वालिङ नगरले उठायो झन्डै ४ करोड राजस्व



स्याङ्जा । 

जिल्लाको वालिङ नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० मा झन्डै ४ करोड राजस्व सङ्कलन गरेको छ । २०७९ साउन १ गते देखि २०८० असार १० गते सम्म नगरपालिकाले ३ करोड ९१ लाख ९५ हजार ९० रुपैयाँ राजस्व सङ्कलन गरेको हो । नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि राखेको लक्ष्य नजिक पुगेको सङ्केत देखाएको छ । घर जग्गा रजिष्ट्रेशन, सम्पत्ति कर, घरबहाल कर, नक्सापास कर लगायत २६ प्रकारका सेवा बापत नगरपालिकाले आन्तरिक कर उठाउँदै आएको छ ।

आर्थिक वर्ष २०७९/०८० का लागि नगरपालिकाले झन्डै ६ करोड भन्दा बढी राजस्व उठाउने लक्ष्य लिएको थियो । जग्गाको आर्थिक कारोबार नहुँदा नगरपालिकाले सोचे अनुसारको राजस्व संकलनमा भने धक्का पुगेको छ । घरजग्गाको कारोबार यो वर्ष ठप्प भयो लेखा प्रमुख ज्ञानप्रसाद अर्यालले भन्नुभयो, ‘जसले गर्दा घरनक्सा, सिफारिस सबै बन्द भए ।’ लक्ष्य पुरा हुन नसके पनि आर्थिक मन्दीका कारण अहिलेसम्म सङ्कलन भएको राजस्व सन्तोषजनक रहेको उहाँको भनाई छ । नगरपालिकाले सिफारिस दस्तुरबाट सबै भन्दा धेरै राजस्व संंकलन गरेको तथ्यांक देखिएको छ । जसबाट हालसम्म ६० लाख ६० हजार ६ सय २६ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

दोस्रोमा सम्पत्ति कर, तेस्रोमा घर बहाल कर र चौथोमा नक्सापास दस्तुरबाट राजस्व सङ्कलन धेरै उठेको तथ्यांक देखिएको छ । सम्पत्ति करबाट ५२ लाख ८४ हजार ३ सय ७५, घर बहाल करबाट ४५ लाख २८ हजार ९ सय २०, नक्सापास दस्तुरबाट ४१ लाख ३२ हजार ३ सय २१ रकम राजस्व सङ्कलन गरेको वालिङ नगरपालिकाले जनाएको छ । नगरपालिकाले सबैभन्दा थोरै कर स्वास्थ्य सेवा करबाट उठाएको छ । हालसम्म यो सेवाबाट १ हजार राजस्व सङ्कलन भएको छ । अहिलेसम्म सङ्कलन भएको राजस्वमा ढुंगा, गिट्टी र बालुवाको दस्तुर राखिएको छैन । यसबाट झन्डै ४० लाख राजस्व जम्मा हुने नगरपालिकाले जनाएको छ । ६ करोड भन्दा बढीको लक्ष्य लिइए पनि ५ करोड भन्दा बढी राजस्व असार मसान्त सम्म सङ्कलन हुने विश्वास नगरपालिकाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्