अन्तर्वार्तामा पण्डित शान्ताराम



पण्डित शान्ताराम खप्पिस पुरेत र लोकप्रिय कथावाचकमात्र होइनन्, बडेमानका कवि पनि हुन् । उनले काव्य–महाकाव्य नै पेलेका छन् ।

कथावाचनमा त अन्तर्राष्ट्रिय ख्याति छ उनको । वर्षमा दुई–तीनपटक उनलाई युरोप र अमेरिकाले पनि कथा भन्न बोलाउँछन् । उनी राजनीतिक नेता पनि हुन् । ‘वैकुण्ठ दल नेपाल’ का त महासचिव नै हुन् । धेरै लोकप्रिय छन् । किनभने उनी श्रोताका मनोविज्ञान अनुकूल बोल्न सक्छन् ।

वेद, पुराण र धर्मशास्त्रको धज्जी उडाउन सक्छन् । आवश्यता नापेर व्यापक समर्थनमा बोल्न पनि सक्छन् । हरेक गीत र भजनमा खुलेर नाच्न–गाउन सक्छन् । योग र प्राणायामको त पण्डित शान्ताराम गुरु नै हुन् । उनले राजधानीमै ‘मधु योग तथा जीवन कला प्रशिक्षण आश्रम’ पनि चलाएका छन् । आयुर्वेदिक जडीबुटी र खाद्यविज्ञान पनि उनको विषय हो ।

यदाकदा पण्डित शान्तारामको नैतिकतामाथि प्रश्न पनि उठ्छन्् । जतिसुकै प्रश्न उठून्, उनी नैतिकतामाथि नै घण्टौँ प्रवचन दिन सक्छन् । संस्कृतिमाथि त उनको प्रवचन माकुराको पीँधको धागो बन्छ, जति तन्काए पनि तन्किने धागो । उनी ठूला–ठूला सरकारी पदमा पनि बसेका छन् । जननिर्वाचित भएर पनि काम गरेका छन् । साँच्चै बहुआयामिक व्यक्तित्व हुन् पण्डित शान्ताराम । मान्छे रमाइला छन् । निर्माणका पक्षमा पनि भाषण ठोक्छन्, विनिर्माणका पक्षमा पनि ठोक्छन् । जति बेला जस्तोसुकै भाषण ठोकून्, तालीबहादुर श्रोताहरुको भीड उनको आफ्नै छ । भीडको भाग पुग्नु पनि हामी नेपालीहरुको संस्कृति नै हो ।

केही दिनअघि धरानमा कतिपय युवाहरु जुटेर चउरमा मासु–चिउरा खाएको भिडियो बनाए र गोरु काटेर खाएको भन्दै प्रचार गरे । आफ्ना शब्दकोशले धानेसम्म रैथाने धर्म–संस्कृति र समकालीन शास– प्रशासनको विरोध पनि गरे । नेपालको सयौँ वर्षदेखिको आपसी सद्भाव र सहयोगको नेपाली मुटु परम्परा सम्झेर सोच्दा यो स्वाभाविक र रैथाने चुरिफुरी होइन भन्ने अनुमान गर्न सकिन्थ्यो तर गरिएन । बरु कतिले आकाश खस्नै लागेको ठाने । हल्ला व्यापक भयो ।

गाउँमा एकजना चाउरे पण्डित थिए गयाराम । उनी शान्ताराम बन्ने रहरमा थिए । यही मौका हो भन्ने लाग्यो । आफन्तको युट्युबबाट अन्तर्वार्ता दिँदै भने, ‘गाईगोरु काटी खानु महान् र गौरवमय काम हो । हाम्रा पुराणमा वीर पराक्रमी राजाहरुका भान्छामा दिनकै २ हजार गाईगोरु पाक्थे । ‘अहन्यहनि वध्येते द्वे सहस्रे गवाम् तथा’ लेखेकै छ । ऋषिमुनिहरु पनि गाईगोरु काट्थे, खान्थे ।’

