‘शिक्षाको गुणस्तर खस्कनुमा दोषी को ?’

जिल्ला समन्वय समितिलाई ९२ विद्यालयका ९६ विद्यार्थीको प्रश्न



काभ्रे। 

काभ्रेपलाञ्चोक जिल्लाको शैक्षिक गुणस्तर सुधार्ने उद्देश्यले जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले ‘विद्यार्थीका प्रश्न जिल्ला समन्वय समितिलाई’ कार्यक्रम आयोजना गरी समग्र शिक्षाको अवस्थाका बारेमा विद्यार्थीका प्रश्नहरु सङ्कलन गरेको छ ।

कार्यक्रममा ९२ विद्यालयका ९६ जना विद्यार्थीले सामुदायिक र निजी विद्यालयका समस्या, शैक्षिक गुणस्तर, विद्यार्थी, अभिभावक र शिक्षकहरुले खेल्ने भूमिकाका बारेमा जिज्ञासा राखेका थिए ।

विद्यार्थीहरुले उठाएका जिज्ञासाका सन्दर्भमा सरोकारवाला निकायले उत्तर दिएका थिए । ‘जिल्लाको समग्र शिक्षाको अवस्थाका बारेमा विद्यार्थीको तहबाट बुझेका विषयहरु जानकारी लिने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको हो’–जिल्ला समन्वय समिति प्रमुख दीपककुमार गौतमले भने–‘विद्यार्थीहरुले उठाएका तमाम विषयहरुलाई तीन तहकै सरकारसँगको समन्वयमा कार्यान्वयन गरिनेछ ।’
केही विषय प्रशासनको तहबाट र केही विषय वडा स्तरबाट नै समाधान गर्ने खालका छन् भने केही विषय विद्यालय आफैले पनि सुधार गर्नु पर्ने अवस्थाका रहेको समन्वय प्रमुख गौतमले बताए ।

कार्यक्रममा जिज्ञासा राख्दै मण्डनदेउपुर नगरपालिका स्थित इन्द्रावती माविको कक्षा ९ मा अध्ययनरत छात्र निश्चल भण्डारीले शिक्षकहरुले कानुन सबैका लागि बराबरी भनेर पढाएको गलत हो कि ? विद्यालयको माथिल्लो भागबाट सयौ टिपरहरु हर्न बजाउँदै जाने र तल्लो भागबाट विद्यालयमा ढुंगा, माटो, धुलोका कारण धुमिल वातावरणमा पढ्नु पर्ने पीडादायी अवस्थाका बारेमा समन्वय समितिको भूमिका के हुन्छ ? भन्ने जिज्ञासा राखे । इन्द्रावती खोलाको अवैधानिक रुपमा भएको दोहनले सिद्धान्त र व्यवहार फरक परेको हो कि ? भन्ने सन्देश गएको भण्डारीले बताए । कानुन कसलाई लाग्छ ? मान्नु पर्ने कसले ? यस्ता प्रश्नहरुको उत्तरका लागि समन्वय समितिलाई सहिजकरण गरिदिन उनले आग्रह गरे ।

विद्यार्थीहरुले संविधानले प्रदत्त गरेको अधिकार प्रयोग गर्न नपाएको, निःशुल्क शिक्षाको नारा संविधानमा लगाए पनि ब्यवहारमा नभएको, विद्यालयमा आन्तरिक र बाह्य कारण असुरक्षा बढिरहेको, प्रविधीमैत्री वातावरण नबनेको गुनासो गरेका थिए । विषयगत शिक्षक र विद्यालयमा आवश्यक दरबन्दी नहुँदा विज्ञान, गणित र अंग्रेजी पढाउने शिक्षक नभएकाले शैक्षिक गुणस्तर खस्कँदै गएको, कम्प्युटर शिक्षक नहुँदा प्रयोगात्मक कक्षाहरु लिन नपाएको, प्रयोगशाला नभएको, भौतिक संरचना भए पनि व्यवस्थित हुन नसकेको, छात्रावास नहुँदा दैनिक ७ घण्टाको समय बाटोमा नै खर्च हुने गरेको, विद्यालयमा दिवा खाजा नभएको, सिपमूलक शिक्षा प्रदान हुन नसकेको गुनासो गरेका थिए ।

