मानसिक स्वास्थ्य र आत्महत्या न्यूनीकरणमा सक्रियता



काभ्रे।

स्वस्थ्य कार्यालय काभ्रेपलाञ्चोकले मानसिक स्वास्थ्य र आत्महत्या न्यूनीकरण गर्ने उद्देश्यले  जिल्ला जनस्वास्थ्य समन्वय समितिको बैठकको अवसर पारी सरोकारवालाहरुसँग बृहत् छलफल र अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

तथ्याङ्कमा आर्थिक वर्ष २०७८/२०७९ मा भन्दा २२ जना कम अथार्त आर्थिक वर्ष २०७९/२०८० मा ९० जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०८०/२०८१ को ४० दिन नपुग्दै २२ जनाले आत्महत्या गरेपछि त्यसको न्यूनीकरणका लागि मानसिक स्वास्थ्य तथा आत्महत्या न्यूनीकरणमा सबै पक्षको उत्तिकै भूमिकाका लागि बृहत् छलफल गरिएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख वरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोतमराज सेढाईले बताए ।

 छलफल कार्यक्रममा डा. सेढाईले जिल्लामा भएका आत्महत्यासम्वन्धी तीन वर्षे तथ्याङ्क विश्लेषण सहित प्रस्तुत गरेका थिए । आत्महत्याको सङ्ख्या, पालिकागत अवस्था, उमेर, लिङ्ग, पेसा, समय, बार, महिनाका आधारमा जिल्लामा भएका घटना, त्यसको न्यूनीकरणका लागि भएका प्रयास र अवस्थाका बारेमा जानकारी गराएका थिए ।

धुलिखेल अस्पताल इमरजेन्सी विभागका प्रमुख डा. सानुकृष्ण श्रेष्ठले अस्पतालमा आत्महत्याको प्रयास गरेर इमरजेन्सी विभागमा भर्ना भएका मध्ये केही बाहेक अधिकांशलाई बचाउन सकिएको बताए । विष सेवन गरेका समयमै अस्पताल ल्याउँदा तथा विषको मात्रा र अवस्थाका आधारमा बिरामीलाई उपचार गर्न सहज भए पनि त्यस पछिको अवस्थाका बारेमा विभिन्न विभागका चिकित्सकहरुको भूमिका हुने डा. सानुकृष्ण श्रेष्ठले बताए ।

एक पटक आत्महत्याको प्रयास गरेको व्यक्तिले ३ देखि १० वर्षको बिचमा पुनः आत्महत्याको प्रयास गरेको उनले बताए । सोही कार्यक्रममा धुलिखेल अस्पतालले गरिरहेको रिसर्चका बारेमा रेनु श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेकी थिइन् । धेरै विरामीहरुले मर्न चाहनुको कारण भन्न अन्कनाउने गरेको उनले बताइन् । शिर मेमोरियल अस्पतालकी मेडिकल डाइरेक्टर डा.एन्जिला बस्नेतले विष सेवन गरेर मर्नेहरुको सङ्ख्या केही वर्ष अघिसम्म धेरै भए पनि पछिल्लो समयमा झुन्डिएर आत्महत्या गर्नेहरु धेरै भएको बताइन् । विष सेवन गर्नेहरु मध्ये अधिकांशलाई बचाउन प्रयास गरिए पनि त्यसले शरीरका भित्री भागहरुलाई पु¥याउने असर र त्यसबाट जोगिन पहिलो प्रयास हुने भए पनि आत्महत्याका लागि तयार भएको व्यक्तिलाई पहिलाकै अवस्थामा फर्काउन कठिन भएको उनले बताइन् ।

कार्यक्रममा धुलिखेल अस्पतालमा कार्यरत फरेन्सिक डा. पंकजकुमार शाहले परिवारका सदस्य वा नजिकका आफन्तले गरेको आत्महत्या पछि अर्काे घटना हुने गरेको बताए । आत्महत्या गरेका ब्यक्तिहरुको केही बाहेक अधिकांशको प्रकृया मात्रै पुरा गरेकाले त्यसको व्यवस्थापनमा अझै ध्यान दिनु पर्ने बताए ।

 आत्महत्या गर्नेहरु मध्ये पोस्टमार्टम गरिएकाहरूको आधारमा गरिएको प्रारम्भिक अनुसन्धानले त्यसको सम्बन्धहरू केलाउँदै जाँदा पहिला धेरै पटक प्रयास गरेको, आफन्त वा परिवारका सदस्यहरुले १० वर्ष भित्रको अवधिमा आत्महत्या गरिसकेको देखिएको डा.पंकजकुमार शाहले बताए । महिला भन्दा पुरुषहरु धेरै आत्महत्यामा संलग्न हुने गरेकाले पुरुषहरुलाई समाज र समुदाय अथार्त कानूनले पनि पछिल्लो समयमा जिम्मेवारी, दायित्व भन्दा पर गएर अनिवार्य र जर्बजस्ति लाद्न बाध्य गरेकाले आत्महत्या धेरै हुन थालेको उनको निष्कर्ष छ ।

 कार्यक्रममा पाटन मानसिक अस्पतालका निर्देशक डा. अनन्त अधिकारीले मानसिक समस्या भयावह हुँदै गएकाले त्यसको न्यूनीकरणका लागि समयमै उपचार, मनोपरामर्श र मानसिक स्वास्थ्यको परीक्षण गर्ने अभियानमा सबै सक्रिय हुनु पर्ने बताए ।

कार्यक्रममा सुरक्षा निकायका प्रतिनिधिहरु, पालिकाका स्वास्थ्य शाखा प्रमुखहरु, संचारकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिहरु सहभागी थिए । नेपाल पत्रकार महासंघका अध्यक्ष बद्रीराज तिमल्सिना, निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, संचारकर्मी मधुसूदन गुरागाईँ, धुलिखेल स्वास्थ्य शाखा प्रमुख सन्दीप केसी, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि, स्वास्थ्य कार्यालयका दीपेन्द्र श्रेष्ठ लगायतले जिल्लाको समग्र अवस्थामा सरोकारवाला निकायले खेल्नु पर्ने भूमिकाका बारेमा धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्