सेनालाई अझै मजबुत बनाउनुपर्ने पाँच कारण



आजकल एउटा गम्भीर विषयमा विचार–विमर्श भैरहेको छ– नेपाली सेनाको के काम छ र किन सेना पाल्नुपर्ने देशले ? यो सुन्दा मलाई एउटा मृगौला बेचौँ–बेचौँ लाग्छ । एउटैले काम चल्छ, किन राख्ने दुईवटा ? अलिकति पैसा त आउँछ । एउटा आँखा नि बेचौँ–बेचौँ लाग्छ । एउटैले काम चल्छ, किन राख्ने दुईवटा ? अलिकति पैसा त आउँछ । अझ पैसाकै विज्ञले भनेपछि पैसाको पछि किन नलाग्ने ? राज्य के हो र ? पैसा पो ठूलो । जनता बेचेर, देशै बेचेर पैसा कमाउको धन्दामा लागेका अपराधी नेताहरुका लागि त यो सेना घटाएर पैसा कमाउने वा बचाउने उपाय सामान्य र मान्य पनि हुन्छ । राज्यको सबैभन्दा हानिकारक क्षेत्रमा गएको सम्पत्ति भनेको भ्रष्टाचारमा गएको सम्पत्ति हो । तर नेताको दिमागमा भ्रष्टाचार नियन्त्रणतिर भन्दा सेना घटाउने कुरा पहिला आउँछ । देशका प्रायः सबै पालिकाहरुले मठमन्दिर, गुम्बा, चर्च, मस्जिद बनाउन प्रत्येक साल बजेट विनियोजन गर्छन् । अर्बौं जान्छ त्यसमा, जुन अनुत्पादक क्षेत्र हो । यस्ता धार्मिक क्षेत्रमा पनि राज्यले हैन, आ–आफ्नो समाजले स्वस्फुर्त गोगदानबाट विकास निर्माण गर्ने हो । त्यस्तै गरी राज्यको सम्पत्ति स्वाहा पार्ने गरी अर्बौंका विलासिताका सामानहरु आयात भइरहँदा त्यसलाई रोक्ने कुरो पनि प्राथमिकतामा पर्देन नेताहरुको । सेना कटौती गरेर पैसा बचाउनेतिर ध्यान जान्छ ।

कुनै पनि राज्यको लागि सैन्यशक्ति सामान्य कुरा होइन । सैन्यशक्तिविना स्थापना भएका देश शायदै होलान् संसारमा । अझ नेपालजस्तो सधैँ अतिक्रमणको जोखिममा रहेको सानो र भूपरिवेष्टित राज्यको लागि सशक्त सेनाको सधैँ आवश्यकता हुन्छ । नेपाली सेना अझै बजबुत बनाउनुपर्ने पाँच महत्वपूर्ण कारणहरु यस प्रकार छन् ः

१. नेपाल राज्य र पूर्वीय दर्शन : नेपाल भन्ने देश पूर्वीय दर्शनले सिंचित देवभूमि हो, जहाँ शास्त्र र सस्त्र एक सिक्काका दुई पाटा हुन् । सेना भन्नासाथ राज्यको अभिन्न अंग हो भन्ने कुरा हाम्रा सबै शास्त्रहरुमा उल्लेख छ र हाम्रो राज्य सञ्चालन प्रणाली पूर्वीय दर्शनमा आधारित छ ।

२. नेपाल राज्यको निर्माण र नेपाली सेनाको भूमिका : बाइसी–चौबीसी राज्यहरु एकीकरण गरेर आधुनिक विशाल नेपाल निर्माण गर्ने क्रममा अन्य राज्यको भन्दा गोरखा राज्यको सेना शक्तिशाली भएकैले पृथ्वीनारायण शाहको नेतृत्वमा आजको नेपाल राज्य निर्माण सम्भब भएको हो । बहादुर शाह, भीमसेन थापा आदिले सेनाकै बलमा नेपाल एकीकरणलाई पूर्णता दिए । सशक्त सेना नभएको भए यो देशको निर्माण हुने थिएन, भए पनि अस्तित्व रहने थिएन । त्यसकारण, जसको बलमा यो राज्य निर्माण भयो उसैको औचित्य नकार्नु वीर नेपाली सेनाको अपमान हो, मूर्खता हो ।

