डेंगीबाट एकको मृत्यु,  महामारीको रुप लिँदै स्क्रब टाइफस



धादिङ। 

धादिङमा  डेंगीका कारण एक जना बृद्धको मृत्यु भएको छ । पेट दुख्ने र बान्ता हुने समस्याले धादिङ अस्पतालमा भर्ना  भएका ज्वामूखी गाउँपालिका वडा नम्बर ७ निवासी ७५ वर्षीया राममायाँ छत्कुलीको डैंगी पुष्टि भएपछि मृत्यु भएको धादिङ अस्पतालका सूचना अधिकारी रामचन्द्र रिजालले जानकारी दिए।

साउन २६ गते भर्ना भएर डेंगी समेतको उपचार गराइरहेका  छत्कुलीको दिसामा रगत देखिएकोले काठमाडौँ  रिफर  गरिएकोमा त्रिभुवन शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । डेंगीका कारण पहिलो पटक एक जनाको मृत्यु भएको हो ।

५० बेडको क्षमता भएको धादिङ अस्पतालमा ९० बेड राखेर डेंगी, स्क्रप टाइफस र अन्य बिरामीको उपचार भइरहेको छ ।

धादिङमा डेंगी महामारी भयावह रुपमा देखिएको छ । नियन्त्रणका लागि भएको सरकारी प्रयास विफल जस्तै भएको छ ।

बिरामीको संख्या घट्नु पर्नेमा हरेक दिन बढिरहेको छ । साउन महिनाको सुरुका दिनमा ३० /४० जना डेंगीका बिरामी आउने  गरेको धादिङ अस्पतालमा अहिले ९० जना संक्रमितहरु सम्म भेटिएका छन्।

साउन ३२ दिन र भदौ १ गतेसम्म गरेर डेंगीबाट ९ सय महिला र ९ सय २५ जना पुरुष सङ्क्रमित भएको धादिङ स्वास्थ्य कार्यालयका सूचना अधिकारी तया छत्कुलीले जानकारी दिए । साउन  महिनाको बिचमा स्क्रब टाइफसका ४१ जना बिरामी पनि आएका छन् । डेंगीसंगै स्क्रब टाइफसले समेत महामारीको रुप लिएको स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

धादिङ अस्पतालमा मात्र नभएर डेंगीका बिरामी निजी  मेडिकलहरुमा समेत आउने गरेको पाइएको छ । स्क्रब टाइफसको भने निजि मेडिकलमा परिक्षण नहुने भएकोले अस्पताल नै आएको बुझिएको छ ।

डेंगीका बिरामीको पहिलो चरणमा भए सामान्य लक्षण देखिने, ज्वरो आउने जिउ दुख्ने कमजोरी महसुस हुने लगायतका लक्षण देखिन्छ । तर धादिङमा भने दोस्रो चरणको डेंगी देखिएको छ । यसलाई डेंगीभाइरस सेरो टाइप टु भनेर चिनिन्छ ।

डेगी पोजेटिभ भएका २५ जनाको रगत परिक्षणका लागि केन्द्रीय प्रयोगशाला पठाइएकोमा २४ जनाको दोश्रोचरणको डेंगी देखिएको धादिङ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रुद्र भण्डारीले जानकारी दिए।

दोस्रो चरणको डेग्ी देखिँदा नाक र गिजाबाट रगत आउने, श्वासप्रश्वासमा समस्या आउने, मुटु र दिमागमा असर पर्ने, सेतो रगतमा कमी हुने, कलेजो सुनिने लगायतका थप लक्षणहरु समेत देखा पर्छ । धादिङमा यस किसिमको बिरामी बढेको र बेडमात्र नभई पर्याप्त स्वास्थ्यकर्मी समेत नहुँदा समस्या आएको बताइएको छ।

धादिङमा महामारीको रुप लिएको डेंगी नियन्त्रणमा स्थानीय सरकारले, सबैभन्दा बढी देखिएको नीलकण्ठ नगरपालिकाले समेत ध्यान दिन सकेको छैन ।

डेंगी भन्दा जटिल मानिएको स्कप टाइफसको समस्या धादिङमा देखिएको र विरामीहरु लगातार आइरहेको धादिङको तथ्यांकमा देखिन्छ ।

स्क्रप टाइफसबाट साउन ४ गते धादिङमा एकजनाको उपचारको क्रममा मृत्युसमेत भइसकेको छ ।

 ज्यानै लिएको स्क्रपटाइफस यो मात्रामा देखिनुलाई पनि जटिल समस्याको रुपमा आउन थालेको धादिङ अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट भण्डारीको भनाइ छ ।

टाउको दुख्ने, शरीरका मांसपेशी दुख्ने, फियो सुनिने, बोसो डल्लो डल्लो बसेरसुनिने, रगत बग्ने, निमोनियाँ हुने र उचिन र समयमा उपचार नपाएमा बिरामीको मृत्यु हुने स्कपटाइफस जटिल समस्याको रुपमा देखिएको हो ।

मुसामा लाग्ने किर्नाले टोकेर ज्वरो आएपछि स्कपटाइफस देखिने स्वास्थ्यकर्मीहरुको भनाइ छ । यसलाई जंगल क्षेत्रमा धेरै लाग्ने गरेको छ ।

डेंगी नियन्त्रण र स्कप टाइफस नियन्त्रणका लागि नागरिकहरुलाई सजग हुनका लागि धादिङ स्वास्थ्य कार्यालय र धादिङ अस्पतालले सचेतना अभियान समेत चलाइरहेको छ।

प्रतिक्रिया दिनुहोस्