आँखा पाक्ने रोगबाट शिक्षक र विद्यार्थी प्रभावित : विद्यालयको पठनपाठन बन्द



रामेछाप । आँखा पाक्ने रोगबाट अन्यको दाँजोमा शिक्षक र विद्यार्थी बढी प्रभावित भएका छन् ।

उक्त रोगको संक्रमण शिक्षक र विद्यार्थीमा फैलिएपछि रामेछापका विद्यालयहरूको आन्तरिक प्रशासनको निर्णयबाट केही दिनलाई पठनपाठन बन्द गरिएको विद्यालय प्रशासन निकायले न्यूज अफ नेपाललाई जानकारी दिएका छन् ।

यो समाचार तयार पार्दासम्म प्रशासनिक निर्णय गरि ५ वटा विद्यालयको पठनपाठन बन्द गरिएको छ । मन्थली नगरपालिकाका महाशाखा प्रमुख हेमन्त बुढाथोकीका अनुसार ४ निजी र १ सामुदायिक विद्यालयले केही दिनका लागि पठनपाठन बन्द गरेका हुन् ।

प्यासन रामेछापका अध्यक्ष केशव तिमिल्सिनाका अनुसार यो रोगबाट अति प्रभावित मन्थली नगरपालिका–१ मा सञ्चालमा रहेको लिटिल स्टार इङ्लिस स्कुल, तामाकोशी इङ्लिस बोर्डिङ स्कुल, केब्स स्कुल र मन्थली नगरपालिका–७ मा सञ्चालित नर्मदेश्वर इङ्लिस बोर्डिङ स्कुलको तीन दिनका लागि पठनपाठन बन्द गरिएको हो ।

मन्थली नगरपालिका–१ मा रहेको मन्थली मावि मन्थलीमा पनि एक साताका लागि पठनपाठन बन्द गरिएको मन्थली माविका प्रधानाध्यापक टकप्रसाद दाहालले जानकारी दिनुभयो ।

सम्बन्धित विद्यालयले दिएको जानकारी अनुसार मन्थली माविका १ हजार ३ सयमध्ये ४ सयभन्दा धेरै छात्रछात्राहरूमा आँखा पाक्ने रोग संक्रमण फैलिएको छ भने यस रोगबाट ९ जना शिक्षक सक्रमण भएका छन् ।

त्यस्तै तामाकोसी आवासीय बोर्डिङ स्कुलमा अध्ययन गर्ने २ सय ५० जनाभन्दा धेरै, लिटिल स्टार बोर्डिङ १० शिक्षक, २ सयभन्दा बढी विद्यार्थी र केब्स स्कुलका करिब २ सय ५० शिक्षक र विद्यार्थीहरू संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्