३. नेपालीको परिचयको पर्याय : दुई शताब्दीसम्म नेपाली, गोर्खाली र वीरता संसारभरि फैलिएको पर्यायवाची शब्दहरुजस्तै मानिएको हो, आज जे–जे भए पनि । गोर्खाली वीर गाथाको स्वाद आज पनि हामी सबैलाई उत्तिकै मीठो लाग्छ । हिटलरको उक्तिमा बुरुक्क र फुरुक्क हुन्छौँ । आज पनि भारतीय र बृटिस गोर्खाले देखाएका पराक्रममा पाइने वाहवाही आफ्नै ठान्छौँ गर्वले हामी । यो ऐतिहासिक र वर्तमान पराक्रम अनि वीरताको लिगेसीलाई कायम राख्न त्यत्तिकै जरुरी छ जति हाम्रो परिचय जोगाउन । युद्धमा मात्र नभएर विभिन्न खेलकुदमार्फत पनि नेपालीको पराक्रम कौशल देखाई देशको इज्जत बढाउन सकिने तथ्य आज विश्व खेलजगत्को उच्च र सम्मानित बजारले देखाउँछ । सेनाको नेतृत्व र रणनीतिले अनि राज्यको लगानीले विश्व विजयको नतिजा दिन सक्छ, नेपाली सेनालाई खेल जगत्मा उत्साहित गराउँदा । युद्ध जित्ने साधन–सूत्रको रुपमा मात्र हेर्न जरुरी छैन सेनालाई ।

४. नेपालप्रति छिमेकीको रबैया : एउटा विश्वास गरिहाल्न नसकिने मित्र छ हाम्रो । काखैमा लिएर मुइँ खाने नीति छ उसको । अंग्रेजकै पालामा तीनपटक कोशिश भएको हो नेपाल सिध्याउने । नेपाली सेना नभएको भए त उति बैलै उतै हुने थियौँ हामी । उसको सेनाकै शक्तिको भरमा कैयौँ साना राज्यहरुमाथि बल प्रयोग गरेर आजको विशाल मुलुक बनेको हो ऊ । नेपालप्रतिको उसको दृष्टिकोण सिक्किमभन्दा फरक छैन । राजा वीरेन्द्रले सन् १९८६ मा नेपाललाई शान्तिक्षेत्र घोषित गरियोस् भन्ने प्रस्ताव संयुक्त राष्ट्रसंघमा पेस गर्दा छिमेकी मुलुकले किन भाँजो हाल्यो ? शान्तिक्षेत्र घोषित गरिएको भए त त्यति बेलादेखि नै नेपाली सेना घटाउँदै लगिन्थ्यो र आज स्वीट्जरल्यान्डले जस्तो सामुदायिक प्रहरीहरुमात्र राखिन्थ्यो होला नि ? नेपाल शान्तिक्षेत्र घोषित भयो भने अतिक्रमण र आक्रमणको लागि नैतिक संकट पर्नेछ भनेर नै हैन नेपाललाई शान्तिक्षेत्र घोषित गर्न नदिएको हाम्रो प्रिय छिमेकीले ? यो कुरो बुझ्नुपर्दैन हाम्रा नेताले ? यसमा पनि कुतर्क भैरहेको छ विद्वान्हरुबाट– उसो भए छिमेकीले आक्रमण गरिहाल्यो भने नेपाली सेनाले देश जोगाउन सक्छ त ? सक्दैन । तर कमिलाले टोक्छ भन्ने जानकारी भयो भने कमिलाको ताँती छलेरै हिँड्छ हात्ती । माओवादी सेना जम्मा ५–६ हजार हैन, नेपालमा द्वन्द्व चल्दा ? झन्डै २ लाख आर्मी–पुलिसलाई आच्छु–आच्छु पारेको हैन ? नेपाली आर्मीमा ५० हजार खतरनाक कमाण्डो छ, एक लाख सशक्त आर्मी छ, अत्याधुनिक हतियारसहित । अर्को एक लाख सशस्त्र प्रहरी बल छ भनेपछि कसैले पनि आँखा चिम्लिएर नरसंहारमा उत्रिँदैन । युक्रेन कसरी टिकिरहेको छ रसियाजस्तो महाशक्तिका सामु, एक वर्षभन्दा बढी समयसम्म ? त्यस कारण मर्नुभन्दा अगाडि नै खुट्टा नतान नेता हो ।

