अध्यागमन विभागका महानिर्देशक र सुन तस्कर दावाबीच गहिरो कनेक्सन 



काठमाडौं । ६० किलो सुन तस्करीका मुख्य योजनाकारमध्येका एक दावा छिरिङसँग अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीको कनेक्सन देखिएको छ । अधिकारी र दावा छिरिङबीच विच्याटमा कुराकानी भएको र त्यस कुराकानीमा विभिन्न डिलहरु भएको तथ्यहरु फेला परेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गरिरहेको सुनको अनुसन्धानमा तस्करीका नाइके दावा छिरिङ र गृह मन्त्रालयको सबैभन्दा महत्वपूर्ण र संवेदनशील मानिने अध्यागमन विभागका महानिर्देशक अधिकारीबीच सुन तस्करीको पूर्वसूचना आदान–प्रदान र रकम लेनदेनमा व्यापक कुराकानी र संवाद भएको प्रमाण फेला परेको हो । अधिकारी र दावाबीचको संवाद हेर्दा सुन तस्करी योजनाबद्ध रुपमा नै भएको देखिएको छ । अधिकारीको संलग्नतासँगै यसको सिधा कनेक्सन गृह मन्त्रालयसम्मै रहेको हुन सक्ने स्रोतको दाबी छ ।

सीआईबीले फेला पारेको तथ्यअनुसार महानिर्देशक अधिकारी र दावाबीच पानी तान्ने मोटर, त्यसको प्याकेजिङ आयात र आदानप्रदानको कुराकानी मात्रै भएको छैन, ठूलो बिजनेस सञ्चालन गर्ने त्यसो गर्दा ठूलो रकम आउने कुरासमेत भएको देखिन्छ । स्ुन तस्करीको छानबिन गर्ने क्रममा ती मेसिनहरु बरामद भएको थियो ।

दावाले विभिन्न सन्दर्भमा अधिकारीलाई बधाईसमेत दिएका छन् । अधिकारी र दावाको विच्याटमा दुवै जनाका लागि राम्रो बिजनेस भएको र ठूलो परिमाणमा नगद कारोबारको कुराकानी भएको प्रमाण सीआईबीले फेला पारेको स्रोतको दाबी छ ।

तस्कर समूहले आयात गर्ने तस्करीको सुनको विवरण अध्यागमन विभागका महानिर्देशकमार्फत गृह मन्त्रालय र सुरक्षा निकायलाई पुग्ने गरेको सीआईबीका अनुसन्धानमा संलग्न अधिकारीको दाबी छ ।

‘हाल गृह मन्त्रालय मातहतको अध्यागमन विभागको महानिर्देशकको जिम्मेवारीमा रहेका सह–सचिव झलकराम अधिकारी र दावाबीच लामो कुराकानी हुने गरेको र ती सबै विमानस्थलबाट सुन पास गराउने र रकम लेनदेनसँग सम्बन्धित देखिएको छ,’ सीआईबी स्रोतले भन्यो– ‘कुन वस्तुभित्र राखेर सुन ल्याइँदै छ भन्ने जानकारी दावा छिरिङले अधिकारीलाई पहिल्यै पठाउँथे ।’ सीआईबी स्रोतले विभागमा महानिर्देशक र तस्कर दावाबीच गहिरो सम्बन्ध रहेको पाइएको जनाएको छ ।

