झापामा डेङ्गुको सङ्क्रमण बढ्दै 



भद्रपुर। 

झापामा डेङ्गुको सङ्क्रमण बढ्दै गइरहेको छ । खासगरी साउन महिनायता बिर्तामोडमा डेङ्गु तीब्ररुपमा फैलिँदै गएको हो ।
साउन १ देखि १४ गतेसम्म बिर्तामोडका विभिन्न अस्पतालहरुमा ८२ जनालाई डेङ्गु पुष्टि भएको छ । त्यसमध्ये दुई दर्जनजति संक्रमित बिर्तामोडका अस्पतालमा उपचाररत छन् । बिर्तासिटी हस्पिटलमा आइतवार एकैदिन  ७ जना बिरामी भर्ना भए । त्यहाँ लगातार डेङ्गुका बिरामी आइरहेका छन् ।

त्यस्तै बीएण्डसी हस्पिटलको आइसियु भेन्टिलेटरमा एकजना डेङ्गुका बिरामी उपचाररत छन् । डेङ्गु संक्रमित बिर्तामोड ५ का ४४ वर्षिय विछेन्द्र लावतीको अबस्था गंभीर बनेपछि उनलाई आइसियु भेन्टिलेटरमा भर्ना गरिएको हो । यसअघि गत बिहीवार बिर्तामोड ५ की एक महिलाको डेङ्गु संक्रमणबाट मृत्यु भइसकेको छ ।

बिर्तासिटी हस्पिटलमा साउन १४ गते मात्र ७ जना डेङ्गुका बिरामी भर्ना भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिलकुमार बस्नेतले बताए । उनले साउन महिनायता ८ पुरुष र ६ महिला डेङ्गु पुष्टि भएर अस्पताल भर्ना भएको जानकारी दिए । सोही अस्पतालमा बाह्रदशी ५ की ललिता रसाइली र उनका नाबालक छोरा डेङ्गु भएर विगत ६ दिनदेखि उपचाररत छन् । बाह्रदशी , शिवसताक्षी , कन्काई , इलाम , धरानलगायतका ठाउँका बिरामी भर्ना भएको डा. बस्नेतले जानकारी दिए ।

त्यस्तै कन्काई हस्पिटलमा साउन महिनामा मात्र ३८ जनालाई डेङ्गु पुष्टि भएको छ । साउनमा ११९ जनाको रगत परीक्षण गरिएकोमा २२ पुरुष र १६ महिलालाई डेङ्गु पुष्टी भएको अस्पतालका अध्यक्ष युवराज डाँगीले बताए । उनले विगत ३–४ दिनदेखि ४–५ जनाको दरले डेङ्गुका बिरामी आइरहेको जानकारी दिए। त्यस्तै मनमोहन हस्पिटलमा १३ जनालाई डेङ्गु पुष्टि भएकोमा ११ जना साउन यताका हुन् । १३ जनामध्ये १० जना बिर्तामोडका भएको मनमोहन हस्पिटलका प्रवन्ध निर्देशक रोमणि भट्टराईले बताए । उनले डेङ्गुका केही बिरामी अस्पतालमा उपचाररत रहेको जानकारी दिए ।

त्यस्तै बिर्तामोड ५ का ४४ वर्षिय विछेन्द्र लावतीलाई डेङ्गु भएर स्वास्थ्य अवस्था गम्भीर भएपछि बीएण्डसीको आइसियु भेन्टिलेटरमा राखिएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए । उनले बीएण्डसीमा ४ जना डेङ्गुका बिरामीले उपचार गराइरहेको जानकारी दिए । बीएण्डसीमा बिर्तामोडसंगै मेचीनगर , ताप्लेजुङ, तेह्रथुम , मोरङ, इलामलगायतका ठाउँका डेङ्गुका बिरामी भर्ना भएको जानकारी दिए ।

त्यस्तै बिर्तामोड नगर अस्पतालमा साउन महिनामा मात्र १० जनालाई डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । नगर अस्पतालमा आएका विरामीको रगत परीक्षणका क्रममा साउन महिनामा मात्र ६ महिला र ४ पुरुषमा सङ्क्रमण पुष्टि भएको अस्पतालकी ल्याव टेक्नोलोजिस्ट इशा राजवंशीले बताए । उनका अनुसार केही दिनदेखि लगातार डेङ्गुका विरामीहरु आउन थालेका छन् । यसअघि असारमा नगर अस्पतालमा ५ जनामा डेङ्गु पुष्टि भएको थियो ।

यस वर्ष जिल्लामै पहिलोपटक बिर्तामोडमा डेङ्गु संक्रमणबाट एक महिलाको मृत्यु भएको छ  । बिर्तामोड– ५ बस्ने ४४ वर्षिया मदिना खातुनको गत बिहीबार डेङ्गु संक्रमणबाट मृत्यु भएको हो । बिर्तामोड लगायत अन्य क्षेत्रमा महामारी फैलिनसक्ने भन्दै स्थानीयवासीहरु त्रसित देखिएका छन् । बिर्तामोड नगरपालिकाले डेङ्गु नियन्त्रणका लागि स्प्रे गर्नुपर्ने माग नगरवासीहरुको रहेको छ ।

विर्तामोडमा देखिएको सङ्क्रमण नियन्त्रणका लागि जनचेतना फैल्याउने ,परीक्षण गर्ने काम गरिरहेको विर्तामोड स्वास्थ्य शाखा प्रमुख राजीव विष्टले जानकारी दिए । वडा अध्यक्षको बैठक राखेर थप के गर्ने भन्ने विषयमा छलफल गर्ने तयारी भइरहेको उनको भनाइ छ  ।

प्रतिक्रिया दिनुहोस्