फेरिएको गाउँ र गाउँमुखी अर्थनीति



भारतले चामल निकासीमा रोक लगाएको छ । लामो समय खडेरी परेर धान उत्पादनमा कमी आएपछि भारत सरकारले सो निर्णय गरेको बुझिएको छ । भारतले चामल निकासीमा रोक लगाएपछि नेपालमा धान र चामलको मूल्य वृद्वि भएको छ ।

भारतले चामल निकासीमा रोक लगाएपश्चात् के गर्ने, कसरी आन्तरिक उत्पादन बढाउने र व्यवस्थापन गर्ने भन्नेसम्बन्धमा हालसम्म हामीले ठोस कदम चालिसकेका छैनौँ । यसको असर न्यूनीकरण गर्नका लागि हामीले केही रणनीतिक हस्तक्षेप गर्नुपर्दछ । हाम्रा धान उत्पादन हुने खेतहरु सबै बाँझो रहेका छन् । पहाडमा जनशक्तिको अभाव, उत्पादन लागत महँगो, निर्वाहमुखी खेती प्रणाली, मौसममा आधारित खेती, सिंचाइ सुविधाको अभावलगायतका कारणले खेती प्रणाली कमजोर भई जमिन बाँझो रहेको हो । यसै गरी तराईमा पनि माथि उल्लिखित समस्याका अतिरिक्त एकीकृत बस्ती विकास प्रणालीको अभाव, पुराना सिंचाइ प्रणालीको संरक्षण नगरिनु, नयाँ बनेका सिंचाइ प्रणालीहरु गुणस्तरयुक्त नहुनु, जग्गा खण्डीकरणलगायतका कारणले धान उत्पादन हुन सकेको छैन ।

नवलपरासी (बसुप) मा २०१६ सालको गण्डक सम्झैता भएर संरचना नबन्दासम्म यहाँबाट उत्पादित धान भारतको निचलौल र गडौरा बजारमा बिक्री गर्ने गरेको स्थानीय बासिन्दा बताउँछन् । काम गर्न भारतबाट कामदार आउने गर्थे तर अहिले उल्टो छ । गण्डकको पानी भारतमा गएपछि उत्पादन घटेको छ भने भारतबाट आयात गर्न थालिएको छ । पछिल्ला समयमा भारतले निर्यातमा प्रतिबन्ध लगाएपछि तिल्मिलाउनुपरेको छ । अब बिस्तारै रैथाने खानेकुराहरुले प्राथमिकता पाउँछन् कि भन्ने आशा पलाएको छ । भातमात्रै बढी खाने संस्कृति र परम्पराले गर्दा हाम्रा कोदो, मकै, फापरलगायत रैथाने उत्पादनहरु ओझेलमा पर्नुका साथै तरकारीजन्य उत्पादनहरुको प्रयोग पनि कम भई केवल भात खाने भुँडी बढाउने शहरी संस्कृतिमा पूरै गाउँ परिवर्तन हुन्छ कि भन्ने जस्तो लाग्छ ।

गाउँको परिवेश :

छिमेकी तल्लाघरका माइँला दाइका तन्नेरी छोरा रोजगारका लागि अरब पुगेका थिए । दुर्घटनामा ज्यान गयो । पूरै गाउँ शोकाकूल छ । वैदेशिक रोजगारको सामाजिक लागत (सोसियल कष्ट) निकै भयावह छ । यसको क्षतिपूर्ति कसरी हुन सक्ला ? पर्वत जिल्लामा मात्रै दुईवटा नगरपालिकाहरुले अझै नगरसभा गर्न सकेका छैनन् । ती लगायत सभा गर्न नसक्ने स्थानीय तहले कसरी किसानका समस्या समाधान गर्न सक्लान् ? युवा जनशक्ति पलायनलगायतका कारणले उत्पादन लागत अत्यन्तै महँगो छ । लागत महँगो हुँदा उत्पादनमा रुचि छैन । अधिकांश खेतीयोग्य जमिन बाँझो रहेको छ । आकाशे पानीको भर पर्नुपर्दा रोपाइँ हुन सकेको छैन । पुराना रैथाने कुला–पोखरीहरु मासिँदै गए । नयाँ बनेका सिंचाइ, खानेपानीलगायतका संरचनाहरुको गुणस्तर कमसल हुँदा टिकाउ छैनन् । पूर्वाधारहरुको गुणस्तर अत्यन्त कमजोर छ ।

