विद्यालयमा व्यवस्थापन पक्षको ११ महत्व र दायीत्व



शिक्षाको महत्व नबुझ्ने अहिले संसारमा सायदै कोहि होलान् । तर समय परिस्थिती अनुसार शिक्षाको स्वरुप , तरिका , श्रोत, साधन , पाठ्क्रम , नीति , लक्ष, योजना , पायपुस्तक र तिनीहरुका विषयवस्तु , कार्यान्वयन विधि तथा जनशक्ति परिचालन जस्ता क्षेत्रहरुमा व्यापक परिमार्जन हुँदै गइरहेका छन् र हुनु आवश्यक पनि । नेपालको वर्तमान अवस्थामा शिक्षालाई सिपमुलक र व्यावहारिक लगायत अन्तर्राष्ट्रिय प्रतिस्पर्धातमक बनाउने भरमग्दुर प्रयास भइरहेको देखिन्छन् ।

यसमा सरकारी , गैर सरकारी , अन्तर्राष्ट्रिय गैर सरकारी तथा अन्य दातृ निकायहरुको त्यतिकै सक्रियता र संलग्नता पनि रहँदै आएको छ । निजी क्षेत्रको समेत लगानी , चासो र र सरोकार रहेको नेपालको शिक्षा क्षेत्रमा पछिल्ला समयमा सामुदायिक बिद्यालयले पनि शैक्षिक गुणस्तरका लागि गरेका अथक प्रयास र मिहेनतको कारण औसतमा केहि हदसम्म सरकारी शिक्षा बजेट त्यसै खेर गइरहेको भन्ने आम गुनासो मसिनो हँुदै गएको महशुस गर्न सकिन्छ ।

कुनै पनि बिद्यालयको गुणस्तर, दिगोपना र सम्वृद्धिका लागि त्यसको बिद्यालय प्रशासन र व्यवस्थापनको पनि अहम भुमिका हुने गर्दछ । यसका लागि केहि सुझाव यसरी दिन सकिन्छ ।

१ बिद्यार्थी र अध्यापनमा परोक्ष र अपरोक्ष प्रभाब

बिद्यालयको भौतिक पुर्वाधार लगायत शिक्षक तथा कर्मचारीहरुको जतिसुकै राम्रो योग्यता र दक्षता भएपनि व्यवस्थापन र प्रशासनको सही नेतृत्व बिना सबद्यालयको स्थिती क्याप्टेन नभएको जहाज जस्तै हुनेछ । कुशल , बैज्ञानिक तथा आधुनिक बिद्यालय व्यवस्थापन र चुस्त , निष्पक्ष र योग्य प्रशासनले मात्र सन्तुलित र स्वस्थ अध्यापनको वातावरण सिर्जना गर्न सक्दछन् । त्यसका लागि व्यवस्थापन समितीका अध्यक्ष देखि प्रधानाध्यापक सम्मको नियुक्ति र चयनमा वैधानिकता , निष्पक्षता , राजनीतिक पुर्वाग्रहरहित , वरिष्ठता , योग्यता , निस्वार्थ सेवा भावना , दाग रहित नैतिक आचरणमा जोड दिइनु पर्दछ । बिद्यालयलाई केहि दिनु भन्दा त्यहाँबाट केहि लिने निहित र तुच्छ स्वार्थ बोकेका तथा समाजमा विगतमा कुनै उपलब्धिमूलक र सम्मानजनक योगदान र पहिचान नभएका व्यक्तिहरुलाई त्यसता उच्च र स्रवेदशिल ओहदामा पु¥याइयो भने बिद्यालयको प्रगतिको कदापि कल्पना गर्न सकिन्न ।

२ सहि व्यक्तिलाई सहि स्थान

विषयगत रुपमा मात्र दक्षताको आधारमा शिक्षकहरुलाई अध्यापनको मौका दिइनु पर्दछ । बिज्ञानमा उच्च शिक्षा हासिल गरेकालाई अंग्रेजी विषय अध्यापन गराइनु गलत मात्र नभई त्रुटिपुर्ण व्यवस्थापन मान्न सकिन्छ । साथै आफ्ना मान्छेहरुलाई समन्धित ज्ञानबिना नै अनावश्यक विभागमा भर्ति गराई नातावाद , कृपावादलाई प्रशय दिइनु हुन्न । यस मामिलामा विशेष रुचि , दखल , प्रतिभा र ज्ञान भएका बिद्यार्थीहरुको समेत पहिचान गरी तिनीहरलाई बिभिन्न अभियान जस्तै वातावरण , संस्कृति , साहित्य , भाषा , विज्ञान र खेलकुदमा परिचालन गर्न सकिन्छ । बिद्यालय भनेको पेट पाल्न जागिर खाने वा व्यपार गर्ने स्थान नभएकाले आफ्ना चिन्ने जान्नेलाई जागिर ख्वाउने काममा प्रशासन र व्यवस्थापनले मरिमेट्नु हुन्न ।

