धुलिखेलमा सुरु भयो ब्यवसायीक प्याराग्लाईडिङ्गको उडान



काभ्रे।

धुलिखेल नगरपालिकाको देविस्थान डाँडाबाट ब्यवसायीक रुपमा प्याराग्लाईडिङ्ग सुरु गरिएको छ । पूर्व मन्त्री एवं प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सांसद गोकुल बास्कोटाले ब्यवसायीक रुपमा सुरु गरिएको प्याराग्लाईडिङ्गको शनिवार उद्घाटन गर्नु भएको छ ।

‘धुलिखेल नगरपालिका वडा नम्बर ९ स्थित देविस्थानबाट धुलिखेल ८ बडाल गाउँसम्म पुग्ने गरी ५५ सय फिट उचाइमा उडानका लागि अनुमति प्राप्त गरेका छौँ’– विश्वबजार प्याराग्लाईडिङ्ग प्रालीका अध्यक्ष किरण कार्कीले भन्नुभयो–‘ब्यवसायीक उडानका लागि प्राप्त अनुमतिका आधारमा आवश्यक मापदण्ड पूरा गरेर औपचारिक उडान सुरु गरेका हौँ ।’ साहसिक पर्यटकीय मनोरञ्जन समेत प्राप्त हुने प्याराग्लाईडिङ्गको शुभारम्भले उपत्यकासँग जोडिएको काभ्रेपलाञ्चोकको विकास र समृद्धिमा थप योगदान पुग्ने पूर्व मन्त्री गोकुल बास्कोटाले बताउनु भयो । ‘पर्यटकहरुका लागि आकर्षण मानिएको साहसिक प्याराग्लाईडिङ्ग मार्फत स्थानीय सरकार, निजी क्षेत्र र समुदाय स्तरले समेत फाइदा प्राप्त गर्नेछ’–पूर्व मन्त्री बास्कोटाले भन्नुभयो–‘देशले लिएको समृद्धिको लक्ष्यलाई प्याराग्लाईडिङ्गको सुरुवातीले धुलिखेलको चिनारी मात्रै होईन आयआर्जनमा समेत वृद्धि गर्नेछ ।’ प्याराग्लाईडिङ्गको ब्यवसायीक उडानका लागि सरोकारवाला निकायहरुले समन्वय र सहकार्य गरी निरन्तर सञ्चालनका लागि वातावरण बनाउनु पर्नेमा सहभाहिरुले जोड दिनु भयो ।

संचालकहरु किरण कार्की, दावा लामा, दिपक चौलागाई लगायतले २५ लाख रुपैयाँ भन्दा धेरै लगानी गरी पोखरामा सञ्चालन भएका प्याराग्लाईडिङ्ग कम्पनीहरुको सहकार्यमा धुलिखेलमा ब्यवसायीक उडान सुरु गर्न लागेका हुन् । संचालक दावा लामाका अनुसार एकै पटकमा ६ वटा उडान भर्न सकिने छ । उडान भर्ने यात्रुले ३० मिनेट अवधिको ७ हजार रुपैयाँ तिर्नु पर्नेछ । ७ हजार रुपैयामा ३७ लाख रुपैयाको दुर्घटना विमा हुनेछ । धुलिखेल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आर्कषक बन्दै गएको छ । धुलिखेलमा निर्माण भएका देविस्थान पार्क, बलभद्र कुँवर स्मारक, हजार सिँढी तथा अन्य पार्कहरुले धुलिखेलमा घुम्न आउने र बनभोजका लागि आउने आन्तरिक पर्यटकहरुको घुँईचो लाग्न थालेको छ । कार्यक्रममा वडा अध्यक्षहरु गणेश आचार्य, विनोद गौतम, नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना लगायतले प्याराग्लाईडिङ्गको ब्यवसायीक उडानको सफलताको कामना गर्नु भएको थियो ।

धुलिखेलमा आउने पर्यटकहरुको बसाई लम्ब्याउन प्याराग्लाईडिङ्ग महत्त्वपूर्ण इभेन्ट भएको क्षेत्रीय होटल संघकी महासचिव ज्योत्सना सैंजुले बताउनु भयो । ‘पर्यटकहरुलाई फरक खालको मनोरञ्जन दिन र पर्यटन व्यवसायलाई प्रवर्द्धन गर्न प्याराग्लाईडिङ्गको ब्यवसायीक उडानले सहयोग पुग्नेछ’–क्षेत्रीय होटल संघकी महासचिव ज्योत्सना सैंजुले भन्नुभयो । कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्