धादिङमा मानवअधिकार उल्लङ्घन र ज्यादतीका ३३ घटना, महिला र बालिकामाथि धेरै 



धादिङ । 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धादिङले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम असार ११ गते धादिङ बेसीमा सम्पन्न गरेको छ ।

मानव अधिकार वर्ष पुस्तकमा समेटिने ३३ घटनाका बारेमा इन्सेक जिल्ला प्रतिनिधि सीताराम अधिकारीले घटनाहरुबारे अभिलेख प्रस्तुति गर्नु भएको थियो।

सन् २०२३ जनवरीदेखि जुनसम्मको ६ महिनाको अवधिमा ३३ ओटा मानवअधिकार उल्लङ्घन र ज्यादतीका  घटनाहरु अभिलेख भएको अभिलेखमा उल्लेख छ ।
हत्याका ३, कुटपिटका २, गाउँसभा झडपको १, बालक कुटपिटका १, बाल बलात्कारका ८, बालयौन दुरव्यवहार, तथा बालबलात्कार प्रयासका ४, महिला बलात्कारका ३, महिला बलात्कार प्रयासका ६, मानव बेचविखनका २, कथित बोक्सीआरोपका १, बहुविवाहको १, आत्महत्या दुरुत्साहनको १ घटना इन्सेकले अभिलेख गरेको इन्सेक प्रतिनिधि सीताराम अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला अदालतका श्रेस्तेदार खुम भण्डारीले मानव अधिकार स्थान अनुसार र परिवेश अनुसार उपभोग गर्दा फरक फरक विषयलाई मानव अधिकारका रुपले व्याख्या  गर्ने गरिएको बताउनुभयो ।
मानवअधिकारलाई स्थानीय रुपमा फरक किसिमले बुझ्नु पर्ने उहाँको धारणा थियो । इन्सेकले अभिलेख गरेको घटनालाई इतिहासको रुपमा रहेकोले धन्यवाद दिनुभयो ।

धादिङ जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष विश्वराज अधिकारीले आत्महत्या दुरुत्साहन मुद्दा मनपरी रुपमा आएको र कानूनीरुपमा भएको व्यवस्थाको दुरुपयोग भएकोले सबै आत्महत्या दुरुत्साहनलाई गम्भीर रूपमा लिन नसकिने बताउनुभयो ।

महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल बागमती प्रदेशका अध्यक्ष गायत्री खतिवडाले विपदको समयमा तत्काल राहत उद्धार गर्नुपर्ने स्थानीय सरकारले विस्थापित भएर बसेको धेरै समय भइसक्दा पनि त्रिपाल समेत नदिएर स्थानीय सरकारले मानव अधिकार विरोधी काम गरेको बताउनुभयो ।

नेपाल मानव अधिकार संगठनका  धादिङका अध्यक्ष एवं अधिवक्ता कृष्णराज अधिकारी, विष्णुकुमार श्रेष्ठ, खिल गीरी, दलित सेवा संघका अध्यक्ष श्याम मगराती, दलित अधिकारकर्मी बेगबहादुर सुनार, अपाङ्गता अधिकारकर्मी राजु रेग्मी, धादिङ अस्पतालका कृष्णलाल उप्रेती, लगायतले मानव अधिकार व्यक्तिको अधिकार भएकोले राज्यले  सुरक्षाको जिम्मा लिनुपर्ने बताउनुभयो ।

 कार्यक्रममा जिल्लामा क्रियाशील मानवअधिकारकर्मी तथा संचारकर्मीहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्