आहा ! सौरबोटमा हरियालीको रमाइलो (फोटो फिचर)



म्याग्दी। 

 वर्षा ऋतुको समय पानी अझ पर्न बाँकी नै छ । पानी परे पनि गर्मी घटेको छैन । खेत र बारीमा रोपेको धानको बिउ हरियो रोपो बनेको छ । किसानहरु धान गोड्न व्यस्त छन् । यतिबेला जताततै हरियाली छाएको छ भने खोलानाला र झरना पनि सुस्साइरहेका छन् ।

डाँडाकाँडा, वनजङ्गल, पाखापखेरा, वारीपारी सबै ठाउँलाई यतिबेला हरियालीले छपक्कै छोपेको छ । तरेली परेका डाँडाकाँडा र लेकाली वस्तीको सौन्दर्यको साथमा पवित्र कालीगण्डकी तथा रघुगंगा नदीको बहाव देखिने सौरबोटमा भने हरियाली बढेको छ । मौसम खुल्दाको समयमा बिहान सुर्योदयसँगै धौलागिरि र अन्नपूर्ण रेञ्जका सबै हिमालहरु छर्लङ्गै देखिन्छन् ।

हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरस्थित गाजने गाउँ नजिकै सौरबोट भन्ने ठाउँ पर्दछ । धार्मिक, ऐतिहासिक र पर्यटकीय हिसाबले महत्व बोकेको सौरबोट क्षेत्र आफैमा पनि निकै सुन्दर, आकर्षक एवं मनमोहक लाग्छ । सौरबोटको पाखाभरी अहिले घँयरु प्रजातिको बोटमा घँयरुको फल लटरम्मै पाकेको छ । सौरबोट क्षेत्र वरिपरीबाट हरियाली जङ्गल, वनपाखा, वनफुल, विभिन्न प्रजातिका बोटविरुवाको हरियालीमा सजिएको छ ।

समुन्द्री सतहदेखि झण्डै २ हजार २ सय मिटरको उचाइमा अवस्थित सौरबोट भन्ने ठाउँमा वर्र्षौंदेखि खेती गर्न छाडेको एकसय रोपनीभन्दा धेरै जग्गा बाँझो छ । सौर प्रजातिका बोटविरुवाहरु धेरै भएका कारणले गर्दा सौरबोट नाम राखिएको स्थानीवासीहरु बताउँछन् । सौरबोट क्षेत्रको वनमा डिम्बर, मैडल, हाडेकाफल, गोफ्लो, ऐँसेलु, जनमन्त्रो, चुत्रो, घँयरु, गुल्टुङलगायत लेकाली फलफुलहरु प्रशस्तै मात्रामा पाइन्छन् । यहाँको वन क्षेत्रमा अहिलेको समयमा निगालोको टुसा र निगुरो तथा डौंडे पनि पाइन्छ ।

सौरबोटमा जडिबुटीतर्फ भकिम्लो, सतुवा, जटामसी, टिम्मुर, चिराईतो, सिल्टीम्युर, गुराँसलगायत पाइनुका साथै यहाँको वनजङ्गल क्षेत्रमा मृग, चितुवा, बाघ, कालीज, चिर, तित्रो, चाखुरा, काँडेभ्याकुर र ढुकुरसहित वन्यजन्तु जनावर तथा चराचुरुङ्गीहरु पाइने स्थानीय निलकण्ठ शर्माले बताउनुभयो । विगतमा स्थानीयले खेती गर्न छाडेर अहिले बाँझो रहेको जग्गामा फलफुल, आलु, फापरलगायत लेकाली उत्पादनहरु लगाउन सकिन्छ ।

यहाँको जमिनमा गह्रा सुधार गरेर मकै, जौ, कोदो, कागुनोलगायत लेकाली उत्पादनहरुको पनि खेती गर्न सकिन्छ भने चिसो हावापानीका साथै हिमालको सम्मुखमा पर्ने भएकाले सौरबोटमा व्यावसायिक रुपमा स्याउ खेती समेत गर्न सकिन्छ । पर्याप्त जमिन भएको सौरबोट क्षेत्रलाई पर्या–पर्यटनको माध्यमबाट विकास गर्न सकिने उत्तिकै सम्भावना छ ।

म्याग्दी सदरमुकाम बेनीदेखि नजिकको दूरीमा पर्ने सौरबोटमा पिक्नीक स्पट बनाएर पनि रमाउन सकिन्छ । तत्कालीन बाईसे–चौबीसे राज्य रहेको बेला रानीले कपाल कोर्ने डिल समेत रहेको सौरबोट क्षेत्र मनोरम दृश्यावलोकनको उपयुक्त स्थलको रुपमा रहेको छ ।

 कृषि उत्पादन, पर्यटन तथा आर्थिकलगायत क्षेत्रको सम्भावना बोकेको यस क्षेत्रको विकास र प्रवद्र्धन गर्नका लागि सम्बन्धित निकायले पनि ध्यान दिनु आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्