वर्तमान अवस्थामा राप्रपाको आवश्यकता र दायित्व



देश विभिन्न कालखण्ड हुँदै यो अवस्थासम्म आइपुग्दा दिनानुदिन दुर्गतिको दिशातिर अगाडि बढिरहेको देखिन्छ । राजनीतिक पार्टीहरु सेवाभावले भन्दा पनि कमाइ खाने भाँडोको रुपमा उपभोग भइरहेका छन् । देशको ढुकुटी कुन पार्टीले कति कुम्ल्याउने भन्ने दौडमा लागिपरेका छन् । देशमा कुनै भिजनविना आफ्ना कार्यकर्तालाई कसरी लालनपालन गर्ने र आफ्ना पार्टीका नेता–कार्यकर्तालाई रिझाउन ठूला नेताहरु तल्लीन देखिन्छन् । विदेशीहरुलाई खुशी पारेर राष्ट्रहित विपरीतका सम्झौताहरु गर्नका लागि तँछाडमछाड गरी राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री बन्न आतुर देखिन्छन् । यही दौडमा फेरि पनि सरकार विघटन हुने हल्ला चलिरहेको छ । के यो नेपाल आमालाई सेवा गर्न विदेशीहरुको पाउ मोल्नुपर्छ ? यो कस्तो अनौठो राजनीति हो ? देश यो अवस्थामा आउँदा पनि नेपालीहरु तैँ चुप मै चुपको अवस्थामा किन बसिरहेका छन् ? नेपाली राजनीति अस्तव्यस्त भई विकराल रुप लिइसकेको हो ? एउटा प्रधानमन्त्री बन्नका लागि नेपाली राजनीतिमा प्रितम सिंहको भूमिका ठूलै रुपमा रहेको देखिन आएको छ । प्रधानमन्त्रीको भनाइ अनुसार पनि उहाँलाई प्रधानमन्त्री बनाउन पहिलेदेखि नै भारतीय प्रितम सिंहको जोड जफल भएको अहिले आएर प्रस्ट भएको छ । यस्तै चीन, अमेरिका, भारतलगायतका देशले नेपाललाई, नेपाली राजनीतिलाई कसरी पकडमा राख्न सकिन्छ भनेर लागिरहेको अवस्था छ । यो अवस्थामा अब सम्पूर्ण नेपालीहरु जागेर नेपालीकै हातबाट शासन सत्ता सञ्चालनका लागि गणतन्त्र पूर्णरुपमा खारेज नगरेसम्म नेपालमा विदेशी हस्तक्षेप भोगिरहनु, देखिरहनुपर्ने अवस्था छ ।

यसै मेसोमा भन्नुपर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भावी कार्यनीतिमा नवीन राप्रपाका रुपमा जनतासमक्ष जाँदै छौँ । जसअन्तर्गत धेरैभन्दा धेरै युवाहरुलाई राप्रपामा प्रवेश गराई व्यक्तित्व विकाससँगै नेतृत्वको विकास गराउने उद्देश्यले हामी अगाडि बढिरहेका छौँ । समाजमा भइरहेका विसंगतिका विरुद्धमा बोल्न सक्ने, लड्न सक्ने आँट र हिम्मतको विकास गराउँदै राप्रपामा क्रियाशील भएर लागिपर्ने युवाहरुको जमात तयार पार्दै छौँ । जसले जुन ठाउँबाट नेतृत्व गरिरहनुभएको छ, त्यही ठाउँमा जनताका पिरमर्काको बारे आवाज उठाउन सक्ने राष्ट्रवादीहरु तयार गर्दछौँ ।

ठूला दल र ठूला नेताहरुकै कारणले देशमा विकृति, विसंगति, आर्थिक संकट देखा परेको छ । सम्पूर्ण भष्टाचारीहरुको श्रीसम्पत्ति राष्ट्रियकरण नगर्दासम्म देशमा विकृति, विसंगति, आर्थिक संकट देखा परिरहने नै रहेछन् । विभिन्न डिजिटल माध्यमबाट आर्थिक कारोबार भइरहेको छ । यसलाई सरकारले निगरानी बढाउन जरुरी छ । हुन्डीमार्फत गरिने कारोबारलाई पूर्णरुपमा बन्द नगराएसम्म आर्थिक संकट भइरहन्छ । र, संघीयताको कारण भएको राष्ट्रिय खर्च कटौती गर्न संघीयता खारेज गर्नुपर्छ । कर्मचारीतन्त्रमा कर्मचारीहरुलाई दिइने अनावश्यक खर्च कटौती गर्नुपर्छ । यसरी नै बिस्तारै आर्थिक अवस्था सुधार उन्मुख हुँदै जाने देखिन्छ ।

