कुशादेवीमा एसईई उत्तीर्ण विद्यार्थी सम्मानित



काभ्रे ।

एसईई उत्तीर्ण गरेका विद्यार्थीहरुलाई सम्मान गर्दै आगामी यात्राको शुभकामना दिने क्रममा पनौती नगरपालिका वडा नम्बर २ र ३ बाट एसईई उत्तीर्ण गर्ने १ सय १५ विद्यार्थीहरुलाई स्थानीय स्तरमा सम्मान गरिएको छ ।

‘जन्मस्थानबाट नै बालबालिकाहरुलाई हौसला प्रदान गर्दै बाँकी शैक्षिक गन्तव्यका लागि शुभकामना प्रदान गर्ने कार्य थालनी गरेका हौँ’–राष्ट्रिय युवा संघ नेपाल पनौती ३ का अध्यक्ष राजेश घिमिरेले भन्नुभयो–‘बालबालिकाहरुलाई सम्मान पछि अध्ययनमा थप हौसला र जिम्मेवारी बहनका लागि सहज होस भन्ने उदेश्य हो ।’

पूर्वमन्त्री एवं प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सदस्य तथा नेकपा एमाले पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिदै मुलुक निर्माणको अभियानमा शिक्षा महत्त्वपूर्ण भएकाले मुलुकका लागि आवश्यक पर्ने दक्ष जनशक्ति तयार हुने गरी अध्ययन गर्न सुझाव दिनु भयो । ‘मुलुक निर्माणका लागि विभिन्न खालका क्षमता भएका नागरिकहरुको आवश्यकता पर्छ’– पोलिटब्युरो सदस्य बास्कोटाले भन्नुभयो–‘मुलुक निर्माण गर्ने अभियानमा यहाँहरुको योगदान रहोस् । शैक्षिक गन्तव्यका थप सिँढीहरुले हरेक क्षेत्रमा आवश्यक पर्ने नागरिक बन्ने गरी अध्ययन गर्नुस् ।’

पछिल्लो समय शैक्षिक संस्थाहरुमा बढिरहेका शैक्षिक अराजकताले विद्यार्थीहरु प्रति नकरात्मक सन्देश जान सक्ने तर्फ सरोकारवाला निकायहरुले ध्यान दिनु पर्ने बास्कोटाले बताउनु भयो । केहि दिन अघि विश्वविद्यालयमा प्राध्यापकहरु माथि गरिएका दुर्व्यवहार, क्याम्पस प्रमुख माथि गरिएका घटनाले शिक्षा प्राप्तिमा मात्रै होइन असल र अनुशासित नागरिक बन्न विद्यार्थीहरुले सानै देखि त्यस्तै वातावरण पाउनु पर्ने बास्कोटाले बताउनु भयो ।

कार्यक्रममा नेकपा एमालेका बागमती प्रदेश कमिटी उपाध्यक्ष रामहरि सुवेदीले बालबालिकाहरुले अनुशासित भएर मुलुक निर्माण गर्न सक्ने खालका शिक्षा प्राप्तिका लागि शुभकामना दिनु भयो । पनौती नगरपालिका उपप्रमुख गीता बञ्जारा, बागमती प्रदेश कमिटी सदस्य कुमार थापा, नेकपा एमाले पनौती नगर कमिटी अध्यक्ष सुरेश हुमागाई, नेपाल पत्रकार महासघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना लगायतले बालबालिकाहरुले लिने गन्तव्य र विषय सही हुनु पर्ने बताउनु भएको थियो ।

कार्यक्रममा नगरपालिका निवर्तमान प्रमुख भीम न्यौपाने, वडा अध्यक्षहरु, निर्वतमान वडा अध्यक्षहरु, पार्टीका विभिन्न तहका नेताहरु, अभिभावक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्