मनमोहन अस्पतालमा उत्पन्न विवाद समाधान



भद्रपुर । प्रसूति गराउन आएकी सुत्केरीको अवस्था गम्भीर भएपछि बिर्तामोडको मनमोहन अस्पतालमा उत्पन्न विवाद सहमतिपछि अन्त्य भएको छ ।

जनप्रतिनिधि, अस्पताल प्रशासन, पीडित परिवार, प्रहरी र अधिकारकर्मीबीच भएको छलफलपछि विवाद अन्त्य भएको हो ।

प्रसूति गराउन आएकी बिर्तामोड नगरपालिका–१ की २७ वर्षीया सिर्जना सङ्ग्रौलाको उपचारका क्रममा भएको लापरबाहीका कारण अवस्था गम्भीर भएको थियो ।

डाक्टर एकराज गौतमले अपरेसन गरी बच्चा जन्मिसकेपछि सुत्केरीको अवस्था गम्भीर बनेको होे । मनमोहन अस्पतालमा उनको थप उपचार हुन नसकेपछि बिर्तासिटी अस्पताल लगिएको थियो ।

बिर्तासिटी अस्पतालमा उपचार हुँदै गर्दा सङ्ग्रौलाको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । बच्चाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

उपचार गर्दा सुत्केरीको अवस्था गम्भीर भएपछि उनका आफन्त र मनमोहन अस्पताल प्रशासनबीच विवाद उत्पन्न भएको थियो । विवाद बढ्दै गएर ठूलो भौतिक क्षति हुनसक्ने सम्भावनाका कारण प्रशासनले अस्पतालपरिसरमा सयौं प्रहरी परिचालन गरेको थियो । मङ्गलबार पनि अस्पतालपरिसरमा प्रहरीले सुरक्षा दिएको थियो ।

यसैबीच पीडित परिवार र अस्पताल प्रशासनबीच भएको वार्ता सहमतिमा अन्त्य भएको छ । अस्पताल प्रशासनले पीडित परिवारलाई २० लाख रुपैयाँ राहत स्वरूप र शिशुको शिक्षा तथा स्वास्थ्यको लागि १५ लाख रुपैयाँ बैङ्कमा जम्मा गर्ने, उपचारका क्रममा लागेको खर्च मनमोहन अस्पतालले व्यहोर्नेलगायतको सहमति भएको बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले जानकारी दिनुभयो । सहमतिसँगै मनमोहनमा उत्पन्न तनाव अन्त्य भएको छ ।

प्रतिक्रिया दिनुहोस्