त्यस्तो त नेपाल आफैँमा गर्विलो इतिहास बोकेको देश हो । जहाँ हिन्दू धर्म, बौद्ध धर्म, किरात धर्मलगायत विभिन्न धर्मको उद्गम स्थल हो । नेपाल आफैँमा एउटा सङ्ग्रहालय हो, यो हावापानी, हिमाल, पहाड, तराई, सांस्कृतिक विविधताले भरिपूर्ण सानो देश हो । यसलाई जगेर्ना गराउनुभन्दा पनि विदेशीले आफ्नो हितको लागि सोझा नेपालीलाई एक–अर्कामा जुधाएर, फुटाएर, आफू अनुकूल बनाउन व्यस्त देखिन्छन् । किन यसो गरिरहेका छन् ? नेपालमा राजनीतिक अस्थिरता किन भइरहेको छ ? यस विषयमा हामी स्वाभिमानी नेपालीले गम्भीर भएर सोच्नु र बुझ््नु जरुरी छ । हामीसँग भएका अथाह युरेनियम, निथिएम, कपरलगायतका धातुहरु विदेशीले आफ्नो बनाउन लालायित छन् । सबैभन्दा पहिलो यो बुझ्नुपर्ने विषय हो ।

नक्कली भुटानी शरणार्थी प्रकरण, ललितानिवास काण्डलगायत काण्डैकाण्ड गणतन्त्रले नेपाली जनतालाई दिएको एउटा उपहार हो । देश र जनताको हित गर्छु भन्नेहरुको असली नियत यस्तो रहेछ, अहिलेको प्रकरणले पुष्टि गरेको छ । देशमा आमूल परिवर्तन गर्छु, देश विकास गर्छु, गरिब–निमुखा जनताको अनुहारमा खुशी ल्याउनेछु भन्दै यिनीहरुले सोझासाझा नेपाली जनतालाई झुक्याएर चोरबाटोबाट वर्तमान व्यवस्था ल्याएका छन् । यी र यस्तै प्रकरणबाहेक व्यवस्थाले केही दिन सक्दैन भन्ने पुष्टि हुँदै गएको छ । यो प्रकरण अहिले चर्चामा मात्र आएको हो । यस्ता प्रकरण हामीले धेरै नै भोगिसकेका छौँ ।

एउटा नेपाली नागरिकलाई आफ्नै देशमा विदेशी नागरिक बनाई शरणार्थीको रुपमा कागज मिलाएर पठाउने बहानामा नेपालीलाई नेपालमै बिक्री गर्ने कार्य अमानवीय छ । यस कार्यमा संलग्न जस्तासुकै ठूला नेता भए पनि कानुनको दायरामा अविलम्ब ल्याउनुपर्छ ।

यसै गरी राष्ट्रपति रामचन्द्र पौडेलद्वारा जारी गरिएको नागरिकता विधेयक किर्ते हो । नयाँ संसद्मा नल्याई आफूखुशी विधयेक ल्याएको देखिन्छ । यो विधयेक पहिले संसद्मा छलफल गर्नुपथ्र्यो । परिआए जनताको राय–सल्लाहसमेत लिनुपथ्र्यो । जनस्तरमा चौतर्फी विरोध भइरहेको बेलामा यो विधयेक आयो । भारतीयलाई नेपाली नागरिकता दिने हिसाबले विधयेक ल्याइयो भनिन्छ, वास्तवमा यो विधयेक भारतविरोधी पनि देखिन्छ । यो विधयेक अनुसार जसरी भारतीयले नागरिकता पाउँदा चिनियाँले पनि पाऊन् नि त !

यसै सेरोफेरोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण अमेरिकाहरुको फाइल सदर गराउने उद्देश्यले भएको देखिँदै छ । भ्रमणमा कुनै नयाँ सम्झौता भएन । विवादित विषयमा कुनै छलफल भएन । बंगलादेशमा विद्युत् पठाउने उद्देश्यले बंगलादेशमा नेपाली बिजुली बिव्रmी गर्ने जुन सम्झौता भयो, यो नेपालको हितमा छैन । अमेरिकनहरुले युरेनियम प्रशोधन गर्नका लागि बंगलादेशमा विशाल प्रशोधन केन्द्र खोल्दै छन् । त्यसलाई सहयोग पुग्ने हिसाबले सम्झौता भएको हो ।