३ नियमित अनुगमन , पृष्ठपोषण र प्रोत्साहन तथा पुरस्कार

बिद्यलाय जस्तो ठूलो संस्थामा ठूलो संख्यामा शिक्षक तथा कर्मचारी कार्यरत रहने भएकाले मिहेनत गरी अनुशाहित ढंगले काम गर्ने र प्रशासन र व्यवस्थापनको नजिक रहेर चाकडी र चापलुसी गरी अघि बढ्नेहरुको पहिचान र नियमित अध्ययन अध्यापनको अनुगमन गरी आवश्यक रुपमा बिद्यार्थी लगायत शिक्षक तथा कर्मचारीलाई प्रोत्साहन र पृष्ठपोषण दिइनु पर्दछ । पदोन्नोति र पुरुस्कार प्रमुख आधार योग्यता , वरिष्ठता , लगनशिलता र सिर्जनशिलतालाई बनाइनु पर्दछ । टिमवर्कलाई जोड दिँदै गुटवन्दि र अराजक स्थितीलाई निरुत्साहित गरिनु पर्दछ । कोहि मरीमरी काम गरिरहने र कोहि बसीबसी कोहि चाट्ने भयो भने कुनैपनिबेला विरोधको भयावह विस्फोट हुनसक्छ । अन्य स्थानको त कुरै छाडौं, राजधानी काठमाडौंकै सामुदायिक तथा निजि विद्यालयमा पनि अधिकांश शिक्षक तथा कर्मचारी दक्ष सिप तथा प्रदर्शजनमा भन्दा चाकडीमा विश्वास राख्छन् । तर आफ्ना विषयवस्तुमा कुशल व्यक्तिहरु यस्तो भजन गाउने कार्यमा नलाग्ने भएकाले तिनीहरु प्रशानबाट सदैव पिडित रहन्छन् ।

४ भ्रष्टाचार नियन्त्रण

आर्थिक तथा नैतिक भ्रष्टाचार गर्नेहरुमा खाने मान्छेलाई जुँगाले छेक्दैनन् भन्ने उखान चरितार्थ हुन्छ । पाठ्यपुस्तक , स्टेसनरी सामान , बिद्यार्थीहरुको पोशाक , टाइपेटी , ट्रयाकसुट , क्यान्टिन र परिक्षा संचालन , शैक्षिक भ्रमण , कोचिंग कक्ष संचालन, निर्माण तथा मर्मत संभार, आवश्यक अन्य वस्तुहरुको खरिद बिक्री देखि विविध भैपरी खर्चमा समेत लेखा , आर्थिक समिती , अडिटर र टेन्डरदाता सम्म मिलोमतो गरी प्रत्यक्ष र अप्रत्यक्ष भ्रष्टाचार हुन सक्छन् । अझै यस्ता कार्यसम्बन्धी माथिल्लै निकायमा उजुरी परेकै खण्डमा पनि राजनीतिक शक्ति , भनसुन र कमिसन तथा घुसबाट भ्रष्टाचार सामसुम पार्न कागजी सेटिंग हुने संभावना धेरै रहन्छ । यसका लागि प्रशासन र व्यवस्थापन पक्ष निकै सचेत रहनुपर्ने हुन्छ । दुवैले एकले अर्कालाई जाँच्ने र निगरानी राख्ने गर्दा पनि यस्ता अर्थिक चुहावट रोक्न सकिन्छ । छानविन नै गर्ने हो भने यस्ता विषयलाई लिएर अख्तियार दुरुपयोगमा उजुरी परेका थुप्रै उजुरी तत्कालिन राजनीतिक शक्तिको आडमा रहेर अझैपनि मुल्तवीमा रहेको पाइन सक्छ ।

५ पारदर्शिता , नैतिक अनुगमन र अभिव्यक्ति स्वतन्त्रता

बिद्यालयमा आइपर्ने अप्ठयारा समय र विषयमा मात्र बैठक बस्ने र अन्य सिमित व्यत्तिलाई फाइदा हुने विषयलाई भने गोप्य राख्ने थुपै्र बिद्यालय छन् । यसबाट एकताको भावना मासिन पुग्छ । साथै शिक्षक तथा कर्मचारीहरुमा विरोध र असन्तुष्टिको भावना जन्मिन्छ । बैठकहरुमा पनि जायज आवाज उठाउने हरुलाई प्रशासन र व्यवस्थापनको विेराधिको रुपमा नहेरी उठेको आवाजको कदर र आवश्यक सुनुवाई गरी अभिव्यक्ति स्वतन्त्रताको सम्मान गरिनु पर्दछ । बिद्यालयमा बिद्यार्थी , शिक्षक शिक्षिका वा कर्मचारीमाथि यौन उत्पीडन र शोसन भइरहको पहिचान गरी त्यसको सही समाधान गरी दोषिलाई आवश्यक कारवाही गरिनु पर्दछ ।

