राजनीतिक स्थायित्वका लागि स्व. नेम्वाङको भूमिका



संसारमा सत्पात्रको खँडेरी छैन । थरी–थरी विशेषता बोकेका सत्पात्रहरुले आफ्नो जीवनकालमा सानोदेखि लिएर ठूल्ठूला तथा अविष्मरणीय कार्यहरु गरेर कतिपयले त आफ्नो जीवनकाल र मृत्युवरणपश्चात् पनि जनजनको श्रद्धा प्राप्त गर्न सफल भएका छन् । प्रत्येक प्राणीको जन्मपछि मरण नियति नै हो । कैयौं प्राकृतिक नियमहरुलाई तोड्न विज्ञान सफल भए पनि कस–कसले कुन बेला मृत्युवरण गर्छ र मृत्युवरण हुँदा कुन माध्यमले भूमिका खेल्छ, त्यो कसैले भन्न सक्दैन । महामारीको परिकल्पना चाहे विगतका वर्षहरुमा देखिएको कोरोना होस् या अहिलेको महामारीको रुपमा देखिइरहेको डेंगु होस् अथवा सामान्य अवस्थाको भए पनि अहिले महामारीको रुपमा देखिइरहेको आँखा पाक्ने रोग होस्, यस किसिमको परिकल्पना अहिलेको शताब्दीमा मानवले परिकल्पना गरेका विषय थिएनन् । यही विषयलाई कसैले जित्छन् त कसैले मृत्युवरण गर्छन् ।

यही जीवन–मरणको सवालमा भर्खरै संविधानसभाका अध्यक्ष एवं प्रतिनिधिसभाका पूर्वसभामुखको रुपमा रहेर गणतान्त्रिक संविधान ल्याउनमा महत्वपूर्ण भूमिकामा रहेका सुवाष नेम्वाङले धर्तीलाई त्याग्नुभएको छ । ७१ वर्षको उमेरसम्म अधिकांश उहाँको समय देशलाई कसरी समृद्ध तुल्याउने भन्नेमै खर्च हुन पुग्यो । मिलनसार, सकेसम्म कसैलाई चिढ्याउन नचाहने व्यक्तिको रुपमा आपूmलाई परिचित गराउँदै आउनुभएका जो देशलाई लामो अवधिसम्म चाहिने असल र शालीन व्यक्तित्व हुनुहुन्थ्यो सुवास नेम्वाङ । कहिलेकाहीँ भेट हुँदा उहाँको भनाइबाट सुसंंस्कृत राजनीतिको पक्षपोषणमा लाग्दै गरेको प्रस्टै अनुभूति हुन्थ्यो । सामाजिक संस्थाको माध्यमबाट जनपक्षीय अन्य थरी–थरीका कार्य गर्न रुचाउने र सो कार्यमा लाग्न प्रेरणा दिँदै त्यसमा आफूले सकेको सहयोग गर्ने काम गर्दै आउनुभएका एक योद्धा हुनुहुन्थ्यो सुवास नेम्वाङ । शुरुमा शौचालयमा बेहोस अवस्थामा रहेको भन्ने समाचार सामाजिक सञ्जालबाट बाहिरिएको भए तापनि डाक्टर प्रदीप घिमिरेको भनाइलाई आधार मान्दा उक्त समाचार गलत देखिन्छ । जे भए पनि उहाँलाई शिक्षण अस्पताल पु¥याएर त्यहाँका डाक्टर तथा स्वास्थ्यकर्मीहरुको अथक प्रयास, परिवारजनलगायत तत्काल अवस्थामा थाहा पाएका व्यक्तिहरुको प्रार्थनाको क्रन्दन साथीसङ्गी, शुभेच्छुक र उहाँसँगै सहकार्य गर्ने सहपाठीहरुलगायत नामले मात्रै चिनेर पनि अति मन पराइएका तथा शुभेच्छुकहरु सबैको प्रार्थनालाई पनि निष्ठुरी दैवले सुन्न चाहेन । सबैबाट उहाँलाई चुँडेर नै लग्यो । माथि उल्लेख गरिएझैँ मानवको जन्मपछि मृत्यु अवश्यम्भावी छ । जन्मपश्चात् मरण दैवको अनिवार्य नियति हो, तथापि दैवको त्यो नियति भए तापनि कहिलेकाहीँ केही यस्ता व्यक्तिहरुलाई नियतिको नाउँमा अकस्मात् दैवले चुँडेर लैजाँदा दैवले न्याय गरेको ठहरिँदैन भन्ने आरोप बेलाबेलामा लाग्ने गरेको छ । पूर्वसभामुख र संविधानसभा अध्यक्ष सुवास नेम्वाङको हकमा पनि यो कुरा लागू हुन पुग्यो ।

