वडाध्यक्षद्वारा डिउटीमा रहेका डाक्टरमाथि हातपात 



लमजुङ। 

लमजुङ अस्पतालमा कार्यरत डाक्टर सन्दीप अधिकारीमाथि हातपात भएको छ । आइतबार राती डिउटीमा रहेका बेला अस्पतालमा कार्यरत डाक्टर अधिकारी माथि हातपात भएको हो ।

जिल्ला स्थित बेसीशहर नगरपालिका ७ का वडाध्यक्ष ऋषिराम बस्नेतले डा. अधिकारीमाथि हातपात गरेको अस्पतालले जनाएको छ । आमाको उपचारका लागि अस्पताल पुगेका बस्नेत र डाक्टरबीच  बिरामी भर्नाका विषयमा विवाद हुँदा अध्यक्ष बस्नेतले डा. अधिकारीलाई हातपात सँगै दुर्व्यवहार गरेको अस्पतालले जनाएको छ ।

अस्पताल भर्ना गर्दा बिरामी र निकटतम आफन्तको मन्जुरीनामा हस्ताक्षर गर्नुपर्ने प्रावधान रहेको र सोही विषयमा वडाध्यक्षले इन्कार गरी आक्रमणमा उत्रिएको अस्पतालको आरोप छ । डाक्टरमाथि हातपातसँगै अस्पतालमा कार्यरत नर्सहरुलाई पनि दुर्व्यवहार गरेको लमजुङ अस्पतालका मेडिकल सुपरिटेडेन्ट डा. विशाल तिवारीले बताए ।

डिउटीमै रहेका बेला हातपात भएको भन्दै बस्नेतविरुद्ध पीडित डाक्टर सहितको टोलिले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिने तयारी गरेको छ । जाहेरी दिनुअघि प्रशासनको रोहवरमा दुईपक्षबीच  बार्ता गर्ने प्रयास भएपनि पीडितहरूले कानुनी रुपमा अघि बढ्ने प्रतिक्रिया दिएका थिए ।

यसैविच लमजुङ अस्पताल व्यवस्थापन समितिले एक विज्ञप्ति जारी गर्दै अस्पतालमा कार्यरत डाक्टरमाथि डिउटीकै क्रममा भएको हातपात निन्दनिय भएको जनाएको छ । घटनाका आरोपित बस्नेतले यसअघि पनि सोही  अस्पतालका तत्कालीन मेसु रमेश आचार्यलाई दुर्व्यवहार गरेको तर उक्त समयमा राजनीतिक आस्थाका आधारमा घटनालाई बाहिर नल्याइएको समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

निरन्तर यस्ता घटना नदोहोरिन आरोपितलाई कानुनी कारवाहिको प्रक्रिया अघि बढाउनुपर्ने माग राख्दै समितिले आगामी दिनहरुमा अस्पतालमा प्रदान हुने सेवा प्रवाहमा यस्ता घटना नदोहोरिन र सहयोगका लागि सम्बन्धित सवैसँग आग्रह गरेको छ ।

यसैविच घटनाका आरोपित बस्नेतलाई जिल्ला प्रहरी कार्यालय लमजुङले नियन्त्रणमा लिएको छ । घटनाबारे जानकारी पाए लगत्तै बस्नेतलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख एवं प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्