इन्सेफ्लाइटिसले सुत्केरीको ज्यान लग्यो



उदयपुर । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ जाल्मे शिखरकी एक महिलाको सुत्केरी अवस्थामा इन्सेफ्लाइटिसका कारण उपचारका क्रममा ज्यान गएको छ ।

जाल्मे शिखर घर भएकी २४ वर्षीया सुमित्रा मगरको सुत्केरी भएको ३५ दिनपश्चात् उपचार गर्ने क्रममा बिराटनगरको न्युरो अस्पतालमा ज्यान गएको हो ।

रौतामाई–७ का वडाध्यक्ष मनोजकुमार राना मगरले दिएको जानकारी अनुसार सुमित्रालाई डेंगु रोग लागेर ज्यान गएको भन्ने हल्ला चलेको थियो । तर, गलत प्रचार भएको हो । उनी सुत्केरी भएपछि ज्वरो आउने, टाउको दुख्ने, रिंगटा लाग्ने बेहोस हुने लक्षण देखिएपछि उदयपुर जिल्ला अस्पताल गाईघाटमा भदौ ६ गते उपचारका लागि लगिएको थियो । उपचारमा संलग्न चिकित्सकहरूले उनलाई थप उपचार गर्नुपर्ने भन्दै विराटनगर रेफर गरेका थिए ।

विराटनगरको न्युरो अस्पतालमा उपचार गर्दा गर्दै एकच्युट भाइरल इन्सेफ्लाइटिस विथ भेरियवल भेनम फम्बोसिसका कारण भदौ ७ गते सुमित्राको ज्यान गएको चिकित्सकले दिएको प्रेसक्रिप्सनमा उल्लेख छ । उनको ३५ दिने र ७ वर्षीय छोरा छन् । गरीब परिवारको भएकोले आर्थिक अवस्था कमजोर भएको, समयमा उपचार नहुँदा सुमित्राको ज्यान गएको वडाध्यक्ष मगरले बताए ।

यस विषयमा स्वास्थ्य कार्यालय उदयपुरका स्वास्थ्य अधिकृत रामनरेश ठाकुरले उदयपुरमा डेंगुका कारण कसैको पनि मृत्यु नभएको र त्यस्तो साह्रै भएर डेंगुका बिरामी उपचारका लागि नआएको बताए । ठाकुरले बाहिर उदयपुरमा डेंगुका कारण मृत्यु भएको भन्ने हल्ला मात्र भएको र उदयपुर बाहिर उपचार गराएर डेंगुका कारण मृत्यु भएको जानकारी पनि नआएको बताए ।

स्वास्थ्य अधिकृत ठाकुरले रौतामाई गाउँपालिका–७ की सुत्केरी महिलालगायत दुई जनाको डेंगुका कारण मृत्यु भएको भन्ने हल्ला मात्र भएको बताए । सामाजिक सञ्जाल र पत्रपत्रिकामा आएजस्तो नभएको र यहाँका सुत्केरी महिला सुमित्राको भाइरल इन्सेफ्लाइटिसका कारण मृत्यु भएको जानकारी पाएपछि स्थलगत रुपमा बुझ्दा भाइरल इन्सेफ्लाइटिसबाट नै मृत्यु भएको ठाकुरले बताए ।

स्वास्थ्य कार्यालय उदयपुरका तथ्यांक अधिकृत उमेश लुइटेलले पनि सुत्केरी महिलाको भाइरल यन्सेफ्लाइटिसबाट ज्यान गएको बताए ।

प्रतिक्रिया दिनुहोस्