चीन भ्रमणमा ‘चिनियाँ फूड सभ्यता’प्रति मेरो चासो



हामी केटाकेटीमा गीत गाउँदै उफ्रन्थ्यौँ– चाइना कम्पनी….. चाइना कम्पनी…. ! उमेरको त्यही उरन्ठेउलो सिँढी चढ्दै गर्दा सुनेको हो–

अमेरिकी लाइफ
जापानिज वाइफ
चाइनिज फूड’

अचम्म लाग्थ्यो, कस्तो होला अमेरिका ? त्यहाँका नागरिकले कसरी जिन्दगी बिताउँछन् होला ? त्यत्तिकै अमेरिकी लाइफ त भनेका हैनन् होला । त्यहाँको जीवनशैली केही त रोमाञ्चक नै होला । जापानिज वाइफ त उल्कै सुन्दरी र स्वभावकी हुन्छिन् होला ।

अनि चाइनिज फूड ? ओ हो ! सत्य युगका कथा–कहानीमा पढेको चौरासी व्यञ्जनभन्दा कहाँ कम हुन्छ होला र ! त्यसै–त्यसै हावामा भरिएको बेलुनझैँ उड्थ्यो मन, जापानिज वाइफसँग हवाईजहाजमा फन्को मार्दै अमेरिकी लाइफ स्टाइलमा चाइनिज फूडको स्वाद लिँदै गरेको परिकल्पनामा ।

उमेरको उरुन्ठेउलो खुड्किलामा चिप्लिएका मेरा मनका त्यान्द्राहरु बर्खे झारमा टाँसिएका लेउसँग कता हो कता विलिन हुँदै गएको थियो, चढ्दो उमेर र बढ्दो जिम्मेवारीको बोझले थिचिँदै गएर ।

जिम्मेवारीका कथाहरुमा एउटा इमानदार पात्रको भूमिका निभाइरहँदा चाइना जाने अवसर पटक–पटक आएकै हो । उरुन्ठेउलो उमेरको कल्पनाका चाइनिज फूड सम्झिएको पनि हो । तर, चाइनिज परिकारभन्दा पनि चाइनिज स्वादले ती यात्राहरु फूड स्मरणको लागि फ्रुुटफुल बन्न सकेका थिएनन् । अनि म फूड टेस्टकै लागि पनि पुनः चाइना जाने उपयुक्त समयको प्रतीक्षामा थिएँ ।

समय त आउँदो रहेछ नि ! नेपाल चीन हिमालयन फ्रेन्डसिप सोसाइटीका महासचिव रिनन् पोखरेलले कुनै सेमिनारमा चीन जाने सहभागीको लिस्टमा मेरो नामसमेत कोरिएको खबर सुनाउँदा मैले उति बेला चाइना कम्पनी….चाइना कम्पनी…. भन्दै गीत गाएको पल सम्झिएँ । र, सम्झिएँ त्यही चाइनिज फूड ।

अब खाइन्छ चाइनिज फूड स्वादले– मनमनै हौसिएँ । अघिल्लोपटकतिर चाइना जाँदाजस्तो अल्पिल्टो स्वादमा सन्तुष्ट बन्ने मूडमा थिइन म यसपटक । मेरो यात्राको सहकर्मी पत्रकार गोकर्ण भण्डारी र आईटी इन्जिनियर किरण दाहाल पनि चाइनिज फूडको स्वादमा सन्तुष्ट हुने मूडमै देखिन्थे । भण्डारी त जाने बेला भन्दै थिए– मलाई त पूर्वमेयर (दोलखाको जिरी नगरपालिका) टंक जिरेलले ‘खानेकुरामा आको बात छैन, गर्नुपर्छ है’ भनेका छन् । जे आउँछ दिने हो दनक । सेमिनारमा सहभागी घाना, क्युवा, जमैका, उजुक्वेस्तान, नाइजेरिया, इजिप्ट, ट्युनिसियाका साथीहरु पनि खानेकुरामा जिब्रो फड्कार्ने पक्षमा थिएनन् सायद । उनीहरुले पनि पक्कै चाइनिज फूड जोडिएको टुक्का सुनेकै थिए होलान् ।

मेरा दुई सहकर्मी भण्डारी र दाहालले त शुरु–शुरुका केही दिन फूड परिकारमा आको बात छैन नीति लिएका थिए । किनभने उनीहरु टंक जिरेलको प्रशिक्षणले परिपक्व देखिन खोजिरहेका थिए । पछि–पछि स्वादको असहमति र पेटको अनुरोधलाई स्वीकार गर्दै फूड टेक सीमित बनाएका हुन् ।

सेमिनारको घुम्ने कार्यक्रमको क्रममा विभिन्न ठाउँमा लैजाँदा ड्राइफूडको रुपमा दिइने म्यागडोनाको बर्गर र चिसो पेयपर्दाथको टेस्ट पनि फरक चिनियाँ विशेषताकै थियो ।

