कुशका मुठामा वैज्ञानिक परीक्षण



हरेक वर्षको कुशेऔँसीमा घरको ढोकामाथि कुश ल्याएर सिउरिने गरिन्छ । यसरी नयाँ कुश ल्याएर ढोकामाथि राख्दा र धार्मिक कार्यमा कुशको प्रयोग गर्दा मानिसलाई के फाइदा छ त ? संस्कृति जोगाउन मात्र यसो गरेको हो भन्ने धेरैलाई लाग्न सक्छ । तर वैज्ञानिक दृष्टिकोणमा हेर्दा कुशको प्रयोगबाट मानिसले धेरै फाइदा लिन सक्छन् ।

कुश हालेको पानीमा अक्सिजन वृद्धि :

पानीमा कुश डुबाएर राख्दा सो पानीमा अक्सिजन सजिलै घुल्न सक्ने भएकाले यसको मात्रा बढ्ने कुरा भारतमा गरिएको एक अनुसन्धानले पुष्टि गरेको छ । भारतको एक साइन्स कलेजका बोटानी विभागका सहप्राध्यापक सचिन सखाल्कर र सोही कलेजकी एमएस्सीमा अध्ययनरत नैना काम्बलेद्वारा आयुर्वेदको आधारमा कुशको बायोलोजिकल अध्ययन गरी शोधपत्र तयार गर्ने क्रममा यो अनुसन्धान गरिएको थियो । ल्याब परीक्षणका क्रममा विभिन्न प्रक्रियापछि उनीहरूले कुश नराखेको पानीको टाइट्रेसन गर्दाको ब्युरेट रिडिङ टिपोट गरे । त्यसपछि १० दिनसम्म कुश राखेर सो पानीको पनि ब्युरेट रिडिङ टिपे । कुश हाल्दा र नहाल्दाको ब्युरेट रिडिङको नतिजा विश्लेषण गरियो ।

कुश नहालेको पानीको घोलमा अक्सिजनको मात्रा २.६८ ग्राम प्रतिलिटर र कुश हालेपछिको घोलमा अक्सिजनको मात्रा १९.०४ ग्राम प्रतिलिटर देखियो । यसबाट के पुष्टि हुन्छ भने, कुश राखेको पानीमा बढी अक्सिजन घुल्दो रहेछ । यो भनेको कुश नहाल्दा भन्दा कुश हाल्दा ७ सय प्रतिशतले अक्सिजन बढेको देखियो । अक्सिजनयुक्त पानीको सेवन स्वास्थ्यका लागि कति लाभदायक हुन्छ भन्ने कुरा सर्वविदित नै छ । यसैले हिन्दू परम्परामा पनि पानीसँगै कुशको प्रयोग गरिएको हो ।

हानिकारक विकिरणको शोषण :

कुशले हानिकारक विकिरण शोषण गर्न सक्ने कुरा भारतका डा. सदाशिव रावले गरेको प्रयोगबाट पुष्टि भएको छ । हिन्दू रीतिरिवाजमा प्रयोगमा आउने वस्तुहरूमध्ये कुशको महत्वबारे भारतकै एक जिज्ञासु व्यक्तिले आफ्ना बाबुबाट धेरै कुरा सुनेका थिए । एक दिन संयोगवश प्राक्टिसनर डा. सदाशिव राव आफ्नो घरमा आएको समयमा कुशमा विकिरण शोषण गरेर लिने क्षमता धेरै हुने कुरा उनले डा. रावलाई सुनाए । शुरुमा डा. रावले उनको कुरालाई खासै ध्यान दिएनन् । तर यसलाई प्रयोग गरेरै हेर्ने अठोट गरी उनले एक मुठो कुशसहित ती जिज्ञासु व्यक्तिलाई पनि लिएर आफ्नो क्लिनिकमा गए ।

डा. रावले आफ्नो हात कुशले बेरेर उनका सहयोगीलाई सो हातको एक्सरे गराउन लगाए । तर अचम्म ! परीक्षणबाट थाहा भयो कि एक्सरेबाट आउने ६० प्रतिशत विकिरण कुशले पो शोषण गरेर लिएछ । अनि ती प्राक्टिसनर डा. रावलाई कुशमा हानिकारक विकिरण शोषण गर्न सक्ने क्षमता धेरै रहेछ भन्ने कुरा विश्वास भयो ।

