मंगला गाउँपालिकाले ल्यायो ४४ करोड ८१ लाखको बजेट



म्याग्दी ।

पश्चिम म्याग्दीको मंगला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ४४ करोड बढीको बजेट ल्याएको छ । बिहीबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १६औँ गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षत्रीले कुल ४४ करोड ८१ लाख ११ हजार सातसय रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो ।

यो बजेट अघिल्लो आर्थिक वर्षको तुलनामा दुई करोड ४६ लाख रुपैयाँले बढी हो । उपाध्यक्ष क्षत्रीले चालुतर्फ २८ करोड ३१ लाख ६१ हजार सातसय अर्थात् ६३ दशमलव २० प्रतिशत र पुँजीगततर्फ १६ करोड ४८ लाख ५० हजार अर्थात् ३६ दशमलव ८० प्