२० दिनको चीन बसाइमा राजधानी बेइजिङ, उहान, लुओयाङ, छेन्डु, गोन्जाओका जुनसुकै होटल र रेस्टुरेन्टमा पुगे पनि खानाको परिकार अचम्मकै चमकदार । झर्काको थालमा गोलाकार लहरभित्र पाँच÷सात तरकारीको थुप्रोमै चौरासी व्यञ्जन देख्ने हामी आम नेपालीको लागि चीनको फूड परेड आतेस लाग्दै हुने । डाइनिङ हलमा दुई÷तीन लहरमा राखिएका फूड आइटम हाल्दै जाँदा कति भेट्नै गाह्रो, कति अट्नै गाह्रो ।

उहान रिसर्च इन्स्टिच्युट अफ पोस्ट एन्ड टेलिकम्युनिकेसनले आयोजना गरेको नेक्स्ट जेनेरेसन कम्युनिकेसन नेटवर्क कन्ट्रक्सनसम्बन्धी सेमिनारको अन्तिम दिन म सम्झन्छु– उहानको कुनै विशाल रेस्टुरेन्टमा लगिएको थियो रिफ्रेसमेन्टको लागि । हाम्रा गाउँघरको एउटा ठूलै टुँडिखेलजत्रो पाँचौँ तलामा रहेको उक्त रेस्टुरेन्टमा फूड परिकार कहाँ–कहाँ छ भनेर भेट्न निकै समय लाग्ने । कोेरोना कहरबाट तङ्ग्रिँदै गरेको उहान यति व्यस्त कि आफ्नो दैनिकी बिट मारेर छिरेका सयौँ चिनियाँहरुले खचाखच भरिएको थियो त्यो रेस्टुरेन्टका टेबलहरु । खानेकुरामा नाक खुम्च्याउने मेरो स्वभावले सीमित फूड परिकार बोकेर टेबलतिर लस्किँदै गर्दा चाइनिजहरुको इटिङ स्टाइलले मलाई ट्वाँ पारिरहेको थियो ।

मैले गरेको अनुभव– चिनियाँहरु काममा जिम्मेवार छन् । दैनिक आठ घण्टाभन्दा बढी खट्छन् । समयको असाध्य धेरै ख्याल राख्छन्, तर खानेकुराको असाध्य सौखिन । कामलाई निश्चित समय बिट मारेर रेस्टुरेन्ट छिरेका चिनियाँहरुले चपस्टिकले चेप्दै चौरासी व्यञ्जन चपाइरहँदा हाम्रा मुख रसाउने मात्र हैन, उनीहरुको हाउभाउबाट मन आह्लादित नै बन्छ ।

त्यसै भनिएको हैन नि चाइनिज फूड । मानव सभ्यताको विकास क्रमसँगै चाइनिजहरुले फूड (खानेकुरा) परिकारको विकास गरेको इतिहास छ । चीनको चार प्राचीन सभ्यताहरुमध्येको एक मानिन्छ फूड (खाद्य) परिकार । चिनियाँ परम्परा र रीतिरिवाज, चिनियाँ भाषा, चिनियाँ लिपि र चिनियाँ फूड चीनको मुख्य चार प्राचीन सभ्यता हुन् ।

चीन विश्वको सबैभन्दा पुरानो सभ्यतामध्येको एक हो । चीनको इतिहास पाँच हजार वर्ष पुरानो छ र चीनको फूड (खाद्य) परिकारको इतिहास पनि सँगसँगै अगाडि बढेको पाइन्छ ।

उहानमा हामी बसेको युच्याङ डिस्ट्रिकको लुज्यास्यान स्ट्रिटमा रहेको मार्सल प्यालेस (सुईफिउ) होटलका जीङ चीले सुनाए– चीनमा खासगरी वुहान तातो र सुख्खा चाउचाउ, गुइलिन चावल चाउचाउ, चोङकिङ तातो र खट्टा चाउचाउ खाजाको रुपमा रुचाइन्छ । धेरैले भन्ने गरेका छन्– चीनमा कुकुरको मासु खान्छन् । तर जीङ चीले यो कुरा अस्वीकार गरेका छन् । उनले भने– हामी कुकुरको मासु खाँदैनौँ, जसरी हिन्दू धर्मले गाईको मासु खाँदैन ।

चीनलाई जोडेर कुकुरको मासुको चर्चा भैरहँदा मलाई चाहिँ के लाग्यो भने, डक (हाँस) को मासुलाई मानिसहरुले डग (कुकुर) बुझेर अनावश्यक अफवाह फैलाइदिए । हैन भने म आफूले पनि तीनपटक चीन पुग्दासमेत कुकुरको मासु ठूला–ठूला होटल र रेस्टुरेन्ट कतै देखिन । डक (हाँस) को मासु भने प्रशस्तै पाइन्छ चीनमा ।