ग्रहण लागेको समयमा पानीमा कुश डुबाउने र अन्य खाद्यपदार्थलाई पनि कुशले ढाक्ने गर्नुको वास्तविक कारण पनि हानिकारक अल्ट्रा भायोलेट विकिरणबाट पानी एवं खानेकुरा दूषित नहोस् भन्ने नै हो । ग्रहणको समयमा आउने हानिकारक विकिरण पानीमा घोलिन नदिई कुशले शोषण गरेर लिने भएकाले नै पानीमा कुश डुबाइएको हो । तर आजकल यसलाई परम्परागत संस्कृतिका रूपमा मात्र लिन थालिएको पाइन्छ ।

स्वास्थ्यमा सकारात्मक प्रभाव :

कुशमा केही चुम्बकीय शक्ति पनि हुन्छ । त्यसैले यसबाट बनाइएको पवित्र (औँठी) हातमा लगाउनाले हाम्रो स्वास्थ्यमा चुम्बकीय उपचारसमेत हुने बताइन्छ । कुनै पनि धार्मिक वा पैतृक कार्यमा हातको औँलामा प्रायः सबैले पवित्र (कुशको औँठी) धारण गर्नुको पछाडि पनि यही रहस्य हुनुपर्छ । कतिवटा कुशको पवित्र बनाउने भन्नेचाहिँ गरिने कार्यको प्रकृतिमा भर पर्छ । र, कुन औँलामा पवित्र धारण गर्ने भन्ने पनि कार्यको प्रकारमा भर पर्ने हुन्छ । औँलामा पर्ने कुशको चुम्बकीय प्रभावले रक्तसञ्चारलाई सहजीकरण बनाइदिन्छ र मानसिक तरङ्गहरूमा पनि सकारात्मक प्रभाव पारी शरीर स्वच्छ बनाइदिन्छ ।

यसै गरी धार्मिक कार्य गर्दा कुशको आसन (कुशासन)मा बस्नुपर्ने नियम पुरानै हो । सुकेको कुशको आसनमा बस्दा मानव ऊर्जा जमिनतिर जानबाट रोकिन्छ । त्यसैले कुशको आसनमा बस्दा मस्तिष्क क्षमता पनि बढ्ने बताइन्छ । साथै कुशासनमा बस्नाले मानसिक एकाग्रता बढ्छ र गर्न लागेको कार्यमा ध्यान एकत्रित हुन मद्दत पुग्छ । मानवशरीरमा कुशको स्पर्श हुँदा बुद्धि तीक्ष्ण हुन्छ भन्ने विश्वास पनि गरिन्छ । कुशले शीतलता प्रदान गर्ने हुँदा शारीरिक एवं मानसिक स्वस्थतामा समेत वृद्धि हुन्छ । भनिन्छ, बुद्ध पनि कुशबाट बनेको आसनमा बसेर नै बुद्धत्व प्राप्त गरेका थिए रे !

कुशमा सुचालन क्षमता :

कुश पानीमा डुबाउँदा सो पानीमा अक्सिजनको मात्रा बढ्ने कुरा प्रमाणित भएपछि भारतका तिनै अनुसन्धानकर्ता सहप्राध्यापक सचिन र नैनाले अर्को प्रयोग गरे । कुशमा सुचालन क्षमता कत्तिको हुन्छ भन्ने पत्ता लगाउन उनीहरूले कन्डक्टिभिटी टेस्ट भनेर दोस्रो प्रयोग गरेका थिए । उनीहरूले १ ग्राम कुशका टुक्रा पिसेर पानीमा घोले । त्यसपछि १ मिलिलिटर सो घोल ९ मिलिलिटर डिस्टिल्ड वाटर भएको अर्को टेस्ट ट्युबमा हाले । यसै गरी सिरियल डिलुसनको तरिकाबाट अरु ४ वटा टेस्ट ट्युबमा पनि सो घोल हाले । अब कन्डक्टोमिटरको सहायताले सबै टेस्ट ट्युबमा भएको घोलको सुचालन क्षमताको मापन गरियो ।

