको उदयसँगै शुरुवात भएको भारत छोडो आन्दोलनको शुरुवातले वि.सं. २००४ साल (इ.सं. १९४७) मा भारत स्वतन्त्र भयो । इ.सं. १९४५ (वि.सं. २००२) सालमा दोस्रो विश्वयुद्धको समाप्तिपश्चात् भारत स्वतन्त्र हुँदा एकीकृत भारत बेलायतको लागि चुनौती नबनोस् भनेर समग्र ब्रिटिस इन्डियालाई भारत र पाकिस्तान दुई देश बनाएर बेलायतले भारतीय भूमि छाडेको यथार्थलाई दृष्टिगत गर्नुपर्नेहुन्छ । भारत स्वतन्त्र हुनुअघि स्वतन्त्र भारतको लागि लडेका जिन्नाको सोचलाई लक्षित गरेर पाकिस्तान भन्ने मुलुकको परिकल्पना भएको थियो । भारत स्वतन्त्र भएपश्चात् नेपालको अस्तित्वलाई कति ठूलो चुनौती थियो भन्ने कुरो विभिन्न कालखण्डमा नेपालले भोगेका घटनाक्रमहरुले देखाउँछ । भारत स्वतन्त्र हुँदा स्वतन्त्र रहेको सिक्किम जसरी भारतमा विलय भयो त्यसै गरी नेपाललाई खतरा थिएन भन्ने कुरो आउँदै गर्दा नेपालले बीपी कोइरालाको रुपमा नायक पायो । जसले राणाहरुको एकतन्त्रीय जहानिया शासनविरुद्ध संगठित हुन बनारसमा रहँदा भारत छोडो आन्दोलनमा सक्रिय भएर महात्मा गान्धी, जय प्रकाश नारायण, नेहरुलगायतका उपल्लो तहका भारतीय नेतृत्वसँग सम्बन्ध स्थापित गरेका थिए, जसको कारण नेपालको अस्तित्व सुरक्षित भयो । भारतमा नेपालको अस्तित्वलाई नै संकटमा पार्ने गरी अराजनीतिक प्रस्तावहरु आउन थालेपछि नेपालमा महेन्द्रले कि झुन्ड्याउँछन्, कि कारागारमा कोच्छन् भन्ने थाहा हुँदाहुँदै बीपीले किन राष्ट्रिय मेलमिलापको नीति अँगाले ? किन बीपीले राष्ट्रियताको सवालमा राजा र मेरो घाँटी एकै स्थानमा छ भन्ने गर्थे ? किन बीपीले आफ्नो राजनीतिक सिद्धान्तमा संवैधानिक राजतन्त्रको वकालत गरे ? यी प्रश्नहरुले के भन्छन् भने, बीपी त्यो ताका मुलुकले रुचाएका नायक थिए ? यो देशमा २००७ सालको परिवर्तनपश्चात् राजा महेन्द्रले अर्घेल्याइँ नगरेर संवैधानिक राजतन्त्रको दायरामा बस्न स्वीकार गरेको भए, राजामा निहित राष्ट्रियता र बीपीको प्रजातान्त्रिक समाजवादले त्यो समयमा अंकुरित हुन पाएको भए आज नेपाल विश्वकै समृद्ध, स्थिर र विकसित मुलुकको रुपमा रुपान्तरित हुने थियो भन्दा अत्युक्ति हुँदैन ।

२०१७ सालमा महेन्द्रले प्रजातान्त्रमाथि कुठाराघात गर्दै प्रजातान्त्रिक विचार बोक्नेलाई कारागारमा थन्क्याउनाले मुलुकलाई जुन क्षति पुगेको छ त्यसको आँकलन गर्न सम्भव छैन । महेन्द्रले चालेको त्यो निरंकुश कदमले नेपालमा पटक–पटक विद्रोह, जनयुद्ध, आन्दोलनको लागि जगको काम ग¥यो । महेन्द्रले चालेको निरंकुश कदमकै दौरानमा ९० को दशकमा विश्वभरि चलेको प्रजातन्त्रको आँधीले नेपाललाई पुनः प्रजातन्त्रको बाटोमा ल्यायो र त्यो बेला नेपालको लागि नायक बनेर उदाए तत्कालीन राजा वीरेन्द्र, जसले शासकीय अहंतालाई त्यागेर संवैधानिक राजा भएर संविधानबमोजिम आफूलाई नियन्त्रित राख्न तयार भए । उनको यही प्रतिबद्धताले उनी पृथ्वीनारायण शाहपश्चात् सम्मानित राजाको रुपमा नेपाली जनजनको मनमा बस्न सफल भए ।