दुईबीचको संवाद यसरी भएको देखिन्छ


–म्यासेजमा दावाले ‘नमस्ते’ लेख्छन् ।
–त्यसको जवाफमा झलकरामले ‘नमस्ते’ फर्काउँछन्, अनि ‘हाउ आर यु’ भन्दै हालखबर सोध्छन् ।
–दावाले तत्कालै जवाफ फर्काउँछन् । ‘एभ्रिथिङ गुड, थ्यांक्यु दाइ ।’
–त्यसको अर्को दिन झलकरामले दावालाई एउटा फोटो पठाउँछन् । पानी तान्ने मोटरको फोटो पठाउँछन्, लगत्तै दावाले ‘ओके’ भन्छन् ।
–दावा छिरिङले झलकरामलाई ‘दिस नम्बर इज अल्सो माइ नम्बर’ भन्दै नम्बर पठाउँछन् ।
–झलकरामले म्यासेज सिन गर्छन् । त्यसपछि उनीहरुको त्यही फोन नम्बरमा फोन संवाद शुरु भएको अनुसन्धानमा देखिन्छ ।
–त्यसको भोलिपल्ट दावाले फेरि ‘दाइ कन्ग्राचुलेसन’ भन्दै ‘स्याम्पेन’ सहितको म्यासेज पठाउँछन् ।
–यो म्यासेज पनि झलकरामले हेर्छन् ।
–त्यसको एक सातामा फेरि झलकलाई दावाले ‘दाइ नमस्ते, आई ह्याभ गुड बिजनेस फर यु भन्छन् ।
–लगत्तै दावाले झलकलाई अर्को म्यासेज पठाउँछन् । यो म्यासेजमा, ‘भेरी बिग अमाउन्ट क्यास, आइ नो भेरी वेल’ अर्थात् धेरै ठूलो पैसाको काम हो, मलाई राम्रोसँग थाहा छ । लगत्तै ‘निड टु टल्क विथ यु’ अर्थात् तपाईंसँग कुरा गर्नु छ ।

सोही आधारमा अधिकारीले सुन पास गराउन गृह मन्त्रालयको सबै प्रबन्ध मिलाउने गरेको स्रोतको दाबी छ । उनीहरुको कुराकानी भएको सुन्दा अधिकारीले दावासँग मोटो रकम बुझ्ने गरेको प्रस्ट हुन्छ । अधिकारीले बुझेको रकम गृहमा समेत पुग्ने गरेको बताइएको छ ।

स्रोतका अनुसार सीआईबीसँग फेला परेको प्रमाणमा महानिर्देशक अधिकारीलाई दावाले पानी तान्ने मोटरमा सुन आएको भन्दै सहजीकरणका लागि अनुरोध गरेको पाइएको छ ।

दावाको प्रस्तावमा सहमति जनाएर अधिकारीले ‘ओके’ भन्ने जवाफ फर्काएका छन् । त्यसको तेस्रो दिन अधिकारीलाई दावाले ‘राम्रो काम भएकोमा धन्यवाद भन्दै राम्रो पैसा उपलब्ध गराएको’ उल्लेख गरेका छन् । जवाफमा अधिकारीले ‘फेरि–फेरि यस्तै कार्य भइरहने’ वचन दिएका छन् । अधिकारी यसअघि राजस्व अनुसन्धान विभागको महानिर्देशकसमेत थिए । त्यतिखेर पनि उनको कनेक्सन दवासँग नै हुने गरेको स्रोतको दाबी छ ।

अनुसन्धान अधिकारीहरुका अनुसार महानिर्देशक अधिकारी र दावाबीच २०७८ असार ७ देखि यता निरन्तर संवाद हुने गरेको देखिएको छ । ५ साउन २०७९ देखिका संवादमा भने राम्रो काम भएको भन्दै रकम लेनदेनका कुराकानी छन् । अधिकारी यसअघि अधिकृत हुँदा त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालय र ठूला करदाता कार्यालयमा समेत कार्यरत रहनुभएको थियो । उहाँलाई गत फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहालले गृह मन्त्रालयको जिम्मेवारी सम्हालेको समयमा विभागको महानिर्देशक बनाउनुभएको थियो । गृहस्रोतका अनुसार अधिकारीको गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि निकट सम्बन्ध छ ।

यस विषयमा नेपाल समाचारपत्रले अधिकारीसँग पटकपटक कुराकानी गर्न खोज्दा उहाँले मोबाइल काटेर कुरा गर्न चाहनुभएन ।

प्रतिक्रिया दिनुहोस्