राष्ट्रिय स्वास्थ्य सम्मेलन असोज १२ र १३ मा हुने



काठमाडौं । नेपाल चिकित्सक संघले आयोजना गर्दै आएको राष्ट्रिय स्वास्थ्य सम्मेलनको तेस्रो संस्करण यहीँ असोज १२ र १३ हुने भएको छ ।

‘थर्ड एनएमए नेशनल हेल्थ समिट –२०२३’ नाम दिइएको यो दुई दिने सम्मेलन काठमाडौंको बबरमहलस्थित कार्की ब्याङक्वेटमा हुने नेपाल चिकित्सक संघले आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

गुणस्तरीय स्वास्थ्य सेवाको प्रर्वद्धन अवसर र चुनौती भन्ने मुख्य नाराका साथ शुरू हुन लागेको यो सम्मेलनमा अरू ६ वटा छुट्टाछुट्टै विषयवस्तु तय गरिएको सम्मेलनका अध्यक्ष तथा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष प्राड चोपलाल भुषालले जानकारी गराउँनुभयो ।

प्राडा भुसालले सम्मेलनले स्वास्थ्यका विविध विषयमा छलफल मात्र नभएर त्यसको समाधानको पाटोको विकल्पहरूसहित निचोड निकाल्ने बताउँनुभयो ।

उहाँले २० वर्ष अघि र अहिले स्वास्थ्यमा छलफल गर्नुपर्ने विषयमा फरक आएको भन्दै यो सम्मेलनले केही हदसम्म मानव स्वास्थ्य र गुणस्तरीय स्वास्थ्य प्रवाहलगायतका विषयमा गहनतम् विचार विमर्श गर्ने बताउँनुभयो ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले एनएमए तेस्रो नेशनल हेल्थ समिटमा स्वास्थ्यका विभिन्न ६ विषयमा विज्ञहरुमार्फत गहन छलफल हुने बताउँनुभयो ।

सम्मेलनमा अघिल्लो वर्ष गरिएको दोस्रो राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलनका उपलब्धि, चिकित्सा विज्ञानको विकासका लागि खोज, अनुसन्धान तथा नवप्रवर्तन, स्वास्थ्य सेवा प्रणालीको उन्नयनका लागि स्वास्थ्य अर्थशास्त्र, सुरक्षित स्वास्थ्य सेवा प्रवाहको सबलीकरण, समान सेवाका लागि स्वास्थ्य प्रणाली र स्तरीय स्वास्थ्य सेवाका लागि गुणस्तरीय शिक्षा रहेका छन् ।

थप सेसनका रुपमा एन्टिबायोटिकको गलत प्रयोगकाबारेमा पनि सेसन राख्नेबारे छलफल भइरहेको डा. कार्कीले जानकारीले जानकारी गराउँनुभयो ।

डा. कार्कीले उक्त सम्मेलनको समापन पश्चात् बैज्ञानिक रूपमा प्रस्तुत गरिएका कार्यपत्र, छलफल र निचोडलाई एकीकृत गरी रणनीतिमूलक नीतिगत सुझाब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायत देशभरका सरोकारवाला निकायमा सम्प्रेषण गरिनेसमेत जानकारी दिनुभयो ।

संघका पूर्वअध्यक्ष डा. लोचन कार्कीले संघले पेशागत हितबाहेक स्वास्थ्य अनुसन्धानलाई बढावा दिन, स्वास्थ्य नीतिलाई सहयोग गर्नका लागि यो समिट आयोजना गरिएको बताउँनुभयो ।

जर्नल अफ नेपाल मेडिकल एसोसिएसनको प्रकाशन शुरूवात भएको महिनालाई प्रत्येक वर्ष वार्षिक क्यालेण्डर इभेन्टको रूपमा मनाउने संघको केन्द्रीय कार्यकारिणी समितिको निर्णयबमोजिम गत तीन वर्षदेखि संघले राष्ट्रिय सम्मेलन गर्न थालेको हो ।

प्रतिक्रिया दिनुहोस्