घाउ देखेर झिँगाहरुलाई चटारो परेजस्तै मुल्ुकका हात्ती पत्रिका र पत्रकारहरुलाई चटारो प¥यो । पण्डित शान्तारामका दरबारमा तँछाडमछाड गर्दै अन्तर्वार्ता लिन पुगे । पण्डितले हल्ला त सुनेकै थिए । उनलाई पराक्रमी वीर नायकहरुसँग छेडछाड गर्नु थिएन । उनले पनि त्यही श्लोक ठोके, ‘अहन्यहनि वध्येते द्वे सहस्रे गवाम् तदा ।’ चाउरे पण्डितको ‘तथा’ शान्तारामकोमा आएर ‘तदा’ बन्यो । उनले थप के पनि भने भने, ‘कुनै एक ऋषिका आश्रममा अर्को ऋषि वा ऋषिगण पाहुना आए भने गोठबाट चिल्लो–मोटो बहर घिच्याउँदै ल्याएर काट्नु पहिलो काम हुन्थ्यो । पाहुनालाई गाईगोरुका मासुले सत्कार गर्थे ऋषिहरु ।’

‘पण्डितजी, तपाईं तिनै ऋषिमुनिका सन्तान । विद्वान् व्याख्याता पनि । शहरका बौद्धिकहरु तपाईंलाई संस्कृतिका धुरन्धर पारखी विद्वान् भन्छन् । तपाईंले गाईगोरुको मासु खानुभएको छ त ? तपाईं पनि खुसीयाली मलाउन गोठको गोरु घिच्याएर आँगनमा मार हान्न सक्नुहुन्छ त ?’
‘अँ, म मासुु खाँदो हुँ त खसी, बोका, राँगा, गोरु सबै काट्दो हुँ तर म शाकाहारी परिवारमा जन्मे–हुर्कें । मासु खाने बानी नै परेन । नत्र म खाइदिन्थेँ, किन नखाने ?’

कुनै बेला पण्डित शान्तारामसँग आत्मीय सम्बन्ध हुँदा असन गल्लीमा छिरेर सँगै बसी बफ मम खाएका एक परिपक्व पत्रकारले मुस्कुराउँदै सोधे, ‘तपाईं मम त खानुहुन्थ्यो त ! हामीले सँगै बसेर असन गल्लीमा मम खाएका थियौँ, हैन र ?’

‘मम त ढपक्क ढाकिने गरी ओढ्ने ओढेर बस्ने बूढो मासु हो । प्रत्यक्षमा त्यो बाफे फुरौला हो । मासु त देखिँदैन । मासु खुल्ला नभएपछि त्यो जे देखिन्छ त्यही हो, फुरौला हो । फुरौला त मैले घरमा बाल्यबेलादेखि नै खाइआएको हुँ । मम खानुपर्दा म फुरौला ठानेर खान्छु ।’
‘तराईमा जेठा मुसहरकोमा पाहुना लाग्दा मुसाको अचार पनि मीठो मान्दै खानुभाथ्यो त ! म पनि साथमै थिएँ ।’

‘अँ त्यो कुरा बेग्लै हो । त्यति वेला म अतिथि थिएँ । अतिथिले कसैका भान्छामा खान बसेपछि जे पस्केर दिन्छ त्यो खानुपर्छ भन्ने बुद्धको सिद्धान्त म मान्छु । भोजनमा प्रत्याहारको पनि पालन गर्छु म । त्यसै भएर मुसाको अचार खाएँ । मैले धनियाँको अचार ठानेर खाएँ । के फरक प¥यो र ?’‘अनि पण्डित सर, तपाईंले साथीहरुकोमा पाहुना लाग्दा कबाफ र झोल मासुचाहिँ खानुभएको छैन त ?’

‘मलाई मासु चाहियो भनेर बाख्रा, कुखुरा कटाएर मैले मासु खाएको छैन । कसैले पस्केर दियो भने खाइदिने नियम हो मेरो । खानेकुरालाई यो के ? भनेर म सोध्दिन । नखाने कुरा त कसैले नि खाँदैन नि, हैन र ? अनि मैले गीता पढेको छु । निस्त्रैगुण्ये पथि विचरताम् को विधि : को निषेध : ? म त्रिगुणातीत छु । मेरो लागि यो खान हुने, यो नहुने, यो गर्न हुने, यो नहुने भन्ने विधि निषेध केही पनि छैन ।’

‘लौ पण्डित सर, मलाई त डर लाग्यो’, एकजना युवा पत्रकारले भने, ‘मैले त तपाईंको भनाइमा भयङ्कर जङ्गली राज देखेँ । मान्छेको सक्कली रुप जनावरको भन्दा पनि डर लाग्दो हुन्छ कि क्या हो ? जनावरमा त घाँसाहारीले मासु खाँदैन, मांसाहारीले घाँस खाँदैन । मान्छे खतरनाक जनावर हो ? विश्वास गर्न नसकिने जनावर हो ?

