काभ्रेका शरदलाई जिल्लामा भव्य स्वागत 

एक करोड पुरस्कार राशिको ‘मेरो भ्वाईस युनिभर्स’



काभ्रेपलाञ्चोक। 

गायन विधाका प्रतिभाहरू समेटिएको रियालिटी सो ‘मेरो भ्वाईस युनिभर्स’को प्रतिस्पर्धामा  काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका २ स्थित कुशादेवी २ का युवा शरद हुमागाईँ फाइनल चरणमा प्रवेश गरेका छन् । अन्तिम प्रतिस्पर्धीका रुपमा छनौट भएका शरदलाई जिल्लावासीहरूले भव्य स्वागत गरिरहेका छन् ।

‘जिल्लावासीहरूले निरन्तर १२ औँ  चरणदेखि अन्तिम चरणमा ल्याउन अथक मेहनत गर्नुभएको छ’–शरद हुमागाईँले भने –‘अन्तिम चरणमा पाँच जना मध्ये सबै भन्दा कम उमेरको म नै हुँ । विगतमा जस्तै यो अन्तिम पटक मेरा लागि मन र मत दिएर सहयोग गर्न अनुरोध गर्दछु ।’ उनी शुक्रवार दिउँसो देखि सोमबार बिहानसम्म जिल्लामा रहनेछन् । जिल्लामा रहँदा उनलाई जिल्ला समन्वय समिति, नागरिक समाज, राजनीतिक दल, स्थानीय तह, सांसदहरु तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले अग्रिम बधाई तथा शुभकामना साथै मतदान गर्न अपिल गरिरहेका छन् । यो प्रतियोगितामा शरद जिल्लाबाट मात्रै नभई बागमती प्रदेशका एक्ला प्रतिस्पर्धी हुन् ।

 

एसइई दिनु केही  महिना अघि शरदका बाबु धुर्व्रको दुर्घटनामा निधन भयो । बुबाको निधन पछि शरदलाई सङ्गीतको तार छिने झैँ भयो । ‘बुबा बाँचिरहनु भएको भए सङ्गीतको औपचारिक कक्षा लिएर अघि बढ्छु भन्ने लागेको थियो उहाँको निधनले सपना सबै उडाई दियो’–शरदले भने–‘सानै देखि सङ्गीत गुनगुनाई रहँदा बुबाले हौसला र साथ दिइरहनु हुन्थ्यो । त्यही साथ र प्रेरणाले मलाई यो स्थानमा ल्याएको छ ।’ बुबा धर्तीमा नरहे पनि सङ्गीतको माध्यमबाट उहाँसँग झन् नजिकै भइरहेको आभास मिलेको शरदले बताए ।

शरदकी आमा विनीता हुमागाईँले सानैदेखि सङ्गीत प्रति रुचि राखेको भए पनि कतै सङ्गीत सिक्न नपाएको छोरा शरदको प्रतिस्पर्धाले हौसला मिलेको बताइन् । बाबु नभए पनि उसको सपनालाई साकार बनाउन रातदिन मेहनत गरेर विद्यालय शिक्षा दिइरहेको उनले  बताइन् ।

के हो मेरो भ्वाईस युनिभर्स ?

ईन्टरनेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाद्वारा आयोजित रियालिटी शोका लागि  ५२ देशका प्रतिस्पर्धीहरूले सहभागिता जनाएका थिए । त्यसमध्येका २० वर्षीय  शरद काभ्रेको पनौती स्थित कुशादेवीमा जन्मिएर सोही स्थानमा रहेको लिलावती नेशनल एकेडेमीबाट औपचारिक शिक्षा प्रारम्भ गरेका थिए । कक्षा १० अध्ययन गर्दा गर्दै बाबु धुर्वप्रसाद हुमागाईँको दुर्घटनामा निधन भएकाले उनको शिक्षाका लागि आमा विनीता र दुई दिदी बहिनीको संरक्षणबाट भएको थियो ।

