तपाईं आजमा जिउनुहुन्छ कि भोलिमा !



हामी भ्रमबाट जोगिनका लागि धेरै उपाय खोज्छौँ । डरै नलाग्ने को छौँ र ! मानिसहरू त ट्रक, कारहरूमा आफ्नो रक्षा होओस् भनेर भगवान्को फोटो टाँस्छन् । किन रक्षा गर्ने ? के तपाईँले दुर्घटना होओस् भनेर योजना बनाउनुभएको छ ! मानिसहरूलाई डर लाग्छ । संशय हुन्छ । तपाईँ के हुनुहुन्छ ? तपाईँ बसिरहनुभएको माटोबाटै तपाईँ बन्नुभएको हो । जुन माटोलाई पखाल्नका लागि तपाईँ आफ्नो शरीर साबुनले धुनुहुन्छ नि त्यो शरीर माटैबाट बनेको छ । तपाईँ त त्यही माटोलाई घृणा गर्नुहुन्छ । जवानहरूलाई यसबारेमा कुनै वास्तै हुँदैन । वृद्ध हुनुभएकालाई चाहिँ यसबारेमा राम्रैसँग थाहा छ । अहिले थाहा भएजसरी उहाँहरूले पहिला कहिल्यै पनि यस तरिकाले बुझ्नुभएको थिएन ।

दुईवटा पर्खाल छन् । एउटा पर्खालबाट आउनुभयो अनि अर्को पर्खालबाट जानुपर्नेछ । बीचमा तपाईँको जिन्दगी छ । कहाँबाट आउनुभयो भन्ने कुरा कसैलाई थाहा छैन अनि कहाँ जानेछौँ भन्ने कुरा पनि कसैलाई थाहा हुँदैन । दुई पर्खालका बीचमा तपाईँको खेल चलिरहेको छ । तपाईँका नातागोता, तपाईँका साथीभाइ, तपाईँको सुख, तपाईँको दुःख, तपाईँको चिन्तालगायतका यी सबै कुरा यिनै दुई पर्खालका बीचमा छन् । हामीलाई प्राप्त भएको यो समयमा हामीले यी दुई पर्खालका बारेमा सोच्दैनौँ । हाम्रो सोचाइ त त्यो पर्खालको पछाडि के छ भन्नेमै केन्द्रित हुन्छ । यो सोचाइको त कुनै फाइदा पनि हुँदैन, किनभने त्यो त निश्चित कुरा हो । दोस्रो पर्खाल छ र त्यसको निकट पनि पुगिरहेका छौँ । त्यसको नजिक आइरहे पनि हामीले केही नै गर्न सक्दैनौँ । केही गर्न नसक्दै त्यो आइपुग्छ । त्यो पर्खालमा पुग्नासाथ तपाईँ त जानुहुनेछ । यस्तै हुन्छ ।

हामी सबै कहाँ फसेका छौँ ! आ–आफ्नो धारणामा फसेका छौँ । मलाई यो चाहिएको छ, मेरा लागि यस्तो हुनुपर्छ । मानिसहरू परिवारमा कलह गर्छन् । एक–अर्कामा क्लेश राख्छन् । छरछिमेकीहरू एकआपसमा क्लेश राख्छन् । ऊसँग यस्तो छ, मसँग छैन । यदि तपाईँ सय वर्ष बाँच्नुभए पनि तपाईँका लागि ३६ हजार ५ सय दिन मात्रै न हुने हो । केवल ३६ हजार ५ सय दिन । सय वर्षसम्म बाँचिरहँदा त्यति सजिलो हुन्छ भन्ने पनि होइन ।

हामीले आफ्नो आँखा खोलेर नहेरेसम्म सत्यता के हो भन्ने कुरै थाहा हुँदैन । सत्य कुरा खराब हुँदैन त्यो त राम्रो हुन्छ । कुरा त आज अनि भोलिका बारेमा हो । तपाईँ कहाँ हुनुहुन्छ– आजमा कि भोलिमा ? तपाईँको ध्यान आजमा जान्छ कि भोलिमा जान्छ ! भोलिमा बाँच्नुहुन्छ भने आज त बित्नेछ । तर, यदि आजमा बाँच्नुभयो भने पनि भोलि त बित्नेछ । एउटाले त बित्नै पर्छ । दुवैमा बाँच्न खोज्नुभयो भने न आज रहन्छ, न त भोलि नै राम्रोसँग बित्छ । तपाईँलाई के चाहिएको छ– आज या भोलि ?