यसै गरी गाउँमा मानव बस्ती कम हुँदै जाँदा जंगलले ओगटिसक्यो । जंगल बढेका कारण बाँदर घरघरमै बास बस्न थाले । जसले गर्दा अन्नपात, फलफूल जोगाउन सकिएको छैन । हामीहरु एकै घरबाट सातजना पढ्न जाने स्कुलको एउटा कक्षामा मात्र ७ जना विद्यार्थी छन् । १२ कक्षासम्म पढाइ हुने स्कुलको अभिलेखमा १५० जना विद्यार्थी देखिन्छन् तर खासमा कतिजना नियमित होलान् ? सरकारी विद्यालयको अवस्था चिन्ताजनक छ । गाउँमा पनि बोडिङ स्कुलप्रतिको मोह ह्वात्तै बढेको छ । नेपाली भाषाको स्तर नराम्रो गरी खस्केको छ । गाउँको सामाजिक उत्प्रेरणा निकै कमजोर छ । गाउँमा वृद्व आमा, बाबा र १५ वर्षसम्मका केटाकेटी र केही युवाहरुमात्र रहेका छन् । आन्तरिक बसाइँ सराइ तीव्र छ । यसका कारण केही वडा कार्यालयहरुले सामाजिक सुरक्षा भत्ता शहरै पुगेर बाँड्ने गरेको पनि पाइन्छ । गाउँघरमा सञ्चालनमा रहेका आयोजनाहरुको अनुगमन मूल्यांकन हुँदा ग्रामीण आयोजनाहरुको गुणस्तरीयता अत्यन्त कमजोर देखिएको छ ।

गाउँ किन प्यारो ?

गाउँको अवस्था दयनीय हुँदाहुँदै पनि गाउँ किन प्यारो छ । डाँडाकाँडा, झरना–खोला, चौतारी–पाखाले सुसज्जित ग्रामीण परिवेश हाम्रो मानसपटलमा गढेको छ । चिसो हावा, मीठो पानी, ताजा तरकारी, रैथाने खानेकुरा, श्रमको सम्मान, रसिलो, निःस्वार्थ र आत्मीय व्यवहार, रमणीय ठाउँजस्ता धेरै विषयवस्तुहरुले गर्दा ग्रामीण वातावरण हामी सबैलाई प्रिय लाग्छ । चिसो हावापानी भएको कारण पाचन प्रक्रिया राम्रो हुने । सबै प्रकारका खानेकुराहरु मीठो लाग्ने । मिसावटयुक्त नखाऊँ भन्दा पनि पुग्ने । गिठ्ठा, भ्याकुर, कोदो, कर्कलो, आटो, ढिँडो, रोटी खानको लागि सहज हुने । उकाली–ओराली गर्दा थप एक्सरसाइज गरिरहन नपर्ने । दूध, मही, घिउ, नौनी खान पनि पाइने । शहरमा मेन्टल वर्क बढी हुने, हिँडडुल कम हुने हुँदा विभिन्न प्रकारका नसर्ने रोगहरु बढी लाग्ने तर पहाडको बसाइमा नसर्ने रोगहरु लाग्ने सम्भावनाहरु कम हुने । गाउँले जीवन मिलनसार, छलकलटरहित, सादा, सरल, बलियो सामाजिक सम्बन्ध भएको कारणले गर्दा गाउँले जीवन अधिकांशको रोजाइमा परेको हुन्छ ।

गाउँ–गाउँमा कच्ची बाटो पुगेको छ । गाउँमा बसेर शहरको सुविधा लिन सकिने भएको छ । उदाहरणको लागि मेरो गाउँबाट सदरमुकाम आउनको लागि ३ घण्टा हिँड्नुपर्ने थियो भने अब केवल ३० मिनेटमा शहर पुगिन्छ । काठमाडौंबाट ८ घण्टाको सडक यात्रामा पुगिने गरी सडक सञ्जाल निर्माण भएको छ । यसका अतिरिक्त एक घर एक खानेपानीको धाराको अभियान अन्तर्गत घरघरमा पानीको धारा जोडिएको छ । बिजुली बत्तीले गाउँ झिलिमिली बनेको छ । संघीय शासन प्रणालीसँगसँगै वडा कार्यालयमा चहलपलह बढेको छ । सवारीका साधनहरु घरघरमै पुगेका छन् । बस चढ्नको लागि कम्तीमा ४ घण्टाको पैदल यात्रु हिँड्नुपर्ने अवस्थाको अन्त्य हुँदै घरघरमा सवारीका साधन पुगेका छन् । मोटरसाइकल पुगेका छन् । सम्पन्न व्यक्तिहरुले पक्की घरमा कार नै लगेर राखेका छन् । ठाउँ–ठाउँमा स–साना बजार केन्द्रहरु निर्माण भएका छन् । शहरको उकुसमुकुस र भागदौडयुक्त जीवनको तुलनामा गाउँ शान्त र सौम्य छ । लाटी पल्टेको डाँडो, केटी चौर, च्यान डाँडा, भलपोखरामा स्वच्छ हावा चल्छ । आनन्द आउँछ । त्यस अर्थमा गाउँ प्यारो छ ।

गाउँको लुकेको पाटो :