यस प्रयोगबाट कुश राखेको पानीमा बढी नै सुचालन क्षमता पाइएको थियो । सो कुश राखेको पानीमा फ्री आयोन्सहरू हुँदा रहेछन् । कुशमा सुचालन क्षमता भएकै कारण मानवस्वास्थ्यका लागि लाभदायक मानिन्छ । सुचालन क्षमता भएकै कारण कुशले शरीर शुद्धीकरण गर्ने कुरा यस अनुसन्धानले देखाएको छ ।

ती शोधकर्ताहरूले कुशमा एन्टिअक्सिडेन्ट प्रोपर्टीको पनि प्रयोग गरेका थिए । कुशको मात्रा बढाएको खण्डमा एन्टिअक्सिडेन्ट प्रोपर्टी पनि बढ्दै गएको पाइयो । एन्टिअक्सिडेन्ट प्रोपर्टी कुशको मात्रा र इन्कुबेसन अवधिमा निर्भर हुन्छ । कुशको मात्रा र अवधि बढ्दा एन्टिअक्सिडेन्ट प्रोपर्टी पनि बढ्ने अनुसन्धानबाट पुष्टि भएको थियो । यसले पनि मानवस्वास्थ्यका लागि कुश धेरै महत्वपूर्ण साबित भएको छ ।

वातावरणमा सुप्रभाव :

ढोकामाथि कुश सिउरिने चलन धेरै पुरानो हो । ढोकामाथि सिउरेको कुशले ढोकाबाट प्रवेश गर्ने हानिकारक विकिरण ढोकैमा शोषण गर्ने हुनाले घरभित्रको वातावरण स्वच्छ हुन्छ । यो कुराको वैज्ञानिक पुष्टि सदाशिव रावले गरेको प्रयोगबाट नै भएको छ । कुशले शीतलता प्रदान गर्ने हुनाले त्यस घरभित्र शीतलताको अनुभूति पनि हुन्छ ।
आजकल होटल, रेस्टुरेन्ट वा अन्य स्वागत कक्षमा तामाको भाँडोमा पानी राखी त्यस पानीमा विविध किसिमका फूल छरेर सजाइएको पाइन्छ । यसले शीतलता प्रदान गरी स्वागत कक्षको वातावरण स्वच्छ बनाउँछ । वास्तवमा भन्ने हो भने कुशसहितको पानी यस्ता भाँडामा राख्नुपर्ने हो । भिजेको कुशमा फोनेटिक भाइब्रेसन सुचालन क्षमता अधिक हुने भएकाले त्यहाँको वातावरण झनै स्वच्छ हुन्छ । सुकेको कुशभन्दा भिजेको कुशको विकिरण सोस्ने क्षमता पनि बढी हुन्छ । त्यसैले धार्मिक कार्यहरूमा कुश–पानी अनिवार्यजस्तै हुन्छ ।

टुप्पोसहितको कुश नै किन ?

कुशको टुप्पोमा फोनेटिक भाइब्रेसन सुचालन क्षमता उच्च हुन्छ । संस्कृत शब्दहरू फोनेटिक साउन्डमा आधारित हुन्छन् । कुशको टुप्पोमा ध्वन्यात्मक कम्पन सुचालन गर्ने क्षमता हुने र संस्कृत शब्दहरू फोनेटिक साउन्डमा आधारित हुने भएकाले त्यस्ता शब्द उच्चारण गर्दै कुशको टुप्पो पानीमा चोबेर सिञ्चन गर्दा मानव शरीरमा सकारात्मक तरङ्ग प्रवाह गराउँछ ।