सबै व्यापारीहरू भोलिमा हराएका छन् । विद्यार्थीहरू पनि भोलिमै हराएका छन् । सबैजसो भोलिका बारेमा सोच्ने गर्छन् । भोलि यस्तो हुनेछ, भोलि त्यस्तो हुनेछ । भोलि यस्तो गर्नेछौँ, भोलि त्यस्तो गर्नेछौँ । पूरै जीवनमा हामीले यही ‘भोलिवाद’ को पाठ पढ्दै आएका छौँ । त्यसपछि कोही सन्तजी आएर भन्नुहुन्छ– आजका बारेमा पनि ख्याल गर्नुहोस् । आजमा पनि ध्यान दिनुहोस् । हामीलाई आज नै भन्नुको तात्पर्य के हो भन्ने पनि लाग्दो हो । हामी त भोलिका लागि जिउँछौँ । उहाँ ‘तपाईँ भोलिका बारेमा जिउनुहुन्छ तर भोलि त हुँदै हुँदैन’ भनेर सम्झाउनुहुन्छ । तपाईँ कसका लागि जिउनुहुन्छ ? कुनै चीजका लागि होइन । भोलि त कहिल्यै पनि आउँदैन । यदि भोलि आयो भने पनि आज नै बनेर आउँछ । जसरी आज आएको छ । भोलि हुँदैन तर हाम्रो ध्यान आजलाई बिर्सेर भोलितिर मोडिन पुग्छ । त्यो भोलि त छँदै छैन ।

जब हामी दोस्रो पर्खालका छेउछाउमा पुग्छौँ त्यसपछि ‘अहिलेसम्म त जीवनमा सही तरिकाले बाँचेकै रहेनछु’ भन्ने लाग्छ । यो त एकदमै छिटो बितेछ । यथार्थमा तपाईँ बाँच्नुभएकै होइन किनभने भोलिमा अडिनुभयो तर आजलाई बिर्सिदिनुभयो । यदि आजमा हुनुभएको भए त बाँच्नुहुन्थ्यो । आजमा बाँच्नेलाई यो त एकदमै छिटो बितेकोमा पनि सङ्कोच हुँदैन । आजमा जिउने मान्छे हरक्षण आफ्नो जीवनप्रति आभारी रहन्छ । उसलाई आभार प्रकट गर्ने कुरामा कुनै सङ्कोच नै हुँदैन ।

तपाईँभित्र के भइरहेको छ ! यो श्वास चलिरहेको छ । यसमा ध्यान दिनुहोस् । यदि यो श्वासमा ध्यान लगाउनुभयो भने आफ्नो सृष्टिकर्तासँग तपाईँको नाता गाँसिनेछ । त्यसपछि तिनलाई चिन्नुहुनेछ अनि पहिचान गर्नुहुनेछ । आपूmले आपूmलाई चिन्नुहोस् । आपूmले आपूmलाई पहिचान गर्नुहोस् । हामीलाई कुनै राम्रो कुरा चाहिन्छ भन्ने हो भने पनि यो कुरा सम्भव छ । हाम्रो जीवनमा यो हुन सक्छ । यदि यस्तो भयो भने वास्तवमा जीवनमा आनन्द नै आनन्द हुनेछ ।

एकापट्टि संसारका सबै जिम्मेवारीहरू छन् र अर्काेतिर तपाईँको आफ्नो जीवन छ ! जुन जीवन तपाईँलाई दिइएको छ, त्यो तपाईँका लागि हो । यदि तपाईँले यो कुरालाई स्वीकार गर्नुहुन्छ भने प्रश्न यो पनि उठ्दछ– जुन चीज तपाईँलाई प्राप्त भएको छ, त्यसलाई आजसम्म सदुपयोग गर्ने कोसिस गर्नुभएको छ कि छैन ?

तपाईँ जीवित हुनुहन्छ । तपाईँको जीवनमा जे भइरहेको छ र जे पछि होला, ती सबै अहिलेको रूपमा नै भइरहेका छन् । तर, मानिसहरूको ध्यान पूर्वजन्म र पछिको जन्मतिर जान्छ । जीवनमा के भएको थियो या पछि के हुनेछ भन्नेतिर जान्छ । यदि तपाईँले रेलमा यात्रा गर्नु प¥यो र तपाईँसँग टिकट छ– तपाईँले स्टेसनमा गएर ‘पहिलाको रेल कहाँ गएको थियो’ र ‘अब आउने कता जान्छ’ भनेर सोध्नु आवश्यक हुन्छ र ? होइन ! तपाईँ त यो सोध्नुहुन्छ, ‘ऊ त्यो रेल कता जान्छ ?’ ठीक त्यसै गरी यो श्वास तपाईँभित्र आउँछ र जान्छ । यो सृष्टिकर्ताको कृपाका कारण नै आउँछ । तर, कसैको पनि ध्यान यो श्वासतिर जाँदैन । यो आइरहन्छ अनि गइरहन्छ । यो श्वास जान्छ अनि आउँदैन नि तब मात्र मानिसको ध्यान यसतर्फ जान थाल्छ । त्यस बेला एउटै कुराको मात्र चिन्ता हुन्छ– कसरी अर्को एउटा श्वास लिन सकूँँ !

