सहायक प्रजिअ पोखरेलको  बिदाइ



काभ्रे। 

सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलको अनिवार्य अवकाशमा जिल्ला स्थित विभिन्न कार्यालयहरुले सम्मानका साथ बिदाइ गरेका छन् । उमेर हदका कारण ३२ वर्षको सेवा पुरा गर्नु भएका पोखरेल ६ महिना देखि काभ्रेपलाञ्चोकको जिल्ला प्रशासन कार्यालयमा कार्यरत हुनुहुन्थ्यो ।

‘सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलबाट सिक्नु पर्ने धेरै विषय छन्’–जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपकुमार गौतमले भन्नुभयो–‘नागरिकहरुको सेवामा क्रियाशील पोखरेलले नागरिकहरुलाई सहज वातावरणमा सेवा प्रदान गरेको अनुभूति जिल्लावासीहरूले गर्नु भएको छ ।’ प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले सहायक प्रमुख जिल्ला अधिकारी जिम्मेवारी र अनुभवका हिसाबले पोख्त रहनु भएको बताउनु भयो । पोखरेल कार्यरत रहँदा सेवा प्रवाहमा नागरिकहरुलाई सन्तुष्ट बनाउने र कानुनी विषयमा समेत अनुभवी भएकाले जिल्लाको सेवालाई सरलीकरण गर्न सहज भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

बिदाइ तथा सम्मान कार्यक्रममा सेवाका बारेमा अनुभव सुनाउँदै सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले भन्नुभयो–‘नागरिकहरुको सेवा गर्न पाउनु जीवनकै महत्त्वपूर्ण सम्पत्ति भएको हो । मानव भएर जन्मिए पछि मानवको सेवा गर्नु जीवनमा प्राप्त गर्ने जुनसुकै मन्दिरमा गएर प्राप्त हुन नसक्ने धर्म हो ।’  जिल्लामा कार्यरत रहँदा जिल्ला समन्वय समिति, प्रशासन कार्यालय, जिल्ला सुरक्षा टिम, कार्यालय प्रमुख तथा जिल्लाका नागरिकहरुसँगको समन्वय र सद्भावले सेवा प्रवाहमा सहज भएको पोखरेलले बताउनु भयो ।

पोखरेलले ३२ वर्षे सेवा अवधि गृह मन्त्रालयमा नै पुरा गर्नु भएको छ । २०४७ सालमा गृह मन्त्रालयमा सुब्बा तहबाट सेवा प्रवेश गर्नु भएका पोखरेल उप सचिव तहबाट बिदाइ हुनु भएको हो । २० वर्ष गृह मन्त्रालय भित्र रहनु भएका पोखरेलले जिल्ला कारागार कार्यालय काभ्रेमा ४ वर्ष अवधि व्यतीत गर्नु भएको थियो । त्यस लगत्तै हुम्लाको प्रमुख जिल्ला अधिकारीका रुपमा १८ महिना सेवा गर्नु भयो ।

हुम्लाबाट सुनसरीमा सहायक प्रमुख जिल्ला अधिकारी, ताप्लेजुङमा प्रमुख जिल्ला अधिकारी हुँदै काभ्रेमा सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत हुनुहुन्थ्यो । काभ्रेमा ४ वर्ष ६ महिना सेवा गर्नु भएका पोखरेलले कारागारको सुधार र कारागार व्यवस्थापनमा सुधार गर्नु भएको थियो । सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत रहँदा पोखरेलले नागरिकहरुलाई सेवामा सरलीकरणमा महत्त्वपूर्ण भूमिका खेल्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्