 निस्ट कलेज बनेपामा विसिए पाचौ सेमेस्टर अध्ययन गरिरहेका शरद विद्यालय र कलेजका उत्कृष्ट विद्यार्थी हुन् । गीतसङ्गीतमा अघि बढ्ने प्रेरणा भए पनि गीत सङ्गीत सम्बन्धी कक्षाहरु कहिल्यै लिने अवसर पाएका थिएनन् । ईन्टरनेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाद्वारा आयोजित मेरो भ्वाईस युनिभर्स कार्यक्रममा लागि शरद छनौट भएका थिए । निरन्तरको रियाजबाट शरद छनौट हुँदा हुँदै प्रतिस्पर्धाका अन्तिम प्रतिस्पर्धी भित्र पर्न सफल भएका छन् ।

बाल्यकालका अनुभव सम्झँदै शरदले भने–‘मसँग साधन थिएन । गुरु कोही थिएनन् । सिक्ने कक्षा पनि थिएन । तर पनि मेरो स्वरलाई साथी, विद्यालय र समुदायले प्रस्फुटन गराउँदै लगेका कारण यो प्रतिस्पर्धामा सहभागी हुने अवसर जुट्यो ।’ एसइई पछिका दुई वर्ष अन्धकारमा बितेको सम्झँदै शरदले भने–‘जतिसुकै कठिन परिस्थितिमा पनि सङ्गीतलाई छाड्न सकिन । सङ्गीतमा निराशालाई उत्साहमा बदल्ने तागत रहेछ । त्यही तागतले मलाई निरन्तर प्रेरित गरिरह्यो ।’

निष्ट कलेज बनेपामा आईटी विषयको अध्ययन गरिरहँदा आईटीको माध्यमबाट युनिभर्समा जोडिने अवसरलाई सदुपयोग गरेको उनले बताए । देश तथा परदेशमा रहेका प्रतिभाहरुलाई एउटै मञ्चमा समेट्नका साथै नेपाली भाषा, कला र संस्कृतिलाई विश्व सामु चिनाउने तथा विश्वभर छरिएर रहेका नेपालीहरूलाई समेट्ने गरी आयोजना गरिएको कार्यक्रम नेपाल टेलिभिजनबाट हरेक बुधवार र बिहीबार प्रसारण हुँदै आएको छ ।

रियालिटी शोको अन्तिम घोषणा तथा प्रतिस्पर्धा भाद्र २ गते शनिवार हुँदैछ । पुरस्कार राशि नेपालमा सञ्चालित सो मध्येकै सर्वाधिक हो । प्रतियोगितामा प्रथम पुरस्कार १ करोड, द्वितीय पुरस्कार ३० लाख र तृतीय पुरस्कार २० लाख नेपाली रुपैयाँ रहेको छ । इन्ट्रा नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाले आयोजना गरेको विश्वकै सबैभन्दा ठुलो धनराशी रहेको रियालिटी सो ‘मेरो भ्वाइस युनिभर्स’को निर्णायकमा दीप श्रेष्ठसँगै पुष्पन प्रधान, शिव परियार, संगीतकार सुरेश अधिकारी, गायिकाद्वय   अन्जु पन्त र सुजता बर्मा  रहेका छन्  । कार्यक्रमलाई हास्य कलाकार सन्दीप क्षेत्रीले रीमा विश्वकर्मासँग मिलेर होस्ट गरेका छन् ।

यसरी गर्न सकिन्छ शरदलाई भोट

शरदलाई मतदान मार्फत उपाधि जिताउन ‘MyIntra App’ डाउनलोड गरेर वा तलको लिंकमा गएर क्लिक गरेर भोट गर्न सकिन्छ । https://merovoice.myintraapp.com  कुनै पनि उपलब्ध माध्यमहरु मार्फत शरदलाई भोट गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्