पानीको अभाव नहुँदा मानिसहरूले पानीलाई खेर फाल्छन् । तर, पानीको अभाव भएपछि कसैले पनि पानीलाई खेर फाल्दैनन् । तपाईँको श्वास पनि त्यस्तै छ । एक दिन आएका थियौँ । त्यस दिन पहिलो श्वास आएको थियो । एक दिन जानुपर्छ । त्यो अन्तिम श्वास हुनेछ ।

यसको बीचमा छ– आजको दिन ! संसारका सबै कार्यलाई पूरा गर्नका लागि हामी आजको दिनलाई उपयोग गर्दछौँ । यो अनमोल श्वास प्राप्त भएको त छ तर यसलाई हामी ध्यान दिँदैनौँ । किनभने, व्यापार राम्रो भएको र राम्रो जागिर प्राप्त भएको दिनलाई मात्रै हामी राम्रो मान्दछौँ । वास्तवमा सबैभन्दा राम्रो दिन त त्यो हो जुन दिन तपाईँ भन्नुहुन्छ– ‘आजको दिन मैले यो जीवनलाई पाएको छु । मेरो श्वास चलिरहेको छ ।

म जीवित छु । मैले यो मौका पाएँ । अब म यसलाई गुमाउन चाहन्न । आज मैले त्यो कुरालाई बुभेmँ जसको चर्चा सबै महापुरुषले आफ्नो जीवनभरि गर्दै आएका छन् ।’

यो कुरालाई बुझेको दिनदेखि यो जीवन व्यर्थ जाँदैन । त्यो दिन तपाईँ आफ्नो हृदयरूपी भाँडोलाई खेर गइरहेको पानीको धारामुनि राखिदिनुहुन्छ । त्यो पानी बच्नेछ । जिन्दगी सुध्रिनेछ । त्यो चीज पाइनेछ जसबाट हामी आफ्नो जीवनलाई पूर्ण बनाउन सक्छौँ । प्रत्येक दिन हृदयबाट आभारी भएर भन्न सक्छौँ– ‘हे सृष्टिकर्ता, तपाईँलाई लाखौँलाख धन्यवाद छ !’ अनि, यो भन्नुहुनेछ– आजको दिन नै मेरो पहिलो दिन हो । भोलि फेरि यो दिन आयो भने म त्यसलाई खेर जान दिन्न । यसरी नै हामीले हरेक दिनलाई स्वागत गर्नुपर्नेछ । भोलिलाई होइन । न त हिजोलाई नै । बरु आजलाई सधैँका लागि स्वागत गर्नुपर्नेछ ! किनभने, जीवनमा जति पनि दिनहरू आउँछन्, ती सबै ‘आज’ को रूपमा नै आउँछन् । तपाईँ भोलिभित्र वा पर्सिभित्र प्रवेश गर्नुपर्छ भन्ने पनि होइन । प्रवेश गर्नुपर्दैन ! यो त स्वतः आउँछ र आपैmँ जान्छ ।

यसमा तपाईँका लागि के लुकेको हुन्छ ? त्यो हरेक श्वासको आउनु–जानुमा अनि हरेक ‘आज’ को आगमन र प्रस्थानभित्र तपाईँको ‘आनन्द’ लुकेको छ । तपाईँको जीवनको आनन्द । तपाईँको हृदयको आनन्द । त्यो सुख, सन्तुष्टि, आनन्द, जुन शङ्काबाट पर, दुःखबाट पर– जहाँ अँध्यारो हैन, प्रकाशै प्रकाश छ ! जहाँ प्रश्न हैन उत्तरै–उत्तर छ ।

अहिले हामीसँग समय छ । त्यसैले हामी भोलिलाई सुधार्ने कुरामा भन्दा आजलाई ध्यान दिऊँ । आज नै आफ्नो हृदयलाई शान्ति र आनन्दले भरौँ । भोलि आउँछ कि आउँदैन भन्ने कुरामा हामीले चिन्ता गर्नु आवश्यक छैन । यदि भोलि आयो भने त्यसलाई पनि आजलाई जस्तै स्वागत गर्नेछु । ताकि मेरो हृदय दिन–प्रतिदिन भरिँदै जाओस् र मेरो जीवन सफल होस् । त्यसैले भोलिमा होइन, आजमा जिउन शुरु गरौँ । गएको वा आउने समयलाई होइन, आजसँग रहेर जिउन शुरु गरौँ । आजको महत्त्वलाई बुझौँ । ‘आज’ के हो, ‘आजको दिन’ के हो भन्ने कुरा तपाईँले बुझ्नु भएपछि तपाईँले भोलिको आशालाई छोड्नुहुनेछ । अनि, आफ्नो आशालाई ‘आज’ नै पूरा गर्ने कोसिसमा लाग्नुहुनेछ । किनभने, भोलिमा जति पनि आशा हुन्छ, त्यति नै निराशा पनि रहेको हुन्छ । ‘आज’ मा जति आशा गरिएको हुन्छ, त्यसलाई पूरा गर्न सकिन्छ ।

(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण : डा. प्रेमराज ढुङ्गेल ।

थप जानकारीका लागि : www.premrawat.com

प्रतिक्रिया दिनुहोस्