स्वास्थ्य मन्त्रालयद्वारा उपत्यकाका विभिन्न ७ अस्पतालमा अनुगमन



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाका विभिन्न सातवटा अस्पतालमा अनुगमन गरेको छ ।

सरकार मातहत रहेका उपत्यकाका सरकारी अस्पतालमा मन्त्रालयका पदाधिकारीसहितको टोलीले अनुगमन गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सरकारी अस्पताल व्यवस्थित गर्नका लागि मन्त्रालयले अनुगमन गरेको बताउनुभयो । अनुगमन टोलीले अस्पतालको जिन्सी अभिलेख व्यवस्थापन, औषधि उपकरणको अभिलेख, खरिद योजना तथा एक वर्षभित्रको खरिदको अभिलेख, औषधि मौज्दात विवरण, आपूर्ति व्यवस्थापन, औषधि तथा उपकरणको अद्यावधिक विवरणको अनुगमन गरेको थियो । उपत्यकामा रहेका वीर अस्पताल, कान्तिबाल अस्पताल, शहिद गंगालाल ह्दय केन्द्र, पाटन अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, भक्तपुर क्यान्सर अस्पताल र मानसिक अस्पताल पाटनमा अनुगमन गरेको हो ।

अनुगमनका क्रममा अधिकांश अस्पतालमा जनशक्तिको अभाव रहेको पाइएको थियो । सबै अस्पतालमा मौज्दात स्वास्थ्य सामाग्रीको लिपिबद्ध नगरेको, खरिद योजना नगरेको, औषधि भण्डारणको व्यवस्थापन नभएको पाइएको थियो । चालु आर्थिक वर्षको योजना नभएको, कति औषधि तथा उपकरण खरिद गरेको र कति बाँकी छ भन्ने एकिन नभएको पाइएको थियो । गंगालाल अस्पतालमा मौज्दात औषधि नभएको पाइएको थियो ।

फोहोरमैला व्यवस्थापन राम्रो नभएको , खरिदको योजना नभएको, महामारी संक्रामक रोग सम्बन्धि अस्पताल भएपनि आकस्मिक रुपमा महामारी फैलदा त्यसको व्यवस्थापन गर्ने तयारी नभएको पाइएको थियो । वीर अस्पतालको उपचार सेवामा सुधार देखिएको, विरामीको संख्या बढेको, शैया संख्या बढेको पाइए पनि त्यहाँको मेडिकल स्टोर, जनरल स्टोर, फार्मेसी अस्तव्यस्त पाइएको छ ।

वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले मेडिकल स्टोर र फार्मेसी अस्तव्यस्त भएको स्विकार्दै बजेट अभावले मेडिकल स्टोरमा चाहिएको समान किन्न नसकिएको र फार्मेसीमा जनशक्ति अभावले व्यवस्थित हुन नसेकेको बताएका थिए ।

डा. पौडेलले बजेट अभाव पूर्ति गर्नका लागि ४१ करोड रुपैया थप बजेट अर्थ मन्त्रालयसँग माग गरिएको बताएका थिए । मेडिकल स्टोर र जनरल स्टोरमा रहेका समानको रेकर्ड नियमपूर्वक राखिएको नपाएको अनुगमन टोलीका संयोजक एवं स्वास्थ्य मन्त्रालयका उपसचिव कृष्ण थापाले बताए ।

सातवटै अनुगमन टोलीले आफुहरुले अनुगमनका क्रममा देखेका समस्याका बिषयमा स्वास्थ्य मन्त्री बस्नेतलाई रिपोर्ट गरेका थिए । अनुगमन टोलीको अध्ययन प्रतिवेदन सुनिसकेपछि मन्त्री बस्नेतले सात वटै केन्द्रिय अस्पतालहरुलाई कमि कमजोरी सुधार गर्न निर्देशन सहितको पत्र तयार पारेर सबै अस्पताललाई पठाउन र तोकिएको समय सिमाभित्र पनि सुधार नगरे कडा कारवाही गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्