शालीन राजा वीरेन्द्रको वंशकै विनाश भयो । उनको सुरक्षामा खटिएको सेनाको टुकडी राजपरिवारको सुरक्षा गर्न सक्षम भएन । राजपरिवारको हत्या हुनुभन्दा अगाडि नेपालका अर्का नायक मदन भण्डारीको मृत्यु भयो । २०४६ सालको परिवर्तनका नायकहरु गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी र मदन भण्डारीमध्ये समय र शक्ति प्रचुर मात्रामा भएका मदन भण्डारीको अकल्पनीय मृत्युले मुलुकलाई अपूरणीय क्षति भयो भन्ने कुरामा दुईमत हुन सक्दैन । २०५० जेठ ३ गते मदन भण्डारीको मृत्यु हुनु, मृत्यु भएपश्चात् २०५२ फागुन १ गतेबाट माओवादी जनयुद्धको घोषणा हुनु, मदन भण्डारीको मृत्युका एकमात्रै जीवित साक्षी अमर लामालाई कीर्तिपुरमा माओवादीले लखेटेर मार्नु, मदन भण्डारीको हत्या भयो भनेर राजनीतिमा हंगामा मच्चाउँदै आएका सबै व्यक्तिहरु पटक–पटक राज्यको उपल्लो पदमा पुग्दासमेत कहिल्यै दासढुंगा मृत्यु प्रकरणको छानबिन नहुनु आदिले कैयौं प्रश्नहरु सिर्जना गरेका छन् ।

यसै बीचमा दरबार हत्याकाण्डपश्चात् संवैधानिक राजा बनेका ज्ञानेन्द्रले सक्रिय राजा हुने प्रयास गर्दै संवैधानिक राजतन्त्रका सीमालाई भत्काइदिनु, प्रजातान्त्रिक शासन व्यवस्थाका प्रधानमन्त्रीलाई बर्खास्त गर्नु, म नै राज्य हुँ भन्ने फ्रान्सेली राजा लुई चौधौंको धारणा मिल्दो हिसाबले न्यायालयभन्दा माथि राखेर शाही आयोगको गठन गरी आम नेपाली नागरिकलाई तानाशाही क्रुरताको आभास दिनु, राजाको सक्रियतासँगै सैनिक बाहुल्यतासहितको राजनीतिक र प्रशासनिक अभ्यासको शुरुवात गर्नुले शहरतिर सेनाको परेडले जनता त्रसित, गाउँतिर जनयुद्धको नाममा माओवादीको परेडले जनता त्रसित हुने परिस्थिति विकास भयो । नेपाली जनता राजाका सैनिक अनि माओवादीका लडाकूहरुको त्रासबाट मुक्तिसहितको शान्तिको कामना गर्दै थि ए । उनीहरु शान्तिपूर्ण हिसाबले जीवनयापन गर्दै गरिखान चाहन्थे । त्यो बेलामा राजा ज्ञानेन्द्रले नजरबन्दमा राखेका नेता गिरिजाप्रसाद कोइरालाले यी दुवै त्रासबाट नेपाली नागरिकलाई मुक्त गराई नेपालमा दिगो शान्ति स्थापना गर्नको लागि ज्ञानेन्द्रको आततायी कदमविरुद्ध लड्नका लागि जंगलमा सशस्त्र जनयुद्ध गरिरहेको माओवादी नेतृत्वलगायत नेपालका बन्देजमा परेका राजनीतिक दलका शीर्ष नेतृत्वसँग वार्ताको थालनी गरे । केही समयपश्चात् नेपालमा राजाले विघटित संसद् पुनस्र्थापित गराए, पुनस्र्थापित संसद्ले राजालाई निलम्बित ग¥यो, गिरिजाप्रसाद कोइराला सरकार प्रमुख बने, सरकार प्रमुख र माओवादीको बीचमा १२ बुँदे सम्झौता हुँदै नेपालमा जनयुद्धको विधिवत् अन्त्य हुँदै शान्ति स्थापना भयो, सेना ब्यारेकमा फर्कियो, ज्ञानेन्द्र नागार्जुन पसे । यो सुखद कार्यको थालनी गिरिजाप्रसाद कोइरालाले गरेका थिए भने अन्य नायकहरु माधवकुमार नेपाल, पुष्पकमल दाहाल, बाबुराम भट्टराई आदिको भूमिका त्यत्तिकै रह्यो । यसरी नेपालले हरेक संकटको घडीमा नायक जन्माउने गरेको छ या कोही नायकको रुप लिएर नेपालीलाई संकटमुक्त पार्न अगाडि बढेको इतिहास हाम्रो छ ।

