होमस्टे, रिसोर्ट र होटेलका सञ्चालकहरूका लागि योग तथा पुर्वकर्म सम्बन्धी अभिमुखीकरण



काभ्रे । 

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काभ्रेले जिल्ला स्थित होमस्टे, होटेल तथा रिसोर्ट सञ्चालकहरूका लागि योग तथा पुर्वकर्म सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । धुलिखेलको माउन्ट प्रिन्सेस रिसोर्टमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रबाट ९० जना सहभागिहरुको सहभागिता रहेको थियो ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. बंशमवदा कौडिन्यायनेको अध्यक्षता रहेको थियो । कार्यक्रममा बोल्दै समन्वय समिति प्रमुख दीपककुमार गौतमले व्यक्तिको व्यस्ततालाई योग र पुर्वकर्मतसँग जोडेर अघि बढ्नु पर्ने बताउनु भयो ।

व्यक्ति आफ्ना लागि भन्दा अरूका लागि दौडिरहँदा उसले आफ्नो व्यक्तिगत व्यवहार, हेरचाह र स्वास्थ्यमा ख्याल पु¥याउन नसकेको गौतमले बताउनु भयो । कार्यक्रममा डा. बशमबदाले होटेल, होमस्टे र रिसोर्टमा पछिल्ला समयमा स्पा, योगका कार्यक्रम सुरु भए पनि विशेषज्ञ नभएकाले त्यसबाट हुन सक्ने सम्भावित जोखिमका बारेमा जानकारी गराउनु भएको थियो ।

बिरामी भएका तथा नभएकाहरूलाई कुन अवस्थामा कस्तो तरिकाले योग, स्पा, मसाज, स्टिम बाफ लिने भन्ने जानकारी गराउनु पर्ने उहाँले बताउनु भयो । ‘बिरामीको परीक्षण पछि मात्रै उपयुक्त हुन्छ भन्ने चिकित्सक परामर्श जरुरी छ’–डा. बंशमबदाले भन्नुभयो–‘हरेक क्षेत्रमा यि सेवा सुचारु गर्दा व्यक्तिको स्वास्थ्य अवस्थाका बारेमा पूर्व जानकारी लिएर विशेषज्ञद्वारा गरिएको सिफारिसका आधारमा मात्रै सेवा उपलब्ध गराउन आवश्यक छ ।’ यसकै लागि सचेतनामूलक अभिमुखीकरण उपलब्ध गराइएको उहाँले बताउनु भयो ।

 कार्यक्रममा क्षेत्रीय होटेल संघका सचिव ज्योत्सना सैजु, होमस्टे महासंघका बागमती प्रदेश अध्यक्ष गोविन्द हुमागाई, विशेषज्ञ योग गुरु श्रीराम पाण्डे लगायतले अभिमुखीकरण कार्यक्रममा योग तथा पुर्वकर्मका बारेमा जानकारी गराउनु भएको थियो । अभिमुखीकरण कार्यक्रममा पञ्चकर्म विशेषज्ञ डा.निर्मल भुषाल, योग गुरु श्रीराम पाण्डेले अभिमुखीकरण गराउनु भएको थियो ।

उक्त कार्यक्रम बागमती प्रदेश सरकार अन्तर्गतको रहेको डा. बंशमवदाले बताउनु भयो । यस अघि चालु आर्थिक वर्षको अन्त्यसम्ममा संघ र प्रदेश सरकारले विनियोजन गरेका अधिकांश कार्यक्रम सम्पन्न गरेको उहाँले बताउनु भयो । सघ अन्तर्गतका कार्यक्रममा ६ महिना भित्रका सुत्केरी महिलाहरूका लागि सतावरी, दशमुख तेल, ज्वानोचुर्ण वितवरण गरिएको छ ।

उक्त कार्यक्रम जिल्लाको पनौती नगरपालिका वडा नम्वर ४ को स्वास्थ्य चौकीमा सेवा लिने सुत्केरी महिलाहरूका लागि उपलब्ध गराइएको थियो । करिव ३ सय महिलाहरु उक्त कार्यक्रमबाट लाभान्वित भएका छन् । पञ्चकर्म, विद्यालयमा कार्यरत शिक्षक शिक्षिका तथा विद्यार्थीहरुका लागि योग र आयुर्वेदका बारेमा अभिमुखीकरण, निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।

प्रदेश सरकार अन्तर्गतका मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम, ट्राफिक, सञ्चारकर्मी, स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविकाहरूका लागि सचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ भने अस्पतालबाट निरन्तर प्रदान हुने सेवा ओपिडी, निःशुल्क औषधी वितरण, अकुपञ्चर सेवा, पुर्वकर्म, योग, ल्याव लगायतका सेवा पनि प्रभावकारी हुन थालेका छन् ।

जिल्ला आयुर्वेद अस्पतालले आयुर्वेद सम्बन्धी औषधीलाई शुल्क लिएर पनि विक्री गर्न थालेको छ । यसले नागरिकहरुलाई आयुर्वेद प्रतिको प्रयोग र त्यसको प्रभावकारीता बढाउन थालेका छ ।

प्रतिक्रिया दिनुहोस्