विद्यालयको अनुमति विना दरबन्दी खाली गरेर शिक्षकको सरुवा 



धादिङ। 

मौजुदा शिक्षा ऐन विपरीत सिद्धलेक गाउँपालिकामा शिक्षकको सरुवा गरेपछि शिक्षा क्षेत्र अस्तव्यस्त भएको आरोप लागेको छ ।

एउटा पनि दरबन्दी नभएको विद्यालयबाट दरबन्दी शून्य हुनेगरि शिक्षक सरुवा नगर्न विद्यालय व्यवस्थापन समिति र विद्यालयले गाउँपालिकालाई लिखित आग्रह गरे पनि कानुन विपरीत शिक्षकको सरुवा गरिएपछि सिद्धलेक गाउँपालिकामा शैक्षिक सत्रको बिचमा विद्यालयको पढाइ समेत प्रभावित भएको सुन्दरी माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिका थपलियाले बताए ।

हाल मौजुदा कानुन अनुसार विद्यालय व्यवस्थापन समिति, सम्बन्धित शिक्षकको अनुमति बेगर शिक्षक सरुवा गर्न पाइदैन । तर विद्यालयमा शिक्षक दरबन्दी नै नहुनेसरि शिक्षक सरुवा नगर्न विद्यालयको तर्फबाट आग्रह गरिए पनि सरुवा गरिएकोले पठन पाठन नै प्रभावित भएको थपलियाको भनाइ छ ।

सुन्दरी माविमा अङ्ग्रेजी विषयको शिक्षक माग गरिएको तीन महिना भइसक्दा पनि अझै शिक्षक नियुक्ति नहुँदा विद्यार्थीहरुले अङ्ग्रेजी विषय नपढीकन नै परीक्षा दिन बाध्य भएका छन् ।  यस विषयमा पालिकाको शिक्षा शाखा, पालका अध्यक्ष परशुराम खतिवडा, उपाध्यक्ष सबिता अर्याललाई गुनासो गर्दा समेत बेवास्ता गरेको व्यवस्थापन समितिका अध्यक्ष थपलियाको गुनासो छ ।

शिक्षक हेरफेर गर्नेपर्ने अवस्था आए शिक्षकको सरुवा प्रत्येक शैक्षिक सत्रको पहिलो महिना मात्र गर्न पाइने सिद्दलेक गाउँपालिकाको शिक्षा नियमावली २०७४ मा उल्लेख छ । तर पठनपाठन सुरु भएको चार महिनापछि गराइएको शिक्षक हेरफेरको विषयले पालिकाभित्र तरङ्ग छाएको छ । नयाँ शिक्षक पदस्थापन भएर आएको २ वर्षसम्म शिक्षकलाई सरुवा गर्न नपाइने प्रावधान भएपनि बलदेवी माविकै प्राथमिक राहत शिक्षक पवित्रा सिलवाललाई सरुवा गरिएको छ।

सिलवालले वैशाख महिनामा सरुवा सहमति मागेर सुन्दरी माविमा जाने गरी दुवै विद्यालयको सहमति भएपनि ३ महिनामा राहत सरुवा गर्न मिल्दैन भन्दै सहमति नदिएको गाउँपालिकाको शिक्षा शाखाले अहिले मनकामना आविमा सरुवाको पत्र थमाइदिएको छ । मनकामना आविमा पठनपाठन गराइरहेका पवित्रा दर्लामीलाई बलदेवी आवि लगिएको छ ।

शिक्षक सरुवाले कुनै विद्यालयको दरबन्दी नै खाली भएको छ भने कुनै विद्यालयमा एउटै विषयका ६ जनासम्म शिक्षक थुपारिएको छ ।
पन्चमुखी माध्यमिक विद्यालयमा गणित विषयको राहत दरबन्दी नै खाली गराएर सिद्धेश्वर  माध्यमिक विद्यालयमा गणित विषयको मात्रै ६ जना पु¥याइएको छ । पन्चमुखीमा गणित पढाउने एउटै शिक्षक बाँकी नरहँदा सिद्धेश्वरमा गणितका शिक्षकले अन्य विषय पढाउनुपर्ने अवस्था आएको छ । यसले पनि राजनीतिक प्रतिसोधकै कारण शिक्षक हेरफेर गरिएको पुष्टि गराएको प्रतिपक्षीहरुले बताएका छन् ।

हेरफेर गराइएका १० वटा विद्यालयका १३ जना शिक्षकमध्ये ६ वटा विद्यालयका ७ जना शिक्षकले असहमति जनाउदै विद्यालय, सिद्धलेक गाउँपालिका कार्यालय, शिक्षा विकास तथा समन्वय इकाइमा निवेदन समेत दिएका छन् ।
जलेश्वरी माध्यमिक विद्यालयबाट गोल्मरानी आधारभूत विद्यालयमा सरुवा गराइएकी शिक्षिका आरतीदेवी रेग्मीले सरुवाप्रति असहमति रहेको भन्दै विद्यालयमा निवेदन दिएकी छन् ।

सिद्धलेक गाउँपालिकाको शिक्षा नियमावली २०७४ अनुसार एक पटक सरुवा भएको शिक्षकलाई त्यस विद्यालयमा दुई वर्ष सेवा पूरा नगरी सरुवा गर्न पाइने छैन । तर, बलदेवी माविका प्राथमिक स्थायी शिक्षक रामहरि खनाललाई गत वैशाख महिनामा जलेश्वरी मावि पठाएको चिट्ठी छ, फेरि अमर आदर्श मावि सरुवाको चिट्ठी थमाइदिएको छ । खनाल नेपाल राष्ट्रिय शिक्षक संगठन सिद्धलेकका उपाध्यक्ष हुन् ।

त्यस्तै असहमति जनाउने विद्यालयहरुमा सिद्दलेक–६ को समिटार आवि, गोल्मरानी आवि, सुन्दरी मावि, सिद्दलेक–४ को जलेश्वरी मावि, सिद्दलेक–३ को पन्चमुखी मावि र आमरआदर्श मावि रहेका छन् ।

समिटार आविमा चार महिनाअघि ९२०७९ चैत २८ गते  नियुक्त भएका प्राथमिक स्थायी शिक्षक प्रकाश मल्ललाई नलाङ पात्ले माविमा पदस्थापन गराइएको छ ।

 शिक्षक  सरुवा लगायतको सिद्धलेकको शिक्षाको विषयलाई समाधान गर्न कानुन विपरीत भएका क्रियाकलाप रोक्न नेकपा एमालेले सिद्धलेक गाउँपालिका कार्यालय, शिक्षा विकास तथा समन्वय इकाइ धादिङमा विद्यालयको असहमति सहितको ज्ञापनपत्र बुझाएको नेकपा एमाले सिद्धलेकका सचिव रामहरि बराकोटीले जानकारी दिए ।

शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि २०७६ अनुसार दरबन्दी मिलान गर्दा विद्यालयमा न्यूनतम दरबन्दी सुनिश्चित गरी नपुग भएमा गर्नुपर्ने र बढी भएमा कट्टा गर्नुपर्ने अवस्था छ । तर यसकोउल्लंघन भएको शिक्षा क्षेत्र अस्तव्यस्त भएकोले सुधार गर्नु पर्ने माग ज्ञापनपत्रमा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्