दैवको विरुद्ध उजुर लाग्ने भए उजुर गरेर भए पनि अथवा उजुरी सुनुवाइ नभएको अवस्थामा जबर्जस्ती गरेर भए पनि खोसेर ल्याउनुहुन्थ्यो । विडम्बना, मानवको बसमा यो सामथ्र्य रहेन । कुनै सानोतिनो गल्ती मानवले काम गर्दा हुने गर्दछ । यो सामान्य कुरा हो । जस्तोसुकै ठूला र निःस्वार्थ भएर काम गरेका व्यक्तिहरुमा पनि लागू हुन्छ । यस अर्थमा उहाँबाट पनि काम गर्ने सवालमा कुनै त्रुटि नै भएन होला भन्ने अनुमान गर्न सकिँदैन । तर केही अपवादबाहेक एमालेकोे सदस्य भए तापनि कतिपय एमालेले गरेका गलत निर्णयहरुको विरुद्धमा उहाँको खरो टिप्पणी हुने गर्दथ्यो । दलीय विसंगतिले देशको संविधान, नीति–नियमलाई चिरा–चिरा पारेर आफूखुशी सत्ता सञ्चालनमा रमाइरहनेका विरुद्ध सदैव आवाज उठाउनुभयो । आफ्नो जीवनकालमा सुसंस्कृत राजनीतिलाई बढावा दिने कार्यमा उहाँको भरमग्दुर सहयोग रह्यो ।

गणतन्त्रको स्थापनापश्चात् जनजनले पटक–पटक आफ्नो आवाजमार्पmत दलहरुलाई संविधान विपरीत नजान, नसोच्न र संविधानका धाराहरुलाई जथाभावी आफ्नो स्वार्थमा प्रयोग नगर्न अनि दखल अन्दाजी नगर्न बारम्बार खबरदारी गर्दै आएका थिए, वर्तमानमा पनि गर्दै आएका छन् । यस्ता कुरा र खबरदारीहरुलाई दलहरुले कहिल्यै गम्भीरतापूर्वक लिएनन् । जनजन भनेका हाम्रा दास हुन् भन्ने मान्यतालाई स्थापित गर्न दलहरु सधैँभरि लागी नै रहे र लागिपरिरहेका छन् । उहाँले बारम्बार दलहरु सुध्रिनुपर्ने कुरालाई जोड दिइरहनुहुन्थ्यो ।

दलहरुले आफ्नो स्वार्थको लागि न्यायपालिकालाई पटक–पटक गिजोल्ने प्रयास गरेको बारेमा पनि सदैव सचेत गराइरहनुहुन्थ्यो । प्रायः सबै दलले एमालेले समेत न्यायपालिकालाई आ–आफ्नो तर्पmबाट गिजोल्नसम्म नगिजोलेका होइनन् । वास्तवमा दलहरुले नगिजोलेको भए न्यायपालिकाको साख जनजनको नजरमा यतिसम्म गिर्ने थिएन । न्यायपालिकाको गिरेको साखलाई कसरी मूल धरातलमा ल्याउने चिन्तामा रहेका इमानदार सरोकारवालाहरुमध्ये एकजना सुवास नेम्वाङ हुनुहुन्थ्यो । दलहरुभित्र बढ्दै गएको विकृतिका कारणले संंविधानको प्रस्तावनामा उल्लिखित जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नगारिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, कानुनी राज्यको अवधारणालगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित राज्य स्थापितको लागि संविधानले मार्गदर्शन गर्न खोजेको बाटोमा हामी पुग्न सकौंला त भन्ने प्रश्न तथा चिन्ताले सदैव उहाँलाई पछ्याइरहेको हुन्थ्यो । निर्वाचत भएर सत्तामा नपुगुन्जेल थरी–थरीका भ्रममार्पmत जनतालाई झुक्याउन पारंगत भइसकेका राजनीतिक व्यवसायीहरुले बेला–बेलामा भइरहने गलत राजनीतिको प्रयोग र अभ्यासलाई ठीक ठाउँमा ल्याउन उहाँ सदा तत्पर रहनुभयो । न्यायपालिकामा आफ्नो वर्चश्व कायम गर्ने प्रयासमा दलहरु लागिपरिरहेको गलत कार्यलाई कसरी सार्थक सम्बोधन गर्ने भन्ने विषयमा उहाँको चिन्ता रहन्थ्यो ।

एउटा कहावत छ, जबसम्म कुनै चिज प्राप्त हुँदैन त्यो चिजको सदुपयोग वा दुरुपयोगको प्रसंग नै उठ्दैन । प्रत्येक प्राप्त हुने वस्तुमा प्राप्तकर्ताले प्राप्त गरेपछि त्यस वस्तुको सदुपयोग वा दुरुपयोग गर्ने भन्ने कुरा प्राप्तकर्ताको बुद्धि विवेक र क्षमतामा भर पर्ने कुरा हो । सामान्य घर चलाउनेदेखि लिएर देश चलाउनेसम्म यो कुराले घर गर्दछ । संसारभरिका कुनै पनि देशहरु र ती देशका शासकहरु पनि यो कुराबाट अछूतो रहन सक्दैनन् । हाम्रो देश पनि यो विषयमा अछूतो रहने भन्ने प्रश्न आउँदैन । प्रायः घर चलाउने विधि अलिखित हुन्छ । घर चलाउने जिम्मा पाका व्यक्तिको जिम्मा भए पनि पाका व्यक्तिको बुद्धि र क्षमतामा बिर्को लाग्न पुग्यो भने त्यो घर भाँडिन निमेषभर पनि लाग्दैन । यस्तै खाले परिणति समयमा चेत खुल्न सकेन भने देशको विषयमा पनि लागू हुन सक्छ । हाम्रो देश पनि यसैको भुमरीमा चक्कर काटिरहेको छ ।

