लमजुङ ।
पश्मि लमजुङको मर्स्याङदी गाउँपालिकाले पालिकाबाटै श्रम स्वीकृति दिन सुरु गरेको छ । गाउँपालिकाले रोजगार सेवा केन्द्रबाट व्यक्तिगत र पुनःश्रम स्वीकृती सेवा दिन सुरु गरेको हो ।
पालिकाबाट पहिलो सेवा ग्राहीका रुपमा वडा नं. ३ टारीकुनाका दुर्गावहादुर तामाङले श्रम स्वीकृती लिनुभएको छ । तामाङलाई गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले श्रम स्वीकृती पत्र प्रदान गर्नुभएको हो ।अव स्थानीय तहमै रहेको रोजगार सेवा केन्द्रबाटै आवेदन दिई श्रम स्वीकृति तथा पुनः श्रमस्वीकृति लिन सकिने गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो । तामाङले कतारका लागि पुनःश्रम स्वीकृति लिनुभएको हो ।
विगतमा श्रम स्वीकृत लिन काठमाडौं पुग्नुपर्ने बाध्यता थियो । ‘जब सरकारले श्रमस्वीकृत स्थानीय तहबाट समेत प्रदान गर्न सकिने प्रावधान ल्यायो, त्यसैबेला देखि पालिकाले समेत काम अघि बढाएपनि सेवाग्राही नआएकाले ढिलो गरी सेवा शुभारम्भ गरिएको मर्स्र्याङदी गाउँपालिकाका रोजगार संयोजक नन्दराज घलेले वताउनुभयो ।
स्थानीय सरकारबाटै श्रम स्वीकृति पाएपछि टारिकुनाका दर्गावहादुर तामाङले ठूलो सुविधा पाएको बताउनुभयो । ‘पहिला यो श्रम स्वीकृत लिन काठमाडौं जानुपथ्र्यो, त्यहाँ जान आउन बस्न, गाडीभाडा लगायत धेरै खर्च हुन्थ्यो, तामाङले भन्नुभयो, फेरी खर्च भए पनि समयमा काम नहुने, विभिन्न प्राविधिक कारण देखाएर काम नगरिदिनेलगायतका धेरै समस्या झेल्नुपर्ने बाध्यता थियोे, अहिले आफ्नै पालिकाबाट श्रम स्वीकृत पाउँदा निकै खुसी लागेको छ ।’
श्रम स्वीकृती पत्र प्रदानका अवसरमा गाउँपालिकाका उपाध्यक्ष जुनामाया थापा, रोजगार सेवा केन्द्रका कर्मचारी लगायतको उपस्थिती थियो । गत चैत १६ गते नेपाल सरकार (प्रधानमन्त्री तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय)को मन्त्रीस्तरीय निर्णयबाट वैदेशिक रोजगारमा जान चाहने नागरिकले सम्बन्धित स्थानीय तहबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिनुपर्ने निर्णय भएको थियो । वैदेशिक रोजगार ऐन तथा वैदेशिक रोजगार नियमावलीमा भएको व्यवस्थाअनुसार वैदेशिक रोजगारमा जान चाहने हरेक नागरिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने प्रावधान छ ।
सोहीअनुरुप सरकारले स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रलाई वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)मा जोडेर विदेश जानका लागि अनलाइन आवेदन भर्न नसक्नेका लागि निःशुल्क रूपमा आवेदन भरिदिने व्यवस्थासमेत गरेको छ । स्थानीय तहबाटै श्रम स्वीकृतका सेवा सुरु भएपछि वैदेशिक रोजगारीमा जान जाहने नेपाली श्रमिकलाई सुविधा हुने भएको छ ।










प्रतिक्रिया