कोसीमा सभामुखसहितको सरकार

पाँचौं मुख्यमन्त्री बने कांग्रेसका उद्धव थापा

0
Shares

विराटनगर । कोसी प्रदेशमा विवादका बीच नेपाली कांग्रेस संसदीय दलका नेता उद्वव थापा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । बिहीबार उहाँलाई प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । थापा प्रदेशका पाँचांै मुख्यमन्त्री बन्नुभएको छ ।

निर्वाचनको एक वर्ष पनि नबित्दै हिक्मत कार्की नेतृत्वको सरकार ढलेपछि थापाले सरकार गठनका लागि निर्णायक मत रहेको सभामुखको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्नुभएको थियो । प्रदेश प्रमुख खापुङले सरकारको दाबी पेसका लागि पाँच बजेसम्मको समयावधि दिनुभएको थियो । प्रदेश प्रमुखको आह्वानअनुसार कांग्रेसका थापाले माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो । कांग्रेसका २९, मोआवादीका १३, एसका ४ र जसपाकी १ सांसदको हस्ताक्षर बुझाइएको थियो । बहुमतका लागि ४७ सांसद आवश्यक पर्ने हुँदा सभामुख रहेका माओवादीका बाबुराम गौतमले पनि हस्ताक्षर गर्नुभएको छ ।

यसअघि एमाले र राप्रपाले सभामुखको हस्ताक्षरसहितको दाबी आएमा अस्वीकार गर्न प्रदेश प्रमुखको ध्यानाकर्षण गराएका थिए । उनीहरूको ध्यानाकर्षणका बाबजुद पनि प्रदेश प्रमुखले थापालाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । माओवादी केन्द्रबाट निर्वाचित भएका गौतमले सभामुख भएपछि दलको सदस्यता परित्याग गर्नुभएको थियो । सभामुखको भूमिकामा रहेका गौतमले सरकार गठनका लागि प्रदेशसभा सदस्यको हैसियतले हस्ताक्षर गर्नुभएको हो । सभामुख गौतमसहित कांग्रेसका थापा, नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्वो, नेकपा एकीकृत समाजवादीका राजेन्द्र राई र जसपाका निर्मला लिम्बूले हस्ताक्षर गर्नुभएको छ । कोसीमा विपक्षमा एमालेको ४० र राप्रपाको ६ सांसद छन् । पक्ष र विपक्षमा ४६÷४६ सांसद भएपछि सभामुखले पनि हस्ताक्षर गर्नुभएको हो तर, सरकार गठनमा सभामुखले हस्ताक्षर गर्नु संविधानविपरीत भएको आरोप लागेको छ ।

३० दिनभित्र विश्वासको मत लिने

यसैबीच कोसी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री थापाले ३० दिनभित्र विश्वासको मत लिने बताउनुभएको छ । मुख्यमन्त्रीमा नियुक्त भएपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले आफूले ३० दिनभित्र विश्वासको मत लिने बताउनुभएको हो । उहाँले सभामुखले वर्तमान सरकार गठनका क्रममा गरेको हस्ताक्षरको विषयमा आउने दिनमा संविधानको व्याख्यामार्फत प्रष्ट पार्ने संकेत गर्नुभएको छ । ‘उहाँले भोलि हुने शपथग्रहणको क्रममा केही मन्त्रीहरूलाई शपथ गराउने बताउनुभयो । ‘यो गलत छ या यो ठीक छ भन्ने कुरा संविधानले नै यस विषयमा प्रष्ट पार्छ,’ थापाले भन्नुभयो– ‘तटस्थ सदस्यको नाताले उहाँले समर्थन गर्नुभएको हो । सभामुखलाई हामीले विवादमा पारेका छैनौं । उहाँ सभामुख मात्रै होइन । प्रदेशसभाको सदस्य पनि हो । ९३ जनामै पर्नुहुन्छ । प्रदेशसभाको सदस्यको नाताले उहाँले समर्थन गर्नुभएको हो ।’

सभामुखलाई विवादमा पार्नुभयो उहाँको राजीनामा दिनुहुन्छ भन्ने प्रश्नमा थापाले भन्नुभयो– ‘सभामुखबाट राजीनामा हुँदैन ।’ उहाँले आफ्ना प्राथमिकता प्रदेशको विकास र समृद्धि रहेको बताउनुभयो । ‘यो सरकारको प्राथमिकता समग्र प्रदेशको विकास र समृद्धि, आर्थिक उन्नतिको कुरा नै हुनेछन् । स्वास्थ्य, शिक्षा प्राथमिकतामा रहने छन् । पहिचानको मुद्दालाई पनि वार्ताको माध्यामबाट वार्ता समिति गठन गरेर अधिकतम सम्बोधन गर्ने प्रयास गर्छौं’ – थापाले भन्नुभयो । थापाले प्रदेशको नाम अहिले परिवर्तन नहुने स्पष्ट पार्नुभयो । उहाँले आफूहरूबीच आलोपालोको कुरा नभएको तर, गठबन्धनले नै समग्र कार्यअवधिभर सरकार चलाउने दाबी गर्नुभयो । उहाँले आज हुने शपथग्रहणको क्रममा केही मन्त्रीहरूलाई शपथ गराउने बताउनुभयो ।

यता कांग्रेसकै मुख्यमन्त्री बन्दै गर्दा नेपाली कांग्रेसकै प्रभावशाली नेता शेखर कोइरालाले सरकार बनाउने खेलमा सभामुखलाई गणना गर्न खोज्नु संसदीय लोकतन्त्रको मर्यादाविपरीत भएको बताउनुभएको छ । प्रदेश सरकार गठन वा समर्थनको सवालमा कुन पार्टीको समर्थन रहने भन्ने कुरा सोही पार्टीको संसदीय दल वा समितिबाट प्रदेश प्रमुखलाई जानकारी दिन सकिने व्यवस्था भएको उल्लेख गर्दै उहाँले प्रदेश संसद्को सभामुख संलग्न भएको दलको समर्थनमा सरकार निर्माण हुने प्रक्रियामा सो दलले आफ्नो सदस्य संख्यामा सभामुखलाई समेत गणना गरी पठाउने कुराको संवैधानिक व्याख्या नभएको बताउनुभएको छ । कोसी प्रदेशको पहिलो प्रदेश १ को प्रदेश सभाबाट पहिलो मुख्यमन्त्रीमा एमालेका शेरधन राई, भीम आचार्य र नेकपा एकीकृत समाजवादीबाट राजेन्द्र राई मुख्यमन्त्री बन्नुभएको थियो ।