वैदेशिक रोजगारी र आन्तरिक बसाइँ सराइले गर्दा गाउँ प्रायः सुनसान छ । वैदेशिक रोजगारीले देशको अर्थतन्त्र धानिएको छ । तर त्यसको सामाजिक मूल्य निकै महँगो साबित भएको छ । वैदेशिक रोजगारीमा कलकलाउँदो उमेरका युवाहरु गुमाउनुपरेको छ । यसले सहनै नसक्ने पीडा गाउँलाई दिएको छ । तर त्यो सहनुबाहेकको विकल्प गाउँसँग छैन । गाउँमा अझै पनि चरम गरिबी लुकेको छ । अत्यन्त श्रम गर्नुपर्ने तर श्रमको तुलनामा उत्पादन न्यून छ । उजाड गाउँ, निराश दिनचर्या, सुस्ताएका मनले गर्दा धेरै लामो समय गाउँमा बस्दा आकुल–व्याकुल पनि बनाउने गर्दछ । यद्यपि उकाली–ओराली गर्दा ती सुस्ताएका मनहरु भुलिरहेका हुन्छन् । वैदेशिक रोजगारीलाई कम गरी स्थानीय तहमा नै रोजगारीका अवसर सृजना गर्ने, गाउँको जमिनलाई व्यावसायिक क्षेत्रमा प्रयोग गर्ने लगायतका विषयमा स्थानीय सरकारमा समेत स्पष्ट दृष्टिकोण पाइँदैन ।

गाउँसँग जोडिएका सामाजिक सम्बन्धहरु तीव्र बसाइँ सराइ र भागदौडयुक्त शहरी जीवनका कारण कमजोर बनेका छन् । एउटा नातिले हजुरबासँग कसरी व्यवहार गर्ने ? नातिको जिम्मेवारीलगायतका विषयहरु करिब–करिब हराइसकेका छन् । किनकि हाम्रो पारिवारिक र सामाजिक संरचना नै टुक्रिइसकेको छ । नाति केटो आफ्नो चुनौतीपूर्ण भविष्य निर्माणको लागि शहरमा संघर्षरत छ । उसका आफ्नै प्रकारका अनेकौँ हण्डरहरु छन् भने बाजेका आफ्नै कथा र कहानीहरु छन् । यी दुवै पक्षलाई जोड्न सकिएको छैन । गाउँका निधि र भविष्य यी दुवै पक्षलाई जोड्न सक्ने हो भने पक्का पनि समाजमा नयाँ मान्यताहरु स्थापित गराउन सकिने थियो तर भागदौडयुक्त शहरी जीवनले कठिन भएको पगरी गुथाएको छ ।

गाउँमा बस्ती कम हुँदै जाँदा सबै खोल्साखोल्सी, वन बाँदर र झाडीले ढाकेको छ । झ्याउँकिरीको झ्याउँझ्याउँले विरह लाग्दो अवस्थामा पु¥याएको छ । केही छिन्, केही दिन र टुरिस्ट मुडको लागि गाउँ रमाइलो, घुमफिरयुक्त र आनन्दपूर्ण भए पनि शिक्षा स्वास्थ्य र यातायातको भरपर्दो व्यवस्था नभएको हुँदा विकल्प भएसम्म गाउँमा नै बस्नुपर्दछ भन्ने मुडमा नागरिकहरु देखिँदैनन् । विविध कारणले गाउँमा खेती गर्न नसक्नु र किनेरै खानुपर्ने भएपछि किन गाउँ बस्ने ? बरु सपनाको शहरमा गएर सानोतिनो व्यवसाय गर्दा सहज तरिकाले जीवन बिताउन सकिने देखी समृद्वको सपनासहित शहर पस्ने काम तीव्र हुँदै गएको छ । गाउँमा खेतीपाती गरेर हुने आम्दानीभन्दा शहरमा सानो होटल व्यवसाय सञ्चालन गर्दा हुने आम्दानी बढी भएपछि स्वतः नागरिकहरु शहर पस्छन् नै ।

निष्कर्ष :

गाउँमा निर्माण गरिएका पूर्वाधारहरुको गुणस्तरीय अभिवृद्वि गर्नुका साथै शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखी स्थानीय तहले काम गर्नुपर्ने देखिन्छ । ग्रामीण उत्प्रेरणाको तहलाई मतबुत बनाउनुको साथै उद्यमशीलता प्रवद्र्धन गर्नु आजको आवश्यकता हो । राष्ट्रपिता रामचन्द्र पौडेलको शब्दमा– के राम्रा स्कुल, राम्रा अस्पताल, उद्योग–व्यवसाय सबै यही शहरमा कोच्नु जरुरी छ त ? अहिलेका शहरभन्दा बाहिर बस्नलाई ठाउँ छैन र ? विश्वका सबै खाले आर्थिक सिद्धान्त र अर्थव्यवस्था बुझेका भनिने, प्राज्ञिक अनुसन्धानमै बढी लागेका र त्यसैमा अधिक विश्वास राख्ने हाम्रा योजनाविद्हरूको औचित्य के हो त ? उनीहरूले नेपाललाई विशुद्ध नेपाली भएर नेपालको विकासको उपयुक्त मोडलबारे दिमाग खेलाउन पर्दैन ? त्यसकारण अब गाउँमा नै सबै सेवा–सुविधा उपलब्ध गराई गाउँलाई शहर बनाउनुपर्छ । यस अर्थमा गाउँमुखी अर्थनीतिको खाँचो छ ।

(लेखक सापकोटा बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्