अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सरसफाइ अभियान



दोलखा।

२४ औं  अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सदरमुकाम चरिकोटबाट जिल्ला भित्र तथा जिल्ला बाहिर विभिन्न ठाँउमा चल्ने सार्वजनिक सवारी साधनहरुमा सरसफाइ सम्बन्धी नारा लेखिएको स्टिकर टाँसिएको छ ।

जिल्ला युवा समिति दोलखाको सौजन्यमा ती स्टिकरहरु टाँसिएका हुन् । बजार, सडक तथा बस्तीहरू सफा राख्न सार्वजनिक सवारी साधनबाट फालिने फोहरको व्यवस्थापन समेत चुनौतीपूर्ण रहेकोले त्यस्ता सवारी साधनहरुमा चेतना मूलक स्टिकर टाँसिएको जिल्ला युवा समिति दोलखाका अध्यक्ष भरत श्रेष्ठले बताए।

चरिकोट बजारबाट सुरु गरिएको चेतनामूलक सरसफाइ अभियान जिल्लाको अन्य बजार, बस्ती  तथा पर्यटकीय स्थलहरुमा समेत विस्तार गरिने अध्यक्ष श्रेष्ठको भनाई छ । अभियानमा सहभागी अनेरास्ववियुका केन्द्रीय सदस्य राजकुमार ढुङ्गेलले केही हप्ताबाट जारी सरसफाइ अभियानले स्वच्छ वातावरण तथा सफा सडक, वस्ति र बजार निर्माणमा सहयोग पुग्ने बताए ।

अभियानमा नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मी, युवा, विद्यार्थी, व्यवसायी, जनप्रतिनिधि लगायतका सहभागिता रहेको थियो । चेतनामूलक सरसफाइ अभियानमा भीमेश्वर नगरपालिकाको पूर्ण साथ र सहयोग रहेको र यसलाई भीमेश्वर नगरका सबै वडा र जिल्ला भरीनै विस्तार गर्नु आवश्यक रहेको वडा नम्बर ६ का वडा अध्यक्ष नविन लामाले बताए ।

-चिरञ्जीवी मास्के

प्रतिक्रिया दिनुहोस्