सभ्यताको द्वन्द्वमा पहिचान जोगाउने चुनौती



उत्तरी छिमेकी चीनका राष्ट्रपति सी जिनपिङले अघि सारेका महत्वपूर्ण पहलहरुमध्ये बीआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ), जीडीआई (ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ), जीएसआई (ग्लोबल सेक्युरिटी इनिसिएटिभ) र जीसीआई (ग्लोबल सिभिलाइजेसन इनिसिएटिभ) लाई रणनीतिक महत्वको तथा दूरगामी महत्व पार्ने खालको मानिछ । कुनै न कुनै रुपमा नेपाल पनि उपरोक्त चारवटै पहलहरुमा सहभागी भइसकेको अवस्था छ । विश्व इतिहासमा अस्तित्वमा आएका प्रमुख सभ्यताहरुमध्ये इजिप्ट, रोम, ग्रीक, इरानी सभ्यताहरु समाप्त भइसकेका छन् । चिनियाँ सभ्यता र हिन्दू सभ्यतामात्रै अस्तित्वमा रहेका छन् । चीनले अघि सारेको जीएसआई (ग्लोबल सेक्युरिटी सिभिलाइजेसन) मा नेपालले आफ्नो सहभागिता जनाएपछि (प्रत्यक्ष वा अप्रत्यक्षरुपमा) हामी कसरी आफूलाई हिन्दू सभ्यताका वाहक भएको दाबी गर्न सक्नेछौँ ? शुरुमा नयाँ शिक्षाको नाममा हामीले पश्श्चिमेली सभ्यता, संस्कृति र शिक्षालाई आत्मसात् ग¥यौं अथवा त्यसको नक्कल ग¥यौं तर त्यसबाट उपलब्धि केही पनि हात पार्न सकिएन । अब अहिले आएर जीसीएप्रति हाम्रो आकर्षण बढ्नु स्वयं हाम्रो निम्ति चिन्ताको विषय हुनुपर्ने हो ।

पश्चिमेली षड्यन्त्रकारी विद्वान्हरुले हाम्रो ज्ञान–परम्परालाई उपेक्षा मात्रै गरेनन्, अपितु यसलाई नष्ट गर्ने प्रयास नै गरे । उनीहरु, कला, संगीत, साहित्य, न्याय दर्शन, स्थापत्य, मूर्तिकला, योग, धातु विज्ञान, वस्त्र निर्माण, रसायनशास्त्र, गणित, खगोल, ज्योतिष, चिकित्सा, कृषि आदि विविध क्षेत्रहरुमा हाम्रा समृद्ध एवं गौरवशाली ज्ञान परस्परबाट राम्ररी परिचित थिए । हामीमा संस्कृत भाषाप्रति घृणा एवं द्वेष फैलाई त्यतातिरबाट विमुख गरेर स्वयं भने संस्कृत भाषाका प्रत्येक शास्त्रहरुको उल्था गर्न लगाई त्यसबाट बहुमूल्य ज्ञान प्राप्त गरे । हामी बहुसंख्यक हिन्दूहरुले संस्कृत भाषालाई मृत भाषा, देव भाषा, अप्रासंगिक एवं अव्यावहारिक ठानेर यसको उपेक्षा गर्ने काम ग¥यौं । आफ्ना शैक्षिक पाठ्यक्रम विद्यालय, क्याम्पस र विश्वविद्यालयहरुबाट संस्कृतलाई हटाउने काम ग¥यौं । जबकि पश्चिमाहरुले आफ्नो विश्वविद्यालयहरुमा यसलाई अनिवार्यसरह बनाउन थाले, बनाए । संस्कृत हाम्रो भाषा हो, ऋषिमुनीहरु हाम्रा पूर्वज थिए, हामी आर्य सभ्यताका वाहक हौं, यतिमात्रै भनेर पुग्दैन । यसको संरक्षण, संवद्र्धन र प्रसारमा हामीले के–कस्तो भूमिकाको निर्वाह ग¥यौं ? त्यतातिर पनि हाम्रो ध्यान जानु आवश्यक छ ।

