बनेपाका सबै विद्यार्थीको निःशुल्क आँखा परीक्षण



काभ्रे । बनेपा नगरपालिका र रेयुकाई एईको मासुनागा आँखा अस्पतालको समन्वयमा बनेपाका ६९ विद्यालयमा अध्ययनरत २३ हजार ३ सय ८२ विद्यार्थीको निशुल्क आँखा परिक्षण गरिने भएको छ । वडा नम्वर ६ मा रहेको भक्तेश्वर माध्यमिक विद्यालयबाट आँखा परिक्षणको औपचारिक शुरुवात गरिएको छ ।

‘रेयुकाई एईको मासुनागा आँखा अस्पतालले केहि समय अघि शिक्षकहरुलाई आँखा सम्वन्धी तालिम दिईएको थियो’– नगर प्रमुख शान्तिरत्न शाक्यले भने–‘शिक्षकहरुलाई दिईएको तालिमबाट विद्यार्थीहरुले अध्ययन गर्न नसक्नुमा आँखाको भिजन प्रमुख कारण भएको जानकारी भयो ।’ आँखाको भिजन १० देखि १५ प्रतिशत विद्यार्थीमा कम भएको प्रारम्भिक सूचनाका आधारमा नगर भित्रका सबै विद्यार्थीहरुको एकै पटक आँखा परिक्षण गरी उनिहरुमा भएको समस्या पत्ता लगाउने र उपचार गराउने गरी अभियान शुरु गरिएको नगर प्रमुख शाक्यले बताए । ‘आधारभुत स्वास्थ्य उपलब्ध गराउने प्रमुख उदेश्य हो’–नगर प्रमुख शाक्यले भने–‘आँखा शिविर लगायत नसर्ने रोग नियन्त्रण र त्यसको परिक्षण तथा पहिचान गरी उपचार गर्ने गरी अभियान शुरु गरेका छौं ।’ बनेपा नगरपालिका वडा नम्वर ९ मा हरेक महिनाको एक पटक गर्भवती महिलाहरुको निशुल्क एक्सरे गर्ने ब्यवस्था मिलाएको नगर प्रमुख शाक्यले बताए ।

अभियानको उद्घाटन कार्यक्रममा नगर उपप्रमुख विमला सापकोटाले संविधानमा भएको आधारभुत स्वास्थ्यको जिम्मेवारीलाई नगरपालिकाले क्रमशः पुरा गर्दै लैजाने बताईन् । बालबालिका, महिला र जेष्ठ नागरिकको अलावा नगर भित्रका विपन्न समुदायका नागरिकहरुलाई सरल र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन नगरपालिकाले आधारभुत अस्पताल, स्वास्थ्य चौकीहरुलाई स्तरोन्नती र सुविधा सम्पन्न बनाउँदै लगेको नगर उपप्रमुख सापकोटाले बताईन् । अभियानमा अस्पतालका अध्यक्ष मधु आचार्यले नगरपालिकासँगको समन्वयमा बनेपा नगर भित्रका सबै बालबालिकाहरुको आँखा परिक्षण गरिने बताए । यो अवसरबाट बालबालिकाहरुको बाँकी जीवन र स्वास्थ्य तथा कृयाकलापमा सहयोग पुग्ने अध्यक्ष आचार्यले बताए । अभियानका क्रममा नगरपालिका स्वास्थ्य शाखाका महेश्वर श्रेष्ठले नगर भित्र विभिन्न स्वास्थ्यका कृयाकलापहरु गरिरहेको बताए । आँखा परिक्षणसँगै तत्कालै आवश्यक पर्ने औषधी निशुल्क उपलब्ध गराउने, बच्चाहरुमा थप संक्रमण अथार्त आँखामा अन्य समस्या देखिएमा अस्पतालसम्म पु¥याएर निशुल्क सेवा उपलब्ध गराउने श्रेष्ठले बताए । अभियानको उद्घाटनका क्रममा नगरपालिकाका विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधिहरु, जनप्रतिनिधिहरु, विद्यालयका प्रधानाध्यापक दामोदर गौतम लगायतको सहभागिता रहेको थियो । भक्तेश्वर माध्यमिक विद्यालयमा भर्ना भएका ३ सय ३० विद्यार्थी मध्ये ८० प्रतिशत विद्यार्थीको नियमित उपस्थिती हुने गरेको छ ।

सामुदायिक विद्यालयहरुमा विद्यार्थी सँख्या घटिरहेको समयमा भक्तेश्वर भने आधारभुत तहबाट माध्यमिक तहमा बृद्धी भएको छ । यो शैक्षिक सत्र देखि भवन र शिक्षक विना नै विद्यालयले तह थप गरेको छ । प्रधानाध्यापक दामोदर गौतमले अभिभावक र विद्यार्थीको आवश्यकताका आधारमा सबैको सहयोग र समन्वयमा माध्यमिक तह बृद्धी गरिएको बताए । उक्त विद्यालयमा अहिले जिल्ला समन्वय समिति र बनेपा नगरपालिकाको साझेदारीमा ४१ लाखको एक तल्ले तीन कोठाको भवन निर्माण शुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्