कोशीमा सर्वाेच्च आदेशको अवज्ञा- थापालाई विवादास्पद मतसहित विश्वासको मत



विराटनगर । कोशीमा मुख्यमन्त्री बनेका थापाले फेरि सभाध्यक्षकै विवादास्पद मतसहित विश्वासको मत प्राप्त गर्नुभएको छ । ज्येष्ठ सदस्यका रूपमा सभा चलाएका कांग्रेस सांसद इस्राइल मन्सुरीले समेत भोट दिएर बहुमत पु¥याइएको हो । उहाँले आफू भोट हाल्न जाँदा सभामुखको आसनमा सत्तापक्षकै अर्की सांसद गीता तिमिल्सिनालाई राख्नुभएको थियो ।

यो विश्वासको मतलाई प्रतिपक्ष एमालेले अवैधानिक भन्दै अदालत जाने तयारी गरेको छ । सोमबार भएको मतदानमा थापाले ४७ मत पाउनुभएको छ । प्रस्तावको विपक्षमा ३० मत खसेको छ । बहालवाला सभामुखलाई राजीनामा गराएर बहुमतका लागि आवश्यक ४७ सांसदको हस्ताक्षर बुझाएर साउन २१ गते मुख्यमन्त्री नियुक्त भएका थापाले सोमबार विश्वासको मत लिनुभएको हो । संसदीय अंकगणितका उल्झनबाट उम्किन थापाले अनेक चलाखी गर्नुभएको थियो । सभामुखलाई राजीनामा गराएर मुख्यमन्त्री पद लिएका थापाले उपसभामुखले संसद् नचलाउने संकेत बुझेर त्यसपछिका ज्येष्ठ सदस्य गयानन्द मण्डललाई राज्यमन्त्री बनाउनुभएको थियो ।

उपसभामुख सिर्जना दनुवार बिरामी भएर बिदा बसिदिनु र त्यसपछिका ज्येष्ठ सदस्यहरूले छुट्टी बसिदिएपछि अन्नतः कांग्रेसकै इस्राइल मन्सुरीले सभाको अध्यक्षता गर्नुभएको थियो । थापाले मन्सुरीको निर्णायक मत लिएर मुख्यमन्त्रीका लागि विश्वासको मत पाउनुभएको छ । कोशी प्रदेश सभामा ९३ जना सांसद रहेकोमा सोमबारको बैठकमा ७७ जनामात्र उपस्थित भएका थिए ।

उपस्थित सांसदमध्ये मुख्यमन्त्री थापाको पक्षमा ४७ मत प्राप्त भएको छ भने विपक्षमा ३० मत प्राप्त भएको घोषणा गरिएको छ ।
कोशी प्रदेशसभाको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य इस्राइल मन्सुरीले गीता तिमिल्सिनालाई बैठकको अध्यक्षता गराएर मुख्यमन्त्रीलाई विश्वासको मत दिन गएपछि लफडा भएको थियो । मत विभाजन हुँदै गरेको बेला सभामुख परिवर्तन गरी मन्सुरीले विश्वासको मत दिनुभएको हो । मत फिर्ता लिने समय चलिरहेका बेला उहाँले तिम्सिनालाई अध्यक्षता ग्रहण गर्न बोलाउनुभएको थियो । यता मुख्यमन्त्री थापाले असंवैधानिक रूपमा सभाध्यक्षलाई प्रयोग गर्दै विश्वासको मत लिए पनि प्रदेश सभाको औचित्य दर्शाउनका लागि यो निर्णय लिएको प्रतिक्रिया दिनुभएको छ । विश्वासको मत पाएको घोषणापछि मुख्यमन्त्री थापाले भन्नुभयो– ‘प्रदेश सभा चाहिन्छ भनेर नै यो निर्णयमा पुगेको हो । यो निर्णयबिना अर्को विकल्प के छ ? प्रदेशलाई सरकारविहीनता राख्ने हो त ? गणित त्यस्तै थियो ।’

असंवैधानिक काम भएको विषयमा पत्रकारले प्रश्न गर्दा थापाले अब अदालतले निर्णय दिने बताउनुभयो । उहाँले भन्नुभयो– ‘संविधानको र संसद्को कुरामा फेरि पनि उहाँहरू अदालत जानुहुन्छ । सर्वोच्चले व्याख्या गर्ला ।’

यता कोशी प्रदेशमा सभाध्यक्षको भूमिकामा रहेका मन्सुरीले मुख्यमन्त्री उद्धव थापाको पक्षमा मतदान गरेपछि एमालेले त्यसको कानुनी उपचार खोज्ने भएको छ । थापाले सभाध्यक्षको मत प्रयोग गरेर विश्वासको मत लिएपछि एमालेले अदालत जाने तयारीमा रहेको छ । एमाले संसदीय दलका नेता हिक्मत कार्कीले यो सरकार वैधानिक नभएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामी यसको राजनीतिक र कानुनी उपचार खोज्छौँ । गठबन्धनले बारम्बार संविधान विरोधी काम गरिरहेको छ ।’

कुल ९३ सदस्य रहेको कोशी प्रदेशसभामा सत्ता गठबन्धनका दल कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ गरी ४७ सांसद छन् । प्रतिपक्षतर्फ एमालेका उपसभामुखसहित ४० र राप्रपाका ६ गरी ४६ प्रदेश सदस्य छन् । प्रदेशसभामा विश्वासको मत लिँदा बहुमत पाउन ४७ सदस्यको समर्थन चाहिन्छ । उपसभामुख प्रदेशसभा बैठकको अध्यक्षता नगरी बिरामी बिदा लिएर काठमाडौं हिँडेपछि सत्तारूढ गठबन्धनले पुरानै असंवैधानिक कदम दोहो¥याउँदै विश्वासको मत लिएको हो ।

प्रतिक्रिया दिनुहोस्