यदाकदा त्यस्तै–उस्तै देशलाई ज्यादै अप्ठ्यारो आइपरेको समयमा अप्ठ्यारो फुकाउनको निमित्त र शासकले दुर्मति राखेर विधि र संविधानलाई मिच्दै जथाभावी शासन सत्ता सञ्चालन गर्न खोजे त्यसलाई अंकुश लगाउन फरक–फरक निकायहरुलाई शक्तिको सन्तुलन कायम गर्ने उद्देश्यबाट अभिप्रेरित भएर केही विशिष्ट अधिकारहरु राज्यका विभिन्न अंगहरुलाई प्रदान गरिने गरिन्छ । विश्वका विकसित कहलाइएका देशहरुमा यो प्रवृत्ति समावेश छ । हाम्रो देशले पनि त्यसैलाई अनुशरण गरेर होला, पुरानोदेखि लिएर वर्तमान संविधानसम्मले कम्तीमा पनि यस कुरालाई अंगिकार गरी अवस्था अनुसार राज्यका विभिन्न तीन महत्वपूर्ण निकायहरु कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाहरुलाई आ–आफ्नो सीमाभित्र रही संविधानका केही महत्वपूर्ण धाराहरुको आफ्नो स्वविवेकले प्रयोग गर्न सक्ने व्यवस्था गरेको छ । जसमध्ये न्यायपालिकालाई आदेश र परमादेशलगायत अन्य अवस्था अनुसारको निर्णय गर्न पाउने संंवैधानिक अधिकार अनि व्यवस्थापिकालाई महाभियोग र अविश्वासको प्रस्ताव लिनेजस्ता महत्वपूर्ण अधिकार प्रदान गरिएको छ । यस्ता महत्वपूर्ण अधिकारहरु बेलाबेलामा दुरुपयोग हुँदै आएका छन्, यसको विरुद्धमा पनि नेम्वाङ खरोरुपमा उत्रिन सफल हुनुभएको छ ।

हाम्रो देश वर्तमानमा देश–विदेशका अपराधीहरुको क्रीडास्थल बन्दै गएको छ । पैसा भयो भने नेपालमा जे पनि गर्न सकिन्छ र गराउन सकिन्छ भन्ने मान्यता नेपाली जनजनमा मात्रै होइन विदेशी जनजनमा पनि व्याप्त छ । चीनजस्तो सशक्त बन्दै गइरहेको देशसमेतलाई यो विषयले पिरोलेको छ । यस अर्थमा हाम्रो जस्तो देश जहाँ पिँध–लोटादेखि लिएर भान्छा, पूजाकोठा र सुत्ने कोठासम्म ह्वाङह्वाङ्ती खुल्ला छोडेर आफ्नो तालमा रमाउने बानी परेका शासकजनलाई झुक्याउन आवश्यकता प¥यो भने मूर्धन्य राजनीतिक अंशियारहरुकहाँ निमेषभरमा पुग्ने र आफ्नो उद्देश्य पूरा गराउन भूमिका खेलिछाड्ने वातावरण सिर्जना भएको छ । राजनीतिक प्रवेश नभएको कुनै ठाउँ छैन । विकृतिले प्रवेश नपाएको कुनै क्षेत्र छैन । भ्रष्टाचारले प्रश्रय नपाएको कुनै स्थान छैन । यस्ता विकृतका खम्बाहरुलाई उखेलेर नफालेसम्म देश सुधारात्मक दिशातिर लम्किन त परै जाओस्, सुधारको प्रवेशद्वारसम्म पनि पुग्न पाउँदैन । यी र यस्ता कुराहरुलाई सदैव मनन गर्दै अगाडि बढिरहनुहुन्थ्यो नेम्वाङ । विकृति हटाउने उहाँको सपना अन्ततः जीवित अवस्थामा पूरा हुन सकेन । सबै दलका नेतृत्वहरुले उहाँलाई अन्तिम श्रद्धाञ्जलि दिएका त छन् तर सुवास नेम्वाङले आफ्नो जीवनकालमा देशको लागि खेलेको भूमिकालाई वर्तमान सत्ताधारीले कत्तिको मनन गरेर पाइला चाल्छन्, त्यसैमा देशको राजनीतिक भविष्य निर्भर गर्दछ । उहाँको सपना यथार्थमा पूरा गर्ने हो भने जुनसुकै दलको सरकार भए पनि उहाँको देशप्रतिको विचारलाई गम्भीर मनन गरेर अगाडि बढ्नु देशको हितमा हुनेछ । स्व. सुभाव नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जलि ।

(लेखक मैनाली अधिवक्ता हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्