विश्व शान्ति दिवस : मेरा लागि के अर्थ राख्छ ?



आज सेप्टेम्बर २१ का दिनलाई विश्व शान्ति दिवसको रुपमा मनाइन्छ । संयुक्त राष्ट्र संघको महासभाले सन् १९८१ मा नै वर्षमा एक दिन शान्ति दिवसको रुपमा मनाउने घोषणा गरेको हो । शान्तिलाई उच्च महत्व दिँदै संघको वार्षिक सभा शुरु हुने दिन सेप्टेम्बरको तेस्रो मंगलबार नै शान्ति दिवस तय ग¥यो । त्यसै अनुरुपम विश्वभरि विभिन्न राष्ट्र, संघसंस्था तथा समूहहरुले विभिन्न क्रियाकलापहरु गरी यस दिन आफ्नो सहभागिता जनाउँछन्, सचेतना फैलाउँछन्, अरुलाई शान्तिप्रति उत्प्रेरित गर्छन्, आह्वान गर्छन् र आफू पनि शान्तिको अभ्यास गर्ने प्रयास गर्छन् ।

यो दिवस घोषणा भएको दुई दशकपछि सन् २००१ मा यसलाई संयुक्त राष्ट्र संघले सेप्टेम्बर २१ को दिनलाई नै तय गर्ने र यस दिनलाई विश्वभरि हिँसारहित तथा युद्धविरामको दिनको रुपमा मनाउने भनेर घोषणा तथा आह्वान ग¥यो । विभिन्न अभियन्ताहरु यसमा लागिपरे । त्यस समयमा अफगानिस्तानमा द्वन्द्व उत्कर्षमा थियो । उनीहरुले सम्बन्धित विभिन्न निकायहरुका साथसाथै त्यहाँका विद्रोही लडाकू समूह तालिवानसँग कुरा राखे । तिनीहरु राजी भए । दश हजार स्वास्थ्य कार्यकर्ता परिचालित भए र कुनै रोकतोकविना लाखौँ बालबालिकाहरुलाई खोप खुवाउने कार्य सम्पन्न भयो । त्यस दिन सत्तरी प्रतिशत हिँसा कम भएको औपचारिक तथ्यांक नै सार्वजनिक ग¥यो संयुक्त राष्ट्र संघको अफगानिस्तानस्थित कार्यालयले ।

यस वर्षको शान्ति दिवसका लागि ‘शान्तिका लागि कार्य ः विश्व लक्ष्यका लागि हाम्रो महत्वाकांक्षा’ मूल नारा तय गरिएको छ । हुन त संयुक्त राष्ट्र संघले सन् २०३० सम्ममा हासिल गर्ने गरी तय गरेको दिगो विकास लक्ष्यहरुमध्येमा शान्ति पनि पर्दछ । तर गतवर्ष मात्र जुन संख्यामा द्वन्द्वका कारणले सामान्य नागरिकको मृत्यु भयो त्यसलाई हेर्ने हो भने यो लक्ष्य साँच्चै नै महत्वाकांक्षी हो कि क्या हो भन्ने लाग्न सक्छ । के विश्वमा शान्ति हासिल गर्नु साँच्चै नै असम्भव कुरा हो त ? या यसका लागि हामीले अपनाएको तरिका गलत हो ?

यसको उत्तर खोज्नुअघि अर्को गहन प्रश्न ‘शान्ति के हो ?’ भन्ने हो । ह्रस्वदीर्घलाई ख्याल नगर्ने हो भने कुनै व्यक्तिका लागि यो उसले अति नै माया गर्ने, आदर गर्ने वा घृणा गर्ने नारीको नाम हुन सक्ला । भीषण युद्धमा फसेका व्यक्तिहरुका लागि यो युद्धविराम हुन सक्ला । सहन नै नसक्ने गरी शरीरको कुनै भागमा दुखिरहेको व्यक्तिका लागि नदुख्ने औषधी दिएर दुखाइ गायब भएको अवस्था हुन सक्ला । तिर्खाले छटपटाइरहेको कुनै मानिसका लागि घटघट पानी खाँदाको अनुभूति हुन सक्ला । आफ्नो बच्चा हराएर व्याकुल भएकी एउटी आमाका लागि बच्चा पाउँदाको सुखद क्षण हुन सक्ला । यस्ता अनगिन्ती कुराहरुको लामो सूची हुन सक्छ । तर के शान्ति साँच्चै नै यस्तो क्षणिक सर्तयुक्त अवस्था हो त ? या मैले चाहेको जुनसुकै बेलामा अनुभूति गर्न सक्ने स्थायी चीज हो ?