सरकारले प्राविधिक शिक्षालाई नाम मात्रकै बनाएकाले आकर्षण नभएको, शिक्षा प्राप्ति गरे पनि समयमा नै परीक्षाफल प्रकाशन नगरेका कारण विद्यार्थीमा नैराश्य सिर्जना गराएको भन्दै सिद्धान्त एकातिर व्यवहार अर्कोतिर गराएको गुनासो गरेका थिए ।

ग्रामिण भेगका विद्यालय र क्याम्पस खाली हुँदै गएकाले विद्यार्थीलाई गाउँबाट शहर र शहरबाट विदेश जान रोक्नु पर्ने प्रभा माविका विद्यार्थी विमर्श पन्तले बताए । गरिब विद्यार्थीहरु अहिले पनि विद्यालयबाट वञ्चित भइरहेको बताउँदै गरिब र धनीहरुबीचको खाडल हटाउन शिक्षालाई पूर्ण रुपमा निःशुल्क बनाईनु पर्ने कृष्णगोपाल मावि बेथान्चोकमा अध्ययरनत छात्रा रस्मिता विश्वकर्माले बताइन् ।

छात्राहरुले सरकारले छात्राहरुका लागि स्यानेटरी प्याडको ब्यवस्थापन गरेको भए पनि त्यसको सदुपयोग हुन नसकेको, खानेपानीको राम्रो प्रवन्ध नहुँदा झाडापखालाजन्य रोगहरु फैलिएको, विद्यालयमा जंकफुडको प्रयोग र विद्यालय हातावरपर धुम्रपान र मद्यपानको खुल्ला विक्री भएको, शिक्षक नै नहुँदासम्म पालिकाहरु मूकदर्शक भएको जस्ता गुनासो गरेका थिए ।

एसईईको परीक्षा केन्द्रमा लापरवाही गरेको, एउटा पालिकाबाट अर्को पालिकासम्म डेरा लिएर गएर बस्नु परेको, केन्द्रमा लार्पवाही हुने गरेको, दोहोरो रजिस्ट्रेशन भरेर विद्यार्थीहरुलाई मानसिक तनाव दिएको, विद्यालय हाता भित्रै शिक्षकहरुबाट यौन दुर्व्यवहार घटनाहरु हुन थालेको जस्ता प्रश्नहरु विद्यार्थीले उठाएका थिए ।

‘नेपालमा अध्ययन गरेर नेपालमै केही गर्न सक्ने शिक्षा कसरी प्रदान गर्न सकिन्छ ?’– चक्रेश्वर मावि बेथान्चोकमा अध्ययनरत विद्यार्थी आयुषा ढकालले भनिन्–‘शिक्षक विना अध्ययन गरेर सामुदायिक विद्यालयका विद्यार्थीहरुबाट कस्तो परिणाम आउँछ ?’

कार्यक्रममा समन्वय समिति उपप्रमुख रिमबहादुर तामाङ, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, समन्वय अधिकारी शान्तिराज प्रसाईँ, शिक्षा समन्वय इकाईका प्रमुख गोकर्णध्वज कार्की, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोत्तम सेढाई, पत्रकार महासंघ काभ्रका अध्यक्ष बद्रीराज तिमल्सिना, पेशागत महासंघका श्याम पाण्डेय, शिक्षक संगठनका अध्यक्ष रामचन्द्र थापा, शिक्षक संघका अध्यक्ष शम्भु घिमिरे, शिक्षक संगठन क्रान्तिकारीका अध्यक्ष चेत लामा, प्याब्सनका भिमसेन केसी, अभिभावक संघका श्रीकृष्ण थापा, पत्रकार महासंघका पूर्व अध्यक्ष ईश्वरी ओझा, विद्यार्थी नेताहरु अनेरास्ववियुका अध्यक्ष मिलन गौतम, नेविसंघका सभापति अञ्जन खतिवडा लगायतले विद्यार्थीको जिज्ञासाको जवाफ दिएका थिए ।

कार्यक्रमको उद्घाटन बागमती प्रदेशका श्रम तथा यातायात रोजगार मन्त्री लक्ष्मण लम्सालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्