आज मुलुकमा देखिएको चरम आर्थिक विशृङ्खलता, भ्रष्टाचार, अराजनीति, आपराधिक गतिविधि, कालोबजारी, हुन्डी, माफिया, तस्कर, बिचौलिया, राजनीतिक भ्रष्टाचार, प्रशासनिक भ्रष्टाचार, राजनीतिक विचलन, प्रशासनिक विचलन, राजनीतिको अपराधीकरण, अपराधीको राजनीतीकरण, संगठित अपराध, संरक्षित अपराध, आर्थिक अपराध, अन्यायको दुश्चक्रका मतियारहरुको बिगबिगी, राज्यका संयन्त्रको अपराध र अपराधी जोगाउने कार्यमा दुरुपयोग आदिले सिर्जित आर्थिक मन्दी आदिको कारण नागरिकहरुमा चरम निराशा, असन्तुष्टि छाएको छ । राज्य सञ्चालकहरुको अकर्मण्यता, लोभलालच, परिवार–मोह, पत्नी–मोह, पुत्र–मोह, पुत्री–मोह, नातेदार–मोह, दलाल र बिचौलिया–मोह, कालोबजारी–मोह, तस्कर–मोहले राज्य सञ्चालकहरु सबै महाभारतकालीन धृतराष्ट्र र उनको राजनीतिक सभामा रुपान्तरित भएका छन् । नेपाली नागरिकले धेरै केही चाहेका छैनन् । विकास र समृद्धि चाहनु उनीहरुको अपराध हो । शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायातलगायतका कुरामा लोककल्याणकारी राज्यले लगानी गरोस् भन्ने सोच राख्नु अपराध हो ? भ्रष्टाचार मुक्त राजनीति र प्रशासन चाहनु उनीहरुको अपराध हो ? आफ्नो घरका बाटाहरु समयानुकूल हुन् भन्नु उनीहरुको अपराध हो ? विश्वले हासिल गरेका विकासका लक्ष्यहरु पछ्याउन खोज्नु उनीहरुको अपराध हो ? आर्थिक मन्दी, अविकास, अव्यवस्था, गरिबी, कुशासन, अन्याय, अत्याचार, विभेद, महँगी, भ्रष्टाचार, मुद्रास्फीति, कालोबजारी, तस्करी आदिबाट मुक्तिसहितको प्रजातान्त्रिक अभ्यास नेपालीको आजको चाहना हो । जसरी हिजो नेपालीको चाहना शान्ति थियो, प्रजातन्त्र थियो, तानाशाही शासनबाट मुक्ति थियो । आज नेपालीका यी चाहना पूरा गर्न सक्ने सक्षम, स्वतन्त्र, स्वाभिमानी, युगानुकूल, राष्ट्रप्रेमी, नागरिकप्रेमी, प्रजातन्त्रवादी नायकको खोजी नेपाल र नेपालीले गरिरहेका छन् । यो खोजी प्राकृतिक रुपले सम्भव भएन भने आक्रोश, निराशा र असन्तुष्टिले ज्वालामुखीको रुप लिएर विस्फोट कुनै पनि समय हुनसक्छ । नेपालीहरुमा उब्जिएको यो निराशा, असन्तुष्टि विस्फोटनको बाटोबाट बाहिर निस्किएर विध्वंश मच्चाउनुभन्दा अगाडि नै नेपालको अबको नायक को हो ? निक्र्यौल हुनु जरुरी छ । यदि नायकको अभावकै समयमा नेपाली नागरिकको असन्तुष्टि र निराशाको विस्फोट भयो र त्यो विस्फोटले उब्जाएको हडकम्पमा केही गरी गलत मानिसले नायकको रुप धारण ग¥यो भने त्यसले पु¥याउने अपूरणीय क्षतिलाई नेपाल र नेपालीले युगौंसम्म पूर्ति गर्न सक्नेछैनन् ।

प्रतिक्रिया दिनुहोस्