५. संकटमोचक हुन सक्छ नेपाली सेना ः नेपाल मानव सृजित तथा प्राकृतिक दुवै खाले विपत्तिहरुको सन्निकट छ । भौगोलिकरुपमा सानो भए पनि नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक मुलुक हो । राष्ट्रिय एकताको सूत्र राजसंस्थाको खारेजीसँगै अनि अधिकार सम्पन्न प्रादेशिक संरचना बनेसँगै जातीय भाषिक र धार्मिक पहिचान अनि अग्राधिकारको नाममा द्वन्द्वहरु देखिन थालिसकेका छन् । यस्ता अराजक गतिविधिहरु बढ्दै जाँदा आजका सैनिकविरोधी छुचुन्द्रे नेताका थुतुनाले कुनै काम गर्दैन । सैन्यशक्ति नै चाहिन्छ । अराजक वितण्डाहरु साम्य पार्न आफ्नो देशको शक्तिले नसके मित्रदेशको सहयोगसमेत लिने गरेका उदाहरण छन् । नेपाली सेनाले संयुक्त राष्ट्रसंघ अन्तर्गत विभिन्न देशहरुमा गएर यस्तै अशान्ति र अराजकताहरु शान्त पार्न महत्वपूर्ण भूमिका पनि खेल्दै आएको छ । प्राकृतिक विपद् व्यवस्थापनमा पनि सबैभन्दा बढी भूमिका नेपाली सेनाले खेली आएको छ । गत २०७२ सालको भूकम्पका बेला नेपालमा पर्याप्त विपद् व्यवस्थापक र उद्धारकर्मी नहुँदा सयौँको संख्यामा भारतीय सैनिक बलका उद्धारकर्मी आउनुपरेको थियो । त्यसकारण आफू झन् कमजोर हुने बाटोतिर हैन, मजबुत हुने बाटोतिर हिँड्ने प्रयास गरौँ ।

दक्षिण कोरिया, इजरायलजस्ता सम्पन्न देशहरुले आज पनि प्रत्येक जनताले अनिवार्य सैन्य तालिम लिनुपर्ने खालका प्रावधान किन राखेका छन् ? किन सबै इजरायलीहरु स्वस्थ, बलिया, लडाकू हुन्छन् ? किन सबै कोरियन पुरुष स्वस्थ, फूर्तिलो र लडाकू हुन्छन् ? म त भन्छु– सबै नेपालीले १८ कटेसी एकवर्से सैनिक तालिम लिनै पर्छ । स्वस्थ जनता उत्पादनशील हुन्छन् । नेपालमा धेरै खाले युद्ध गर्न आवश्यक छ अहिले । औद्योगिक क्रान्तिका लागि उद्योग सेना र पूर्वाधार विकासका लागि निर्माण सेना आवश्यक छ हजारौँको संख्यामा । त्यसो त नेपाली सेनाले कठिन प्रकृतिका सडक निर्माणमा वर्षौंदेखि काम गर्दै पनि आएका छन् । नेताहरुले जस्तो बसिखाने र देश लुट्ने गरेका छैनन् ।

धेरै सरल र सबैले बुझ्ने कुरा छ– प्रदेश खारेजी गरेर त्यसबाट बच्ने अर्बौं रुपियाँले १०–१५ हजारमात्र उद्योग र निर्माण सेना थपौँ त, ५ वर्षमा कति परिवर्तन देखिन्छ ? आफ्नो देश चिनौँ । आफ्नो देशको समग्र परिस्थिति चिनौँ । कुनै पनि देश निरपेक्ष चल्दैन । आफ्नो देशको परिस्थिति सापेक्षिकरुपमा हेर्न आवश्यक हुन्छ । छिमेकीहरुको नीति र नियतको सापेक्षतामा हाम्रो देशको नीति बन्नुपर्छ । भर्खरै भारतले अग्निवीर योजना लागू गर्दै जनतामा सैन्य क्षमताको संख्या बढाउने तर दीर्घकालीन तलब र पेन्सनको रुपमा जाने खर्च घटाउने नीति लागू ग¥यो । चार वर्ष सैन्य तालिम पनि पाउँथे, १०–१५ लाख रुपियाँ लिएर नि आउँथे । यसमा नेपालले नेपाली युवाहरुलाई अग्निवीर योजनामा जान रोक्दा धेरै बेफाइदा भयो । आफ्ना युवाशक्तिलाई आफूले दिनुपर्ने तालिम भारतले दिन्थ्यो त के बिग्रन्थो ? यो अर्कै बहसको विषय भएकोले यता धेरै नजाऔँ अहिले । तर नेपाली सेनालाई वीर गोरखालीकै दर्जामा पु¥याऔँ, अत्याधुनिक र शक्तिशाली बनाऔँ । बरु व्यापारी र ठेकेदार बन्नतिर प्रेरित नगरी व्यावशायिकता र विकासतिर प्रेरित गरौँ ।

प्रतिक्रिया दिनुहोस्