त्यसैले स्पष्ट उच्चारणसहित निश्चित संस्कृत श्लोकहरू पढ्दै अभिमन्त्रित कलशको पानीमा कुशको टुप्पो चोबेर सेचन गर्ने गरिएको हो । कुशको टुप्पोमा फोनेटिक भाइब्रेसन सुचालन गर्ने क्षमता हुने भएकाले यसरी सिञ्चन गरिएको पानीले मानवलाई स्वच्छ, स्वस्थ एवं पवित्र बनाउँछ । साथै शरीरमा सकारात्मक तरङ्गको प्रवाह गराउँछ । यस्तो जल छर्किएको स्थान स्वच्छ हुन्छ । तर कुशको टुप्पो छैन भने सुचालन क्षमता कम हुन्छ । यसरी कुशलाई संस्कृत फोनेटिक ध्वनिसहित प्रयोेग गरेमा कुशको क्षमता अझ वृद्धि हुने भारतको मुक्कुरका स्व. श्री रामभट्टाचार्यले पनि बताएका थिए ।

कुश राखेको दूध नफाट्ने :

एक दिन पं. हरिहर न्यौपानेले कुरैकुरामा कुशको प्रसंग निकाल्नुभयो । उहाँले भन्नुभयो, ‘हरियो कुश हालेर तताएको दूध फाट्दैन ।’ दूध तताउँदा फाट्न लागेजस्तो लाग्यो भने आफूहरूले पनि तुरुन्तै कुश चिमटेर हाल्ने गरेको उहाँले उल्लेख गर्नुभयो । उहाँको कुरा सुनेर म लेखकलाई समेत यसको प्रयोग गर्न मन लाग्यो ।

आफैँले रोपेको कुशको एक टुक्रा चिमटेर ल्याएँ । दूध तताउन बसाल्नुभन्दा पहिले त्यस दूधमा मेरी श्रीमतीले दुई थोपा कागती निचोरेर हालिदिइन् । किनकि कागतीको अमिलो (एसिड) पर्दा दूध फाट्छ । दूध फाटिहाल्यो भने बरबाद हुन्छ भनेर तुरुन्तै हरियो कुशको २–४ टुक्रा हालेर दूध तताइयो तर दूध फाटेन । यसले पुष्टि भयो कि कुश हालेको दूध नफाट्ने रहेछ । कुशमा एसिड निस्तेज गर्ने क्षमता रहेछ ।

संस्कृत शब्दको ध्वनिले कुशमा प्रभाव :

शब्द, बोली तथा स्वरमा ध्वनि प्रतिविम्बित हुन्छ । उक्त ध्वनिको निश्चित फ्रिक्वेन्सी÷कम्पन हुन्छ । यसको उच्चतम उपयोग गर्न सकेमा शक्ति पैदा हुन्छ भन्ने कुरा पहिलेदेखि नै मानी आएको हो । मासारु इमोटोले जमेर क्रिस्टल बनेको पानीका आकृतिहरूमा मानवध्वनिको प्रभाव परेको विभिन्न स्वरूपको तस्वीर नै खिचेर देखाइदिएका थिए । यसरी शब्द, स्वर वा भाषाले भौतिक वस्तुमा त असर गर्छ भने मान्छेको भौतिक, मानसिक तथा भावनात्मक स्वास्थ्यमा झनै असर पु¥याउने हुन्छ ।

त्यसैले फोनेटिक साउन्डमा आधारित संस्कृतका मीठासपूर्ण श्लोकहरू पढ्दै टुप्पोसहितको कुशले सिञ्चन गरिएको पानीले मान्छेमा धेरै सकारात्मक प्रभाव पार्ने कुरा इमोटोले बरफमा गरेको प्रयोगले समेत पुष्टि गर्दछ ।

कुश जति पुरानो हुँदै जान्छ, यसको महत्व पनि घट्दै जान्छ । त्यसैले हरेक वर्षको कुशेऔँसीमा नयाँ कुश ग्रहण गर्नुपरेको हो । कुश काटेको ६ महिनासम्म यसको क्षमता रहिरहन्छ, त्यसपछि बिस्तारै यसको क्षमता ह्रास हुँदै जाने र अन्त्यमा एक वर्षपछि यो निष्क्रियजस्तै हुने भएकाले पुनः नयाँ कुश ल्याउनुपरेको हो ।

प्रतिक्रिया दिनुहोस्