विश्वका प्रत्येक जागरुक एवं विकसित देशहरु आफ्नो सभ्यता, संस्कृति, ज्ञान–परम्परा र विरासतलाई संरक्षण गर्ने प्रयत्न गर्दछन् । फेरि हामी हिन्दू अथवा पूर्वीय सभ्यताका उत्तराधिकारी अथवा वाहकहरुले आफ्नो गौरवशाली सभ्यता, संस्कृति एवं परम्परालाई अक्षुण्ण राख्न खोज्नु स्वाभाविकै हो । विश्वलाई मार्गदर्शन गराउन सक्ने मौलिक र सार्वभौमिक विशेषताहरु यसै सभ्यताभित्र निहित छ । सनातन अथवा हिन्दू सभ्यता–संस्कृतिलाई नष्ट गर्ने कम प्रयास भएका होइनन् । तर पनि यसले आफ्नो मौलिकता एवं सार्वभौमिकतालाई गुमाएन । हिंसा एवं द्वन्द्वपीडित विश्व मानवतालाई मार्ग देखाउन सक्ने शक्ति हिन्दू ज्ञान–परम्परामा मात्रै निहित छ । सबैभन्दा ठूलो कुरा योग, आयुर्वेद, कृषि, स्थापत्य, अनुष्ठानिक कार्य, हस्तकला, कृषि, पशुपालन, बागबानी आदि क्षेत्रमा रोजगारको अवसर पनि प्राप्त भइरहेको छ । अर्कोतिर अति भौतिकवादी एवं यान्त्रिक जीवनशैलीबाट उत्पादन विसंगतिहरुलाई अन्त्य गर्नमा पनि हाम्रो दर्शन नै सहायक साबित भइरहेको छ । भौतिक सुविधा र आधुनिकताको मोजमस्तीमा रमाएका पश्चिमाहरु पनि अब थाकेर हिन्दू धर्म–संस्कृतिभित्र नै शक्ति, ज्ञान एवं सच्चा अध्यात्मको अनुभूति गर्न सकिरहेका छन् । विज्ञानको मुकाबिला र तुलना पनि हिन्दू धर्मशास्त्रसँग मात्रै हुने गर्दछ । हाम्रो ज्योतिषशास्त्र त अमेरिका अन्तरिक्ष अनुसन्धान संस्था (नासा)को निम्ति सहयोगी साबित हुन आएको छ । हामीले हाम्रो धर्मशास्त्रहरुमाथि गर्व गर्न सक्नुपर्छ ।

सांस्कृतिक साम्राज्यवादको सिद्धान्तलाई जनसञ्चार सिद्धान्तकै एउटा अवधारणा मानिन्छ । जसमा विभिन सञ्चारमाध्यमहरुमार्फत केही धनी देशका विभिन्न सांस्कृतिक रीतिरिवाज, चालचलन, विश्वास, मूल्य तथा मान्यताहरुलाई अर्को कम विकसित मुलुकहरुमा विभिन्न तरिकाबाट प्रभाव पार्ने प्रयास गरिन्छ । अर्थात् गरिब देशहरुमा धनी देशहरुको संस्कार तथा संस्कृतिको प्रभाव जमाउन खोजिन्छ । सामान्यतया आर्थिक रुपमा विकसित देशहरुबाट तिनीहरुको मूल्य, मान्यता र विचारधाराहरु विभिन्न माध्यमबाट आर्थिक रुपले कमजोर रहेका देशहरुमाथि लाद्ने काम गरिन्छ । धनी राष्ट्रहरुको कला, संस्कृति, गरिब राष्ट्रलाई प्रभावित पार्ने काम गरिन्छ । धनी देशहरु आ–आफ्नो देशको कला, संस्कृति, रीतिरिवाज, रहनसहन, खानपान, भेषभुषा अनुकरण गर्न गरिब देशहरुलाई उत्प्रेरित गरिरहेका हुन्छन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले गत चैत्रमा मात्रै प्रस्तावका रुपमा अघि सारेको ग्लोबल सिभिलाइजेसन इनिसिएटिभ (जीसीआई) अवधारणा नेपालमा कार्यान्वयन भएको चीनले दाबी गरेको छ । यससम्बन्धमा नेपालले भने चीनले आग्रह गरे पनि नेपालमा छलफलकै क्रममा यो अवधारणा रहेको दाबी गरेको छ । जबकि नेपालका लागि चिनियाँ राजदूत हुन सोङले पोखरामा आयोजित दुईदिने ड्रागन बोट रेस फेस्टिभलको पहिलो दिनमै ट्वीट गर्दै यसलाई ग्लोबल सिभिलाइजेसन इनिसिएटिभको सफल कार्यान्वयन भनेका हुन् । चीनका लागि नेपाली राजदूतले पनि जीएसआई अध्ययनकै क्रममा रहेको दाबी गरेको छन् ।