६ अनुशासन र अतिरिक्त क्रियाकलाप

अनुशासन भन्ने शब्द बिद्यार्थीहरु माथि मात्र लक्षित र केन्दि«त नगरी त्यसलाई प्रधानाध्यापक , व्यवस्थापन समिति , शिक्षक तथा कर्मचारीहरुलाई पनि अनिवार्य ढंगले पालना गराइनु पर्दछ । कुनैपनि विद्यालयको अस्तित्वको मेरुदण्ड नै अनुशासन हो भन्ने बुझ्नु पर्दछ । विगतमा जस्तै शिक्षा किताबी ज्ञानमा मात्र सिमित रहेको स्थिती अहिले छैन । बिद्यार्थीहरुको सर्वागिण व्यक्तित्व विकासका लागि तिनीहरुलाई नियमित रुपले खेलकुद , हिज्जे , वादविवाद , संगीत , साहित्य तथा चित्रकला र विज्ञान प्रदर्शनी जस्ता क्रियाकलापमा भाग लिन लगाइनु पर्दछ ।

७ पुरस्कार र प्रोत्साहन
राम्रो काम गर्न नसक्नेहरुलाई राम्रो गर्न लगाउन र राम्रै काम गर्दै आएकाहरुलाई अझै राम्रा काम तर्फ अग्रसर गराउन विद्यालय प्रशासन र व्यवस्थापनले समय समयमा बिद्यार्थी , शिक्षक शिक्षिका तथा कर्मचारीहरुलाई पुरुस्कार र प्रोत्साहनको व्यवस्था गरिरहनु पर्दछ । अझै बिद्यालय परिवारलाई बिद्यालय प्रति भावनात्मक समबन्ध वृद्धि गराउन बोनस र अन्य सुविधाहरु पनि दिइनु पर्दछ । विशेष गरी निजी ढंगले संचालित बिद्यालयहरुमा लगानीकर्ता अर्थात संचालकले मा सम्पुर्ण मुनाफाको मज्जा लिने तर अन्य शिक्षक तथा कर्मचारीहरु कम तलब सुबिधामा अहोरात्र खटिरहुनपर्ने हुँदा तिनीहरुको असन्तुष्टि र विरोधको नकारात्मक असर बिद्यार्थीहरु माथि पोखिने गरिएको पाइएको छ । साथै शिक्षक तथा कर्मचारीहरुलाई जागिरको ग्यारेन्टि दिएर तिनीहरुलाई असुरक्षित भावनाबाट पिडित हुनबाट रोकनु पर्दछ । सामुदायिक बिद्यालयमा त विगतमा अनैतिक कार्यमा संलग्न रहेको ठहर भएका शिक्षकहरुलाई पनि पार्टीगत स्वार्थ, सिफारिश एवं दवाका कारण पदोन्नोति र पुरुस्कृत गरिने गरिएको थुप्रै उदाहरण पाइन्छन् ।

८ नेतृत्वदायी शिक्षा

विगतमा जस्तै बिद्यार्थीलाई चुँइक्क बोल्न नदिई अर्थात शिक्षकले मात्र एकहोरो बोलेको सुनिने कक्षाकोठालाई अचेल बैज्ञानिक मानिन्न । बिद्यार्थीहरुलाई व्यवहारिक र प्रयोगत्मक शिक्षा दिएर तिनीहरुलाई बहिमुर्खी र सक्रिय व्यक्तित्वको विकास गर्ने मौका दिई हरेक क्षेत्रमा नेतृत्व गराइनु पर्दछ ।

९ कक्षाकोठाको उचित व्यवस्थापन र शिक्षण सामग्री

अहिले पहिले जस्तो परम्परागत प्रयोगशाला र पुस्तकालमात्र व्यवस्था गरेर पुग्दैन । तिनीहरुलाई समेत नयाँ प्रविधिको अर्थात डिजिटलयुक्त गरिनु आवश्यक छ । सम्भव भए सम्म सम्पुर्ण जनशक्तिलाई ल्यापटपको व्यवस्था गरी कक्षाकोठा सम्म त्यसको पहुँच पु¥याई विद्यार्थीहरुलाई विभिन्न एप्स र साइट प्रयोग गरी अध्ययन र अध्यापन गराइनु पर्दछ । बिद्यालयका कक्षाकोठमा सरसफाई र राम्रो प्रकासको व्यवस्था हुनुपर्दछ । साथै बिद्यार्थी संख्याको अनुपातमा पुग्नेगरी सफा तथा अत्याधुनिक शौचालयको व्यवस्था गरिनु पर्दछ ।

