माओवादी बैठकमा प्रचण्डको चर्को आलोचना



काठमाडौं । सरकारको नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को बुधबारदेखि चलेको केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चर्को आलोचना भएको छ । बैठकमा धारणा राख्ने अधिकांश युवा नेताहरूले अध्यक्ष ‘प्रचण्ड’को कार्यशैलीमाथि प्रश्न उठाउँदै नेतृत्वले नै गुटलाई प्रश्रय दिएको आरोप लगाएका छन् ।

बैठकमा पार्टीले स्वास्थ्य, शिक्षा, कृषि, रोजगार र जनजीविकाका सवालमा आफ्नो धारण बनाउन नसकेको भन्दै आलोचना भएको छ । केन्द्रीय सदस्य दिलीप प्रजापतिले पार्टीमा अराजकता हाबी हुँदै गएको भन्दै विधान मिच्ने काम अध्यक्ष प्रचण्डबाटै पनि भएको आरोप लगाउनुभयो । प्रजापतिले पार्टीमा रहेका दोहोरो भूमिका हटाउनसमेत माग गर्नुभएको छ । शहरमा पार्टी बनाउन संगठनात्मक संरचना नै फरक बनाइनुपर्ने भन्दै उहाँले पार्टी समाजिक सञ्जालको प्रयोगमा चुकिरहेको टिप्पणी गर्नुभयो । बैठकमा अर्का केन्द्रीय सदस्य हितबहादुर तामाङले पार्टी नेतृत्वको चाकडीका भरमा एकै व्यक्ति पटकपटक मन्त्री भइराख्ने प्रवृत्ति पार्टीमा हाबी हुँदै गएको भन्दै नेतृत्वको विरोध भइरहेको भन्दै नेतृत्व सच्चिन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

बैठकको दोस्रो दिन बिहीबार आफ्ना धारणा राख्ने क्रममा केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले पार्टीको विचार र व्यवहार लथालिङ्ग अवस्थामा रहेको टिप्पणी गर्दै माओवादी निरन्तर ओरालो यात्रामा रहेको बताउनुभयो । शान्तिपूर्ण प्रतिस्पर्धाको नाममा पार्टी बदनाम भइसकेकाले पार्टीका केन्द्रदेखि जिल्ला र भूगोलसम्मका नेता कार्यकर्ताहरू सच्चिनुपर्नेमा उहाँको भनाइ थियो ।

न्यौपानेले माओवादीले संसदीय व्यवस्थाबाट पार्टी ठुलो बनाउने सपना नदेख्न नेतृत्वलाई आग्रह गर्दै भन्नुभयो– ‘अहिले माओवादी पार्टी पार्टीजस्तो देखिएको छैन । विचार र व्यवहार पुरै खराव भइसकेको छ । संसदीय प्रणालीमै जाने भए कांग्रेस, एमालेभन्दा माओवादी फरक हुँदैन । विश्व कम्युनिस्ट आन्दोलनमा जसरी विचलन आएको छ, यदि माओवादी पनि त्यसरी नै जाने हो भने त्यो खतरा रहन्छ । त्यसैले, हामीले संसदीय व्यवस्थालाई उपयोग गरेर अर्को क्रान्तिको तयारी गर्नुपर्छ ।’

बैठकमा अधिकांश केन्द्रीय सदस्यहरूले पार्टी बिग्रिँदै गएकोमा चिन्ता व्यक्त गर्दै पार्टी नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।

बैठकको अध्यक्ष प्रचण्डले माओवादी रूपान्तरणका लागि भदौदेखि तीन महिने सुदृढीकरण अभियान सञ्चालन गर्ने प्रस्ताव पेस गर्नुभएको थियो । उहाँले मंसिरमा विधान सम्मेलन गरी केन्द्रीय समितिको आकार घटाउने, केन्द्रीय समितिको बैठकले सबै नेताहरूको जिम्मेवारी तोक्ने र यस वर्षको अन्त्यमा विशेष महाधिवेशन गर्ने प्रस्ताव अघि सार्नुभएको थियो । उक्त प्रस्तावमाथि केन्द्रीय सदस्यहरूले आफ्ना धारण राख्ने क्रम निरन्तर चलिरहेको छ ।

बैठकमा पार्टी नेतृत्व आफैं रूपान्तरण नभएसम्म पार्टी रूपान्तरण हुन नसक्ने भन्दै अधिकांशले प्रचण्डको कडा आलोचना गरिरहेका छन् । नेतृत्वसँग असन्तुष्टि जनाउँदै बैठकमा प्रस्तुत भएका नेताहरूले प्रधानमन्त्री निवास बालुवाटार नवसामन्तहरूको कब्जामा रहेको, नेतृत्व परिवारवादमा फसेको, नेताहरूको कार्यशैली पारदर्शी नभएको जस्ता गम्भीर आरोपसमेत लगाएका छन् । अध्यक्ष प्रचण्डले मौखिक रूपमा कर्मकाण्डी ढङ्गले प्रतिवेदन प्रस्तुत गरेर सिङ्गो केन्द्रीय समितिलाई अपमान गरेको भन्दै उनिहरूले असन्तुष्टि पनि पोखेका थिए । बैठकमा समाजवादी मोर्चाको समेत आलोचना भएको छ । केन्द्रीय सदस्य हरिराज अधिकारीले समाजवादी मोर्चा निर्माणका सन्दर्भमा नेतृत्वलाई प्रश्न गर्दै भन्नुभयो–‘समाजवादी मोर्चा केका लागि बनेको ? यो बन्नु राम्रो हो ?’

पार्टीभित्र सहिद परिवारको अवस्था बेहाल रहेको उल्लेख गर्दै यसमा पार्टी ध्यान दिनुपर्नेमा नेताहरूले जोड दिएका छन् । यद्यपि, बंैठकमा एकातिर अध्यक्षको कडा आलोचना हुँदै गर्दा कतिपय नेताहरूले भने नेतृत्वलाई खुइल्याएर पार्टी नबन्ने भन्दै नेतृत्वको बचाउ गरेका छन् । पार्टी उपाध्यक्ष मात्रिका यादवले दोष नेतृत्वलाई मात्र देखाएर अन्य नेताहरू उम्किन नमिल्ने जिकिर गर्नुभयो । उहाँले अध्यक्ष एक्लैले चाहेर पार्टी नबन्ने भन्दै सबैले आ–आफ्नो जिम्मेवारीमा रहेर भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभएको एक केन्द्रीय सदस्यले बताए । ४ सय ९ जनाको केन्द्रीय समिति रहेको माओवादीको बैठकमा ४० बढी नेताहरूले आफ्नो धारणा राखेको माओवादीले बताएको छ । पार्टीको बैठक आइतबारसम्म चल्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्