प्रधानमन्त्रीले नेपाल र भारतविरोधी फाइल बोकेर गएकै कारण भारतीयले सांकेतिक अर्थ लाग्ने हिसाबले नेपाललाई राँगा उपहार दिने भएका छन् । यसै मेसोमा पूर्वराजा ज्ञानेन्द्र शाहकोे नेपाली राजनीतिमा यति बेला चर्चा–परिचर्चा भइरहेको छ । पूर्वराजा ज्ञानेन्द्र सालिन व्यक्तित्व, नैतिकवान्, क्षमतावान् र नेपालीलाई माया गर्ने जनताप्रति समर्पित हुनुहुन्छ । र, जुन राजा हामी नेपालीले पाएका थियौँ, साँच्चै हामी नेपाली साह्रै भाग्यमानी हौँ । किनभने धोकादारीबाट ल्याइएको गणतन्त्रलाई पनि सहर्ष स्वीकारी कुनै रक्तपातविना शासन सत्ता छोड्नुभएको थियो । यो एउटा महान् कार्य हो । जुन सामान्य मानिसमा हिम्मत, साहस, दूरदर्शिता हुँदैन । उहाँ एउटा महामानव, विवेकशील, आदर्श व्यक्तित्व हुनुहुन्छ । आज देश यो अवस्थामा छ । त्यो उहाँले पहिल्यै सोच्नुभएको थियो । आजसम्म हामीले शान्तिपूर्ण तरिकाले राजनीति गरिरहेका छौँ । नेपालको हित र राष्ट्रियताको लागि हामीले शान्तिपूर्ण तरिकाबाट जनतालाई जगाउँदै राजनीति गरिरहेका छौँ । हामी चर्को स्वरले बोल्दैनौँ, अरुले भनेका सुन्छौँ, देशलाई माया गर्छौं, नचाहिँदो तरिकाबाट प्रतिवाद गर्दैनौँ । यसको मतलब यो होइन कि हामीसँग बल छैन, बुद्धि छैन, संगठन छैन । किनभने हाम्रो आस्थाको धरोहर राजसंस्था हो । राजा ज्ञानेन्द्र जसरी सालिन हुनुहुन्छ, हामी पनि उहाँकै परामर्शमा हिँडिरहेका छौँ ।

हामीलाई देशको माया छ, जनताको माया छ, जनताले जुन बाटो चाहन्छन् हामी त्यसै गरी हिँडिरहेका छौँ । यो देश सबैको साझा हो । यहाँ सबैले शान्तिपूर्ण राजनीति गर्न पाउनुपर्छ । त्यसो त राजसंस्थाविना नेपालको कल्पना नै गर्न सकिँदैन । हिजो कस्तो अवस्था र आज कस्तो अवस्था छ ? राजसंस्था हुँदा देशमा कति शान्ति थियो, कति सुशासन थियो कि आज ।

त्यसैले जति सक्दो चाँडो साजसंस्था पुनस्र्थापित हुन्छ, हुनुपर्छ । जसरी तपाईं–हामीले विभिन्न राजनीतिक धटनाक्रमहरु भोग्दै आयौँ । यी भोगाइहरुलाई साँच्चै छातीमा हात राखेर ठण्डा दिमागले सोचौँ । के यो गणतन्त्र तपाईं–हामी, हाम्रो परिवार, हाम्रो भोलिका सन्तती, राष्ट्र र राष्ट्रियताका लागि फलदायी रहेछ त ? खास गरी हिजो राजसंस्था हुँदा र अहिले गणतन्त्र हुँदा कहाँ कति प्रतिशत विकास भयो ? स्वास्थ्य, शिक्षा, रोजगार क्षेत्रमा कति प्रतिशतले उन्नति भयो ? त्यसको लेखाजोखा गरौँ । त्यसैले राजसंस्था पुनस्र्थापना गर्ने र अहिले भइरहेको भ्रष्टाचार, अनियमितता भण्डाफोर गर्नको लागि राप्रपामा आबद्ध हुनुपर्ने बेला आएको छ ।

गणतन्त्रवादीहरुले ल्याएको बजेट हेरेर अहिलेको व्यवस्थाबारे प्रस्ट हुन्छ । यस वर्षको बजेट व्यापारीहरुलाई झन् धनी बनाउने अभिप्रायमा आएको देखिन्छ । यो बजेट पहिलाकै निरन्तरता हो । गरिब जनतालाई राहत दिन बजेटमा नयाँ केही छैन । शिक्षा, स्वास्थ्य क्षेत्रमा पनि नयाँ बजेट छैन । बरु घट्दो छ । त्यसैले वर्तमान गणतन्त्रवादीहरु हरेक क्षेत्रमा असफल भइरहेको पुष्टि हुन्छ ।

(लेखक बस्नेत राप्रपाका आमन्त्रित केन्द्रीय सदस्य हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्