कर्मचारीविरुद्ध थाक्रे र नेत्रावती डबजोङमा जनप्रतिनिधिको धम्की र तालाबन्दी



धादिङ ।
धादिङको थाक्रे र नेत्रावती डबजोङ गाउँपालिकामा जनप्रतिनिधिले कर्मचारीहरूलाई धम्की दिँदै थाक्रेमा तालाबन्दी गरिएको छ। धादिङको थाक्रे गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी भएको छ । थाक्रे गाउँपालिका उपाध्यक्ष यन्त्रबहादुर थापासहित कार्यपालिका सदस्यको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरिएको हाे ।
गाउँपालिका अध्यक्षको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृतले अहिलेसम्म भएको बैठकको निर्णय सार्वजनिक नगरेको, नियम विपरीत आफूखुसी ठेक्का सम्झौता निकालेको र नियुक्ति नै नभएका करारका कर्मचारीहरूलाई तलब भत्ता खुवाएको आरोप लगाउँदै उपाध्यक्ष थापाको उपस्थितिमा तालाबन्दी गरिएको हो ।  गाउँपालिका प्रशासकीय अधिकृतले राजश्व परामर्श समितिको आदेश विना नै काम गरेको आरोप लगाइएको छ ।
बुधवार बिहान थाक्रेगाउँ कार्यपालिकाको बैठक बोलाइएकोमा बैठकमै विवाद भएपछि बिहान थापाको घरमा केही वडा अध्यक्ष कार्यपालिका सदस्यको सहभागितामा गोप्य बैठक समेत भएको थियो । बैठकपछि प्रशासकीय अधिकृत र गाउँपालिका अध्यक्ष समेत नभएको समयमा ताला लगाइएको हो ।
नेत्रावती डबजोङ गाउँपालिकामा कर्मचारीहरुले जनप्रतिनिधिबाट दुर्व्यवहार र धम्की आएको भन्दै कामकाज रोकेर प्रेसविज्ञप्ति प्रकाशन गरेको छ । वडा नब्र ३ का वडा अध्यक्ष सुरेश गुरुङ वाइवाले कर्मचारीहरु बैठक बसीरहेको स्थानमा गएर अभद्र व्यवहार अपशब्द प्रयोग गरि धम्कीपूर्ण रुपमा गालीगलौज गरेको आरोप कर्मचारीले प्रकाशन गरेको प्रेसविज्ञप्तीमा उल्लेख छ ।
कर्मचारीको मनोबल गिराउनेगरि भएको घटनामा सम्लग्न वडा अध्यक्षलाई कारबाही नभएसम्मका लागि गाउँपालिकाको सम्पूर्ण सेवा बन्द गरेको प्रेस विज्ञप्तीमा उल्लेख गर्दै सबै सेवा बन्द गरिएको छ । बुधवार गाउँपालिकाका  कर्मचारीले सेवा रोकेका कारण कुनै पनि काम नभएको र कर्मचारीलाई धम्की दिने विरुद्ध कारबाही हुनुपर्ने गाउँपालिका सूचना अधिकारी कृष्ण बद्री पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्