‘त्यसरी हेर्दा त्यो पनि हो । मान्छे आफ्नै खोरबाट तानेर बाख्रा काट्छ, खान्छ । आफ्नै गोठबाट धपाउँदै ल्याएर गाई, गोरु, भैँसी काट्छ अनि खान्छ । ती बाख्रा, गाई, गोरु र भैँँसीले मान्छेलाई त्यतिसम्मको क्रूर भन्ने बुझेको त हुँदैन । आपूmलाई दानापानी दिनेमाथि बरु विश्वास गरेको हुन्छ । मांसाहारमा विश्वासघात त छ नि ! तर मान्छे परापूर्व कालदेखि मासु खाँदै आएको छ । भनिएको पनि छ– न मांस भक्षणे दोषो न मद्ये न च मैथुने !’

‘यसको अर्थचाहिँ के हो नि पण्डित जी ?’

‘मासु खानुमा, रक्सी पिउनुमा, महिला–पुरुष सहवास गर्नुमा कुनै पाप छैन भनेको हो ।’
‘यो कसले भनेको ?’

‘मनुले ।’

‘मनु कति खतरनाक रैछ हगि ? अनि यो श्लोक यतिमात्र हो कि यसको अर्को फाँकी पनि छ ?’
‘प्रवृत्ति रेषा भूतानाम् निवृत्तिस्तु महाफला । यसको अर्को र समापक फाँकी हो यो ।
‘यसको चाहिँ व्याख्या नै गर्नुहोस् त पण्डितजी, प्लीज । मनुको मनोविज्ञान धेरथोर हामी पनि बुझौँ ।’

‘प्रवृत्तिगतरुपले अन्य पशुपन्छी, कीराजस्तै मान्छे पनि पशु हो, कीरा हो । खानु, पिउनु, भाले–पोथी सहवास गर्नु, निदाउनु, डराउनु पशुपन्छी–कीरा सबैको प्रवृत्ति हो । मांसभक्षण, मद्यपान, मैथुन प्राणीमात्रको प्रवृत्ति हो । पशुप्रवृत्ति मान्छेमा पनि छ । पशुयोनिमा जसले जे गर्छ मोहाविष्ट भएर गर्छ । विवेक विश्लेषण क्षमता पशुमा हुँदैन । यसै भएर पशुले आफ्नो स्वभाव र प्रवृत्तिमा हेरफेर गर्न सक्दैन । मान्छे विवेकशील प्राणी हो । मान्छे प्रवृत्तिको अधीनमा हुँदैन । खराब प्रवृत्तिबाट आफूलाई जोगायो भने मान्छेले जीवनमा उच्चस्तरको आत्मिक लाभ लिन सक्छ । यस फाँकीको भावार्थ यही हो । यसले अघिल्ला फाँकीका कुराप्रति सावधान हुन आह्वान गरेको छ ।’

‘धरानमा कतिपय युवाहरुले गोरुको मासु भोज प्रदर्शन गरेकोमा तपाईंको समर्थन नै छ, हैन त पण्डितजी ?’

‘मेरो विरोध छैन र समर्थन पनि छैन । भनिहालेँ नि ! यो प्राणीमात्रको प्रवृत्ति हो ।’
‘अनि पण्डितजी, बाघले जङ्गलमा चरिरहेका अबोध घाँसाहारी पशु मार्छ, खान्छ । बाघले गाईगोरु पनि मार्छ, खान्छ । कहिले त मान्छे पनि

मार्छ, खान्छ । बाघलाई किन पक्राउ गरिँदैन ? किन सजाय दिइँदैन ?’

‘किनभने बाघका लागि हामीले दण्डविधान बनाएका छैनौँ । बाघ प्रकृतिमा छाडिएको छ । मानवसमाजमा समावेश छैन बाघ । मान्छे त समाजमा छ । समाजमा सामाजिक धर्म हुन्छ, मर्यादा हुन्छ, शिष्टता हुन्छ, पारस्परिकता हुन्छ, नीति र नैतिकता हुन्छ । यसैले मानिसका लागि दण्डविधान छ, संविधान छ । एक सामाजिक प्राणीका रुपमा मानिसले ऐन–कानुन मान्नुपर्ने हुन्छ । अन्यथा मानवसमाज समाज नरहेर घनघोर जङ्गल बन्छ, अराजक जङ्गल बन्छ । यो समस्या त छ ।’

‘अनि यो मासु आन्दोलन के हो त ? साँच्चिकै यस मुलुकका रैथानेहरुकै सांस्कृतिक आवश्यकता हो यो आन्दोलन ? सार्वजनिक मैदानमा मासुभोजको प्रदर्शन गर्नुचाहिँ के हो ? यसो गर्नुको खास उद्देश्य त होला नि !’