चीनले भने विश्वसभ्यातालाई एकै ठाउँमा ल्याउने अवधारणाको रुपमा जीएसआईलाई अघि सारिएको दाबी गरेको छ । विश्व सभ्यतालाई एक ठाउँमा ल्याउने जिम्मेवारी चीनलाई कसले दिएको हो ? हिन्दू सभ्यातालाई अटाउन सक्ने क्षमता चिनियाँ सभ्यताभित्र छैन । चिनियाँ सभ्यता आफ्ना शासक अथवा राजाप्रतिको स्वामीभक्तिका लागि प्रसिद्ध रहेको छ । जबकि हिन्दू अथवा पूर्वीय सभ्यता ज्ञानका कारण प्रसिद्ध रहेको छ । सनातन सभ्यता संस्कृतिमा खण्डन–मण्डन, विचार–विमर्श, तर्क–वितर्क, सहमति–असहमतिका लागि पनि पर्याप्त ठाउँ रहेको हुन्छ । जबकि चिनियाँ सभ्यातामा यो सम्भव छैन ।

दक्षिणी छिमेकी भारतले आफ्नो राष्ट्रिय शिक्षा नीतिमा परिवर्तन ल्याएको छ तथा सनातन ज्ञान–परम्परालाई स्थान दिने काम गरेको छ । यसले गर्दा नयाँ पुस्ता पनि आफ्नो गौरवशाली इतिहास सभ्यता र संस्कृतिबाट अवगत तथा लाभान्वित हुनेछन् । नयाँ पाठ्यक्रममा रामायण, महाभारतकालीन कृषि र सिंचाइ व्यवस्था, खगोल विज्ञानका वैदिक अवधारणाहरु र वैदिक गणित, सुश्रुत संहितामा वर्णित उपचार व्यवस्था आदिलाई प्राथमिकता दिइएको छ । हाम्रा प्राचीन विद्वान्हरु चरक, सुश्रुत, आर्यभट, वराहमिहिर, भाष्कराचार्य, ब्रह्मगुप्त, चाणक्य, पाणिनि, पतजञ्ली, मैत्रेई, गार्गी आदि प्रमुख हुन् । प्राचीन बीजगणित, ज्योतिष, वाद्ययन्त्र, भाषा विज्ञान, धातुशास्त्र, वास्तुशास्त्र, मूर्ति विज्ञान, पुरानो तरिकाले जल सञ्चय र यसको व्यवस्थापन वेद, वेदाङ्ग, दर्शन, साहित्य, न्याय, व्याकरण, चिकित्सा, कृषि, अर्थशास्त्र आदिलाई सामेल गरिएको छ । के हिन्दू धर्मको राष्ट्रिय पहिचान बोकेको गौरवशाली नेपाल पनि हाम्रो विरासतलाई सुरक्षित राख्न यस दिशामा पाइला चाल्ने साहस जुटाउन सक्छ ? पश्चिमा सभ्यताले हामीलाई पहिचानविहीन बनाउँदै गएको छ । अब चिनियाँ सभ्याताको पनि अनुकरण गर्ने हो भने हाम्रो पहिचान नै के रहने हो ?

प्रतिक्रिया दिनुहोस्