अस्पतालबाट फर्केकी महिलाले बाटोमै बच्चा जन्माइन्, छोरी हुन्छन् भन्ने डरले अप्रेसन गर्नै मान्दैनन् दुर्गमका महिला



बाजुरा । खप्तड क्षेडेदह गाउँपालिका–१ जारिमतोलाकी ३२ वर्षीया उज्जली सुनारले सोमबार बिहान बाटोमै बच्चा जन्माउनुभएको छ । उज्जलीले बाजुराको बुढीगंगा नगरपालिका–१० स्थित पानीभुंवा भन्ने ठाउँको बीच बाटोमा बच्चा जन्माउनुभएको हो । सुत्केरी व्यथाले बेहोस अवस्थामा रहेकी सुुनारलाई आधारभूत प्राथमिक स्वास्थ्य केन्द्र बुढीगंगा नगरपालिका–१० सिंगाडाकी अनमी सिर्जना सार्कीले सुत्केरी गराउनुभएको हो ।

छिमेकी जिल्ला अछामको बयालपाटा अस्पतालमा अप्रेसन गराउन नमानेर घर फर्किने बेला बाटोमै सुत्केरी व्यथा लागेर पल्टेकी सुुनारलाई अनमी सार्कीले बाटोमै फेला पारी सुत्केरी गराउनुभएको हो । ‘तुरन्तै हामीलाई खबर भयो, आवश्यक उपलब्ध सामग्रीसहित स्वास्थ्यकर्मी परिचालन गर्दा सुत्केरी आमा र शिशु दुुवैको ज्यान बच्यो’ –बुढीगंगा नगरपालिका–१० का वडाअध्यक्ष दलबहादुर साउदले भन्नुुभयो ।

बेहोस अवस्थामा बाटोमा फेला परेकी हुनाले मन थाम्न नसकेर आफूले सकेको सहयोग गरेको अनमी सार्कीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘एउटा सामान्य अनमीका लागि अत्यन्त क्रिटिकल केस थियो । बाटोमा तत्काल विकल्प पनि केही थिएन । तर, पनि आमालाई बचाउन पाए पनि हुन्थ्यो भन्ने लाग्यो । आफूसँग भएको सीप प्रयोग गरेँ । आमा छोरी दुुवैलाई उद्धार गर्न पाउँदा खुसी छु ।’

अप्रेसन गर्नुपर्ने डरले भारतको नयाँ दिल्ली जान्छु भनेर घर फर्किने क्रममा बाटोमै छोरी जन्माएको बुढीगंगा स्वास्थ्य चौकीका इन्चार्ज लक्ष्मीराज जैसीले बताउनुुभयो । उज्जलीको रक्तश्राव पनि रोकिएको छ । आमा र शिशु दुुवैको स्वास्थ्य आवस्था सामान्य छ । जोखिममा बच्चा जन्माएकी सुत्केरी आमा र शिशुु दुवैको सेलापाखा स्वास्थ्य चौकीमा थप उपचार भइरहेको छ । ‘स्वास्थ्यकर्मीकै निगरानीमा राख्न निर्देशन गरेकी छु । सुत्केरी र शिशुुमा जटिल अवस्था आए एम्बुलेन्ससहित सबै व्यवस्था नगरपालिकाले गर्छ’ –बुुढीगंगा नगरपालिकाका नगर उपप्रमुख माया खड्काले भन्नुुभयो ।

बयलपाटा अस्पतालका मेडिकल डाइरेक्टर डा. मन्दीप पाठकले उज्जली सुुनारको आइतबार चेकजाँच गर्दा बच्चा पाउने अवधि १४ दिन नाघिसकेको बताउनुभयोे । उहाँले भन्नुभयो– ‘डाक्टरले अप्रेसन गर्नुपर्ने सल्लाह दिएका हुन् । उज्जलीले छपटक बच्चा जन्माइसकेकी रहिछन् । अप्रेसन गर्न मानिनन् । औषधी प्रयोग गर्दा पाठेघर फुट्न सक्ने सम्भावना हुन्छ । औषधी प्रयोग गर्दा आईसीयू चाहिन्छ, हामीसँग आईसीयूको व्यवस्था छैन । अप्रेसन गर्न उहाँले मान्नुुभएन । हामी कागत तयार पार्दै थियौं, उहाँ कति बेला निस्किनुहुन्छ पत्तै भएन’ –डा. पाठकले भन्नुुभयो ।

प्रायः दुुर्गमका महिलामा अप्रेसन गराए छोरी निस्किन्छ र पछिल्लो गर्भ पनि छोरी नै जन्मिन्छ भन्ने अन्धविश्वास छ । सुत्केरी गराएबापत अस्पतालले एक पैसा लिँदैन, निःशुल्क गर्छाैं, तर पनि सुत्केरीको अप्रेसन केसमा सहमत हुँदैनन् । उज्जली सुनारले यिनीलगायत छ छोरीको जन्म दिइसकेकी छन् । चारवटी जीवित छन् भने दुुई छोरी बितिसकेका छन् । छोरा पाउने आशमा ज्यान जोखिममा राखेर वर्षेनी बच्चा जन्माउन बाध्य भएका वडाअध्यक्ष साउदको भनाइ छ ।

बाजुराका बाटोमै बच्चा जन्माउने उज्जली सुनार मात्र हैनन् । ग्रामीण भेगका दर्जनौं महिलाले बाटोमै बच्चा जन्माउनुपर्ने अवस्था छ । गाउँमा सुलभ स्वास्थ्य सुविधा छैन । सडक सञ्जाल र दक्ष जनशक्तिको अभाव छ । अझ परम्परागत अन्धविश्वासका कारण छोरा पाउने रहरले कतिपय महिलाको ज्यान जोखिममा परेको छ ।

प्रतिक्रिया दिनुहोस्