तर विडम्वनाको कुरा स्थलगत निरिक्षण गरिने हो भने नेपालका थुपै्र बिद्यालयमा योग्य लाइवे्ररियन, नयाँ संस्करणका पुस्तक तथा सहायक पुस्तकहरु र खेलकुदका सामग्री र खेल्ने मैदान र अन्य आवश्यक पुर्वाधारको अभाब रहेको पाउने छौं । यहाँ सम्म कि कुनै बिद्यालयमा प्रभातकालिन कुनै अन्य कलेज रहेको अवस्थामा पुस्तकालय लगायतका अन्य भौतिक पूर्वाधार पनि साझा रुपमा संचालित रहेको पाइन सक्छ । यो एक हिसाबले दुवै व्यवस्थापन समितिको मौन मिलोमतो र ठगी कार्य नै हो ।

१०. यतातर्फ पनि ध्यान दिने कि !

केहि सामुदायिक विद्यालयमा बिहान पनि अर्को कलेज वा एघार र बाह्र कक्षा संचालन हुनेगरेका छन् । त्यस्त स्थानमा दिउँसो कक्षमा पढाउने शिक्षक तथा कर्मचारीले नै दोहरो सेवा पाइने गरेको पाइन्छ । स्वभावतः मानिस त के कम्प्युटर र रोवोट त थाकेर ह्याँग हुने गर्दछन् । ति दोहरो तलब खाने, अनिँदो र थाकेका जनशक्तिबाट दिउँसोको कक्षामा के कस्तो शिक्षण होला सजिलै सोच्न सकिन्छ । बरु ताजा र प्रतिभावान बेरोजगार युवा शक्तिलाई यस्तो स्थानमा रोजगारीको अवसर दिन सकिन्छ ।

त्यस्ता विद्यालयमा योग्य भएर पनि सहि बोल्ने, निडर र भ्रष्ट कार्यहरुलाई उजागर गर्ने खालका शिक्षकहरुलार्ई भने नियतवश नै दोहरो कामको मौका दिइने गरिन्न । साथै अवकाश प्राप्त केहि झण्डै सत्तरी उमेरका व्यक्तिहरु पनि आपसी मिलोमतोको आधारमा शिक्षण कार्यमा दुई सिफ्ट कार्यरत रहेको पाइन्छ । एक व्यक्तिले एक शैक्षिक संस्थाबाट मासिक कूल कति रकम तलब बुझ्छन् भन्ने सत्य तथ्य सम्बन्धित व्यवस्थापन समितिले सार्वजनिक गर्न सकेको खण्डमा कोहि पनि कुशल श्क्षिित व्यक्ति युएनडिपि वा कुनै प्रतिष्ठित अन्तर्राष्ट्रिय गैर सरकारी संस्थामा काम गर्न वा विदेश पलायन हुँदैन थिए ।

साथै पत्रपत्रिका, अनलाइन, टेलिभिजन र अन्य संचार माध्यममा विद्यालयको बजेटै खर्चेर झुठा प्रचार प्रसार गरिए भन्दा त्यहाँको वास्तविकता के हो भन्ने बुझ्न त्यहाँ कार्यरत शिक्षक तथा विद्यार्थीहरुलाई नै व्यवस्थापन समितिले अध्ययन गर्नु जरुरी हुन्छ । औपचारिक कार्यक्रममा मन्चमा आसिन भएर भाषण गर्नु, सम्मानित हुनु र प्रशासनले भनेका सम्पूर्ण कागजातमा आँखा चिम्लेर हस्ताक्षर गर्नु तथा नीति तथा कार्यक्रमको निर्णय गर्ने मात्र हो भने व्यवस्थापन समितिको जिम्मा पनि स्थानिय निकायलाई दिनु राम्रो हुने छ ।

११. नातावाद , पार्टिवाद र पैसावाद

स्थानिय निकाय र व्यवस्थापन पक्षले कुनै पनि विद्यालयमा के कति जनशक्ति कसको परिवार र पार्टी भित्रकै सदस्य छन् । र, अन्य के कतिले कति नजराना चढाएर त्यहाँ जागिर पाए वा सरुवा पाए भन्ने कुरामा सुक्ष्म अध्ययन र अनुसन्धान गर्नु जरुरी हुन्छ । जसले गर्दा गलत अध्यापन भइरहेको वा कुनै गलत क्रियाकलाप भइरहेको जानकारी हुँदा पनि सम्बन्धित प्रधानाध्यापक आँखा चिम्ले बसिरहेका हुन्छन् । साथै निजी श्रोतमा अत्यावश्यक जनशक्तिको पदपूर्ति भन्दा प्रशासन जसरी हुन्छ आफ्ना मान्छेलाई प्रमोसन दिने र तिनीहरुका जागिरको ग्यारेन्टि दिने काममा लागेको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्