समाचार प्रभाव : सिद्धलेकमा जनताको सेवाबाट चुकेको भन्दै स्थानीय सरकारविरुद्ध पत्रकार सम्मेलन

स्वास्थ्य सेवा सुचारु नगरे आन्दोलनको चेतावनी



धादिङ  । 

वैकल्पिक व्यवस्था नगरी असारको अन्तिम दिन अत्यावश्यक स्वास्थ्य सेवा बन्द हुनेगरि सिद्धलेक गाउँपालिकाले स्वास्थ्य लगायतका कर्मचारी निष्कासन गरेको विरोधमा नेकपा एमालेले पत्रकार सम्मेलन गरेको छ ।

नेपाल समाचारपत्र दैनिकमा सिद्धलेकका ८ स्वास्थ्य संस्था बन्द समाचार साउन ३ गते प्रकाशन भएपछि गाउँपालिकामा दबाब सिर्जना भएको छ भने स्वास्थयकर्मीहरुसमेत आन्दोलित भएका छन् ।

करारमा राखिएका कर्मचारीलाई निष्कासन गर्ने निर्णय पछि कर्मचारीको व्यवस्था नगरि पुरानाहरुको करार अवधि थप नगरेपछि सिद्धलेक गाउँपालिकाका १२ ओटा स्वास्थ्य संस्थामध्ये ८ ओटा बन्द हुने अवस्थामा छ ।  २ ओटा स्वास्थ्यकर्मी अभावमा स्वास्थ्य संस्था बन्द भएको छ । २४ घण्टा सेवा दिनुपर्ने स्वास्थ्य संस्थाहरुमा तत्काल अनुभवी भएका स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मी पुनर्बहाली गरेर जनताको स्वास्थ्य सेवा सञ्चालन गर्न नेकपा एमाले सिद्धलेक गाउँपालिका कमिटीका सचिव रामहरी बराकोटीले बताउनुभयो ।

पत्रकार सम्मेलनमा सिद्धलेक वडा नम्बर ३ का वडा अध्यक्ष देव पुलामीले कार्यपालिकाको निर्णय कार्यपालिका सदस्यले समेत हेर्न नपाएको, माग गर्दा पनि उपलब्ध नहुने गरेको, आफूले कार्यपालिका बैठक गर्न माग गरे पनि नराख्ने गरेको नियम विपरीतको कार्य रोक्न माग गर्ने गरे पनि नरोकेपछि जनताको पक्षमा आन्दोलित भएको बताउनु भयो ।

फिल्डमा खटिने भेटेनरी प्राविधिक हटाएर लम्की स्किन रोगको महामारी रोकथाम गर्नुपर्ने अवस्थामा जनताको हित विपरीत काम भएकोले तत्काल नरोके कडा आन्दोलनमा उत्रने चेतावनी दिनुभयो ।

कृषि क्षेत्रका समेत ५ जना प्राविधिक हटाइएको छ । अघिल्लो सरकारले गरेका निर्णय उल्टाउने र जनविरोधी काम गरिरहेकोले यस किसिमको हर्कत सच्याएर जनताको पक्षमा कानुन सम्मत काम गर्न गाउँपालिकाका पूर्व अध्यक्ष एवं नेकपा एमालेका जिल्ला सदस्य प्रेमनाथ सिलवालले बताउनुभयो । गाउँपालिकामा करारमा कार्यरत ५१ जना कर्मचारी पालिकाले विना योजना हटाएपछि समस्या आएको छ । हटाइएका कर्मचारी समेत आन्दोलित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्