अनौपचारिक क्षेत्रका श्रमिक महिलाहरुका पीडा जटिल



कास्की ।

 विभिन्न क्षेत्रमा कार्यरत श्रमिक महिला अझै पनि लैङ्गिक तथा अन्य कारणबाट पीडित बनेको पोखरामा आयोजित एक कार्यक्रममा सहभागी वक्ताले निष्कर्ष निकालेका छन् ।

श्रमिक महिला रक्षा सङ्घद्वारा शनिवार पोखरामा आयोजित योगदानमा आधारित सामाजिक सुरक्षा ऐन र अनौपचारिक मनोरञ्जनात्मक क्षेत्र विषयक गण्डकीस्तरीय सरोकारवाला निकायसंगको अन्तरक्रिया कार्यक्रममा सहभागी वक्तहरुले यस्तो निष्कर्ष निकालेका हुन् ।

सो अवसरमा  बोल्दै गण्डकी प्रदेश सभा सदस्य दिलमाया पौवीले श्रमिक महिलाको अवस्था अझै पनि दर्दनाक रहेको बताइन् । स्वदेश वा विदेशमा काम गर्ने श्रमिक महिलाको पीडा धेरै छन् उनीहरुको अधिकार स्थापना गर्न तीनै तहको सरकार सक्रिय भएर लाग्नुपर्नेमा उनले  जोड दिइन् ।

अधिकांश महिला रोजगारदाताबाट शोषित मात्र छैनन्, उनीहरुले श्रम गरेबापत न्यूनतम ज्याला समेत नपाउने गरेको गुनासा आफूकहाँ थुप्रै आउने गरेको बताइन् । विशेष गरी होटल, डान्सबार,  दोहोरी साँझ, घर तथा मसाजमा काम गर्ने महिलाको अवस्था झनै  दयनीय रहेको भनाई उनको छ ।

प्रदेश सभा सदस्य द्रोण कुँवरले श्रमको सम्मान गरेर अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा सामाजिक सुरक्षा कोष गण्डकीका प्रमुख रमेश ढुंगेलले योगदानमा आधारित सामाजिक सुरक्षा कोष बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

ट्रेड युनियन  काँग्रेस गण्डकी प्रदेश उपाध्यक्ष लालीमाया रेग्मीले लोकतन्त्र प्राप्ति पछि पनि महिलाले अधिकार प्राप्त गर्न नसक्नु दखद भएको  बताउँदै  असंगठित क्षेत्रमा काम गर्ने श्रमिक महिलालाई  १२ घण्टा काममा लगाएर मासिक चार पाँच हजार रुपैयाँ मात्र पारिश्रमिक दिने गरिएको र कतिले त्यो पनि नपाएको भनाई उनको छ ।

पोखरा महानगरपालिकाको न्यायिक समिति सदस्य तथा वडा नं ९ की वडा सदस्य भावना श्रेष्ठले श्रमिकहरुका समस्या समाधान गर्न आफूहरू प्रतिबद्ध गरेको बताइन् ।

जिफन्टकी प्रतिनिधि संगीता पाण्डेले श्रमिक महिलाका अधिकार स्थापित गर्न सरकारी क्षेत्रबाट कडा कदम चाल्नु पर्नेमा जोड दिइन् । सो अवसरमा श्रमिक महिला, विभिन्न मजदुर संघका प्रतिनिधिले आफ्ना भनाई राखेका थिए भने उक्त संस्थाका अध्यक्ष सविना लिम्बुको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन राधिका चम्लागाँईले गरेकी थिइन् ।

२०७१ सालमा दर्ता भएको श्रमिक महिला रक्षा संघमा देशभरका ४ हजार श्रमिक महिलाहरु सदस्य रहेका छन् । रोजगारदातालाई श्रमिकप्रति उत्तरदायी बनाउने उद्देश्यले संस्थाको स्थापना गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्