‘मेरो परिवार पुरेत पण्डित परिवार हो । अझ अहिले त राजनीतिक परिवार हो । राजनीति गर्नु छ । राजनीति गर्नेले भीडलाई चिढ्याउन मिल्दैन । त्यसै भएर मैले भनेँ, गाईगोरु काट्नु–खानु नयाँ नौलो कुरा होइन । उहिले–उहिले पनि काट्ने–खाने चलन थियो । अहन्यहनि वध्येते, मैले पहिल्यै भनिसकेँ ।’

‘अब एकछिन् यही दिनदिनै २ हजार गाईगोरु पकाउने राजाका भान्छाको कुरा गरौँ । यो कम्तीमा पनि २–३ हजार वर्षअघिको कुरा होला । अझ बुद्धभन्दा अघिकै कुरा होला । त्यसताका विश्वको जनसङ्ख्या कति थियो होला ? इन्डियाको जनसङ्ख्या कति थियो होला ? जुन राजाका भन्छामा दिनदिनै २ हजार गाईगोरु पकाइन्थे, त्यस राजाका राज्यको जनसङ्ख्या कति थियो होला ? राज्यको सबै जनसङ्ख्या दिनदिनै राजधानी आएर राजाकै भान्छामा थाल थापेर बस्थे होला ? २ हजार गाईगोरु काटेर भोज खान सरदर ५० हजार मान्छे जुट्थे होलान् त ? यसमा तपाईंलाई के लाग्छ ?’

‘यसरी मैले सोचेकै छैन । यसरी सोच्ने हो भने पुराणका कुरा फट्याइँ पो हुन् कि जस्तो लाग्छ ।’

‘त्यसो भए तपाईं फट्याइँको सहारा लिँदै हुनुहुन्छ ?’

‘भो, यसभन्दा अगाडि कुरा नबढाऊँ । बुधाग्रे पि च न ब्रूयात् साधु वेत्ति बुधः स्वयम् । मूर्खाग्रेपि च न ब्रूयात् बुधप्रोक्तम् नवेत्ति सः ।’

‘यसको अर्थचाहिँ के हो नि पण्डितजी ?’

‘बुध भनेको विद्वान् । विद्वान्का अगाडि केही बोल्नै पर्दैन । विद्वान् आपैmँलाई थाहा हुन्छ । मूर्खका अगाडि पनि बोल्नु आवश्यक छैन । किनभने विद्वान्ले बोलेको मूर्खले बुझ्दै बुझ्दैन ।’

‘त्यसो भए हामी पत्रकारहरु विद्वान् कि मूर्ख त पण्डितजी ?’

‘यस देशमा पत्रकारभन्दा ठूला विद्वान् कोही छैनन् । पत्रकारहरु समाचार त लहडमा लेख्छन् । अन्तर्वार्तामा पनि प्रश्न गर्दा आफ्नो पक्षधरता पनि सबै ओकल्छन् । आपैmँ सोध्छन्, आपैmँ जवाफ दिन्छन् । विद्वता धेरै भएर नै यस्तो हुने हो । हैन त ?’

‘पण्डित सर, अब यो देशमा के होला त ? जातीय युद्ध ? धार्मिक युद्ध ?’

‘नेपालीहरुसँग आपसी मायाको मुटु अभैm जवान छ । त्यो मरेको छैन । अनेकताबीच एकता नै नेपालको परम्परागत संस्कृति हो । विदेशीले चाहँदैमा, डलर छर्दैमा यहाँ जातीय युद्ध, धार्मिक युद्धचाहिँ हुँदैन । ढुङ्गाको भर माटो, माटोको भर ढुङ्गो गरेर बनेको नेपाली राष्ट्रियताको भवनमा ढुङ्गो र माटोका बीच झगडा पार्न खोज्नु बहुलट्ठी हो । विदेशीहरुले नेपाली मानसिकता बुझेकै छैनन् । छिटफुट झगडा होला, युद्ध हुँदैन ।’

‘तपाईंको यो निक्र्यौलचाहिँ आम नेपालीकै इमानदार निक्र्यौलजस्तो लाग्यो । धन्यवाद पण्डितजी !’
यसरी कुरा नै टुंगिएपछि अन्तर्वार्ताको पनि बिट मारियो ।

प्रतिक्रिया दिनुहोस्