पाठेघरको मुखको क्यान्सरको खोप नेपालमा डेमोस्ट्रेसन हुने



काठमाडौँ । 

पाठेघरको मुखको क्यान्सरको समस्या नेपालमा पहिलो नम्बर साइलेन्स किलरको रुपमा रहेको विश्व स्वास्थ्य सङ्गठनको एक अध्ययनले देखाएसँगै नेपालमा पनि १० बर्षदेखि १५ वर्ष सम्मका बालिकाहरुलाई खोप लगाउने विषयमा संचारकर्मीहरुसँग अन्तर्क्रिया गरियो ।

पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप सञ्चालनबारे नीति तथा कार्यक्रम अन्र्तगत संचारकर्मीहरुसँग परिवार स्वास्थ्य महाशाखा अन्तर्गत खोप शाखाले बिहीबार एक कार्यक्रमको आयोजना गरी अन्तरक्रिया कार्यक्रम गर्‍यो ।

क्यान्सरका विषयमा थाहा पाउनै पर्ने केही मुख्य बुँदाहरू नेपालमा पाठेघरको मुखको क्यान्सर रोगको रोकथाम गर्न यो रोग विरुद्धको खोप सञ्चालन गर्नेबारे राष्ट्रपतिबाट राष्ट्रिय नीति तथा कार्यक्रममा सम्बोधन भएको छ । तर, पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप २० हजार मात्रा मात्रै उपलब्ध भएकाले  यो खोप सातै प्रदेशका ९ हजार ५ सय बालिकामा डेमोस्ट्रेशन गर्न लागिएको खोप शाखाका डा. अभियान गौतमले बताए।

उनले यो खोप सातै प्रदेशका १–१ वटा अस्पतालबाट १४ वर्ष पुरा भएका किशोरीलाई ६ महिनाको फरकमा दुई मात्रा दिइने कार्यक्रम रहेको बताए ।

यो खोप निकै महँगो  र उत्पादन पनि कम हुने र नेपाल सरकारले खरिद गरेर दिन सक्ने अवस्था नभएकाले गाभीको सहयोगबाट नियमित खोपमा समावेश गर्ने गरी प्रस्तावना दर्ता गरिएको पनि डा.गौतमले बताए । पर्याप्त खोप गाभिले उपलब्ध गराएको खण्डमा सन् २०२४ को अन्तबाट १० बर्यदेखि१४ वर्ष उमेरका बालिकाहरूलाई यो खोप सेवा प्रदान गर्न सकिने जानकारी गराए ।

उनले नेपाली महिलाहरूमा हुने क्यान्सरहरूमध्ये पाठेघरको मुखको क्यान्सर पहिलो स्थानमा रहेको हुँदा यो रोगको रोकथामका लागि नेपाल सरकारले प्राथमिकतामा राखेको छ । यसका लागि १० देखि १४ वर्ष उमेरका बालिकाहरूलाई एच.पि.भी. खोप सेवा प्रदान गरिँदै छ । ३० वर्ष उमेरपछि हरेक महिलाले ५ वर्षको अन्तरालमा पाठेघरको मुखको क्यान्सरको जाँच गर्ने सुविधा प्रायजसो सबै अस्पतालमा हाल पनि उपलब्ध हुँदै आएको छ डा.गौतमले भने ।

यो खोप कोशी अस्पतालमा २८ गते देखि ३० गते सम्म चल्ने, नारायणी अस्पतालमा २९ देखि ३१ गते सम्म,  परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालमा २७ देखि ३० गते सम्म सञ्चालन गर्ने, गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २७ देखि ३० गते सम्म, भेरी अस्पतालमा २७ देखि ३० गते सम्म, प्रदेश अस्पतालमा २७ देखि ३० गते सम्म र डडेलधुरा अस्पतालमा २७ देखि २९ गते सम्म खोप अभियान सञ्चालन गर्ने कार्यक्रम रहेको परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेक कुमार लालले बताए ।

तोकिएका ७ बटा अस्पतालहरूबाट हाल उपलब्ध गराइने एच.पि.भि. खोपको पहिलो मात्रा लिनको लागि आफ्नो उमेर खुल्ने प्रमाण पत्र लिएर जानु पर्दछ र दोस्रो मात्रा लिनको लागि यो खोपको पहिलो मात्रा लिएको खोप कोर्ड साथमा लैजानु पर्नेछ । साथै दोस्रो मात्रा लिनको लागि पहिलो मात्रा लिएको अस्पतालमा नै जानु पर्दछ ।

डेमोस्टे«टिभ कार्यक्रमको रुपमा सञ्चालन हुन गइरहेको यो खोपको शुभारम्भ स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतबाट परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथली, काठमाडौँमा भाद्र २७ गते गर्ने कार्यक्रम रहको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. सङ्गीता कौशल मिश्रले जानकारी गराइन् ।

खोप सीमित भएकाले छोटो अवधिमा मात्र सञ्चालन गरिने जानकारी गराइयो । एच.पि.भी. खोपको एलर्जी भएमा वा पहिलो मात्रा लगाएर कडा किसिमको प्रतिक्रिया भएमा, ज्वरो आएको अवस्थामा र गर्भवती अवस्थामा यो खोप दिनु हुँदैन ।

पाठेघरको मुखको क्यान्सरको संक्षिप्त परिचय

विश्वको तथ्याङ्क अनुसार महिलाहरूमा हुने क्यान्सर मध्ये चौथो मुख्य स्थानमा रहेको नेपालमा महिलाहरूमा हुने क्यान्सर मध्ये पहिलो स्थानमा रहेको छ । यसको मुख्य कारण एच.पि. भी. नामक भाइरस ( १५% भन्दा बढी) हुनु नै हो । एच.पि.भी. भाइरस २ सय भन्दा बढी किसिमका प्रजाति हुने गर्दछ । जसमा १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारण हुन् । प्रजाति १६ र १८ प्रमुख कारक (८० प्रतिशत) क्षति पुर्‍याउने खालको भएको डा. गौतमले जानकारी गराइन् ।

नेपालमा एच.पि.भी. खोपको लक्षित संख्या १४ वर्ष उमेर समूहका किशोरी संख्या ३ लाख ५८ हजार ७ सय ५४ रहेको छ । त्यसैगरी १० देखि १४ वर्ष उमेर समूहका बालिकाहरुको संख्या १६ लाख ८८ हजार ७ सय ६८ रहेको छ । यहि अनुपातमा गाभीसँग खोप माग गरी प्रस्तावना पेस गरिसकिएको डा.गौतम बताउँछन्  ।

यो खोप नेपाल सरकारले नि:शुल्क  उपलब्ध गराउँने योजना अनुरुप गाभिसँग सहकार्य गर्दै गरेको जनाएको छ । नेपाल सरकारले १० वर्ष अघि पनि यो खोप पोखरा र चितवनमा डेमोस्ट्रेसन गरेको थियो । नीजि क्षेत्रका स्वास्थ्य संस्थाहरुले भने शशुल्क यो खोप लगाउँदै आएको पनि स्वास्थ्य मन्त्रालयले जानकारी गरायो । कार्यक्रममा सहभागी संचारकर्मीहरुले खोप सीमित प्रचार धेरै गरेको टिप्पणी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्