एउटा कुरा केचाहिँ हुन सक्छ भने, चीनमा कुनै जाति विशेष वा ठाउँ विशेषमा कुकुरको मासुको प्रचलन थियो या छ कि ! धेर हल्ला चलेकोले यो मेरो अनुमान मात्र हो । यो हुन पनि सक्छ र नहुन पनि । तर आमरुपमा चीनमा कुकुरको मासु लगभग वर्जित नै छ ।

मासुमा सौखिन चिनियाँ नागरिकले हाँस, कुखुरा, बँदेल (बङ्गुर), सुँगुर, भेडा, गाई, गोरु आदिका मासु भने खूबै रुचाउँछन् । सी–फूड पनि चिनियाँहरुको रोजाइको परिकारमा पर्ने गरेको छ । चीनमा पछिल्लो समय रोस्टिङ, फ्राइङ र स्टयुइङ तीनवटा खाना पकाउने विधि चल्तीमा छन् । बाजेनले चीनमा विभिन्न प्रकारका खाना पकाउने विधि प्रयोगमा ल्याए ।

हामी नेपाली खानामा विविधता ल्याउन सक्दैनौँ । हाम्रा खानाका परिकार महिनौँसम्म एकै प्रकारका हुन्छन् । तर चिनियाँहरु दैनिक परिकार परिवर्तन गरिरहेका हुन्छन् । ब्रेकफास्ट, डिनर र लन्चका परिकारहरु पनि परिवर्तन भैरहेका हुन्छन् । जीङ चीले भन्दै थिए– चीनका ठूला–ठूला होटल र रेस्टुरेन्टहरुमा तीन सयभन्दा बढी खानाका परकार उपलब्ध हुन्छन् ।

खानेकुरामा चिनियाँहरुको अर्को विशेषता पनि छ । खानाका परिकारहरुलाई सजाएर राख्ने । आफूलाई जन्मजात मन नपरेका कतिपय खानाका परिकारहरु सजावटको आकर्षणले नै खाउँ–खाउँ हुने गर्छ । ठूला–ठूला होटल र रेस्टुरेन्टहरुमा त कतिपय परिकार तत्कालै पकाएर खाने सुविधासमेत रहेको हुन्छ । यो पनि चिनियाँ सभ्यताको एउटा पाटो र चिनियाँ फूडको एउटा आकर्षण बनेको पाइन्छ ।

ललितपुरका डाक्टर रमेश आर्चायले चीनको उहानमा स्वास्थ्य क्षेत्रमा सेवा गरेको निकै समय भएको छ । उनले चीनलाई निकै गहन र मिहिन ढङ्गले बुझेका छन् । उनी भन्दै थिए– चीनका धेरै विशेषताहरु छन् । सरसफाइ, चमत्कारी विकास, प्रविधिको उच्चतम विकास–प्रयोग, फूडको प्राथमिकता र चिनियाँहरुको फूड शौख । शुरुका दिनमा चिनियाँ फूडबाट आजित भएका डाक्टर आचार्य हरेक दिन नयाँ–नयाँ फूडको टेस्ट लिन सक्नुलाई आफ्नो बहादुरी ठान्ने मेसोमा पुगेका छन् । डाक्टर रमेश आचार्यले सुनाए– चीन विश्वको एकमात्र यस्तो देश होला, जहाँ फूड परिकारले सभ्यताको जगलाई मजबुत गरिदिएको छ ।

शुरुका दिनहरुमा चाइनिज फूडबाट तर्किन खोज्ने हामी, २० दिनको अवधिमा तिनै अनगिन्ती फूड परिकारसँग अभ्यस्त बनिसकेका थियौँ । ब्रेकफास्टको ब्रेड, अण्डा, आलु, मकै, फलफूललगायत दर्जनौँ परिकार र लन्च तथा डिनरका हाँस, कुखुरा, गाई, भेडा, सुँगुरका मासु, माछा, चाउचाउ, चामलजस्ता दर्जनौँ परिकारले हामीलाई तृप्त गरिदियो । अब त हामी चिनियाँ फूडको परिकारसँग स्वादलाई क्रमशः नेपालीपनमै रुपान्तरण गरिरहेका थियौँ ।

अझ हामी बसेको शहर हुवे प्रान्तको राजधानी उहान माछा र चामलको लागि सिंगो चीन र विश्वभरि नै प्रसिद्ध रहेछ । त्यसैले उहानको होटल र रेस्टुरेन्टहरुमा माछाको मात्र पनि दर्जनौँ परिकार । २० दिनको बसाइलाई बिट मारेर नेपाल फर्कने दिन मार्सल प्यालेस (सुईफिउ) होटलका जीङ चीलाई भनेँ– तपाईंको आतिथ्यता र तपाईंको होटलको फूड परिकारले मलाई मोहित गरेको छ । मौका मिल्यो भने फेरि–फेरि उहानमा भेट गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्