महाभारत युद्धको मैदानमा युद्ध गर्न उत्प्रेरित गर्दै श्रीकृष्ण अर्जुनलाई भन्छन्, ‘जब कुनै व्यक्तिले भौतिक वस्तुहरुको कामना त्याग्दछ र लोभ, मोह, अहङ्कार तथा मेरो भन्ने भावनाबाट मुक्त हुन्छ, तब उसले पूर्ण शान्ति पाउँछ ।’ तर आजको समयमा त यी चीजहरुविना त जीवन नै चल्दैनजस्तो देखिन्छ । भन्न र सुन्न जति मीठो लागे पनि व्यवहारमा नै उतार्न त त्यति सजिलो छैन । बरु अर्जुनलाई योभन्दा महाभारत युद्ध लड्न नै सजिलो भयो होला, किनकि यिनै कुराहरु त्याग्न नसकेर नै महाभारत युद्ध हुँदै थियो ।

अहिंसात्मक आन्दोलनलाई उत्कर्षमा पु¥याएर अङ्ग्रेजहरुलाई भारत छोड्न बाध्य पार्न सफल महात्मा गान्धी भन्छन्, ‘जुन दिन प्रेमको शक्तिले शक्तिप्रतिको प्रेमलाई जित्छ, त्यस दिन संसारले शान्ति के हो थाहा पाउँछ ।’ उनको अर्को निकै प्रचलित भनाइ छ, ‘तपाईँले संसारमा देख्न चाहेको परिवर्तन पहिला तपाईँ स्वयंमा देखिनुपर्छ ।’ अर्थात् तपाईँ संसारमा शान्ति चाहनुहुन्छ भने तपाईँ स्वयंले पहिले शान्ति प्राप्त गर्नुपर्छ, अभ्यास गर्नुपर्छ ।

नेपालका राष्ट्रिय विभुति तथा एसियाका बत्ती गौतम बुद्धको पनि यही भनाइ हो, ‘शान्ति भित्रै छ, बाहिर नखोज ।’ बुद्धले कुरा मात्र गरेनन्, त्यसको अभ्यास गरे, स्वयंले अनुभूति गरे र अरुलाई पनि गराए । बलेको शान्तिरुपी दियोले अरु दियो बाल्दै गए ।

यसै सन्दर्भमा विश्वप्रसिद्ध लेखक तथा शान्ति अभियन्ता प्रेम रावतको ‘हियर योरसेल्फ (आफैँलाई सुन्नुहोस्) ः कोलाहलले भरिएको यस संसारमा शान्ति कसरी पाउने’ शीर्षकको नयाँ पुस्तक हालै प्रकाशित भएको छ । प्रकाशित भएको दुई हप्तामा नै न्यूयोर्क टाइम्सको सर्वाधिक बिक्री हुने पुस्तकको सूचीमा प¥यो । त्यति मात्र होइन, यस पुस्तकको हिन्दी संस्करण ‘स्वयंको आवाज’ भारतमा विमोचन हुँदा यसले गिनिज विश्व रेकर्ड कायम ग¥यो– सर्वाधिक व्यक्तिको उपस्थितिमा भएको एकल लेखकको पुस्तक विमोचन कार्यक्रमको रुपमा । त्यो पनि पहिला कायम रहेको कीर्तिमानभन्दा २० गुणा उपस्थिति संख्यासहित नयाँ कीर्तिमान कायम गरेर । यसबाट के पुष्टि हुन्छ भने, शन्तिप्रति मानिसहरुको रुचि र व्यग्रता निकै उच्च छ । म र तपाईँ मात्र होइन संसारका हरेकजसो व्यक्ति शान्ति चाहन्छ । कुरामा वा सिद्धान्तमा मात्र होइन, व्यवहारमा, अभ्यासमा । तिर्खा लागेको बेलामा अहिले नै आफैँले पानी खाएर तिर्खा मेटाएको जसरी ।

शान्ति अभियानमा प्रत्यक्ष लागेको ६ दशक लामो अनुभवले पोख्त प्रेम रावतले त्यस पुस्तक तथा विभिन्न कार्यक्रमहरुमा आत्मविश्वासका साथ व्यक्त गरेको यो भनाइ आजको दिनमा सान्दर्भिक लागेको छ– ‘सबैजना विश्व शान्तिको कुरा गर्छन् । तर विश्वमा त मानिस बस्छन् । शान्ति त विश्वलाई होइन, हरेक मानिसलाई चाहिएको छ । ती हरेक मानिसमा व्यक्तिगतरुपमा शान्ति हुनुपर्छ, अनि मात्र विश्वमा शान्ति हुन्छ ।’ कतिपय मानिसहरु यो विश्व शान्ति भनेको वाहियात कुरा हो, यो सम्भव छैन भन्छन् । संयुक्त राष्ट्र संघ सम्मेलन केन्द्र, हारवर्ड एवं अक्सफोर्डजस्ता थुप्रै प्रतिष्ठित विशवविद्यालयहरु, युरोप, अस्ट्रेलिया, न्युजिल्यान्ड आदिका संसद्हरु तथा अनेकौँ राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मेलनहरुमा शान्तिको विषयमा बोल्न आमन्त्रण गर्दा शान्ति असम्भव कुरा हो भन्नेहरुलाई चुनौती दिँदै, ती ठूला ठूला मञ्चहरुमा पोडियम ठोक्दै उनी भन्छन्, ‘शान्ति सम्भव छ । यसलाई फल्ने, फूल्ने मौका दिनुपर्छ । गरेर त हेरौँ । चन्द्रमामा पुग्न सक्ने क्षमता भएको मानिसले यहाँ शान्ति कायम गर्न नसक्ने कुरै हुँदैन । हरेक मानिसमा के स्वतन्त्रता छ भने, उसले आफैँभित्र मोडिएर हरेक क्षण आफूभित्रको अनन्त शान्तिसँग जोडिने विकल्प रोज्न सक्छ ।’

मैले त आफूभित्रको शान्तिलाई पहिलो प्राथमिकतामा राख्ने विकल्प रोजेँ । तपाईँले नि ? विश्व शान्ति दिवसको हार्दिक शुभकामना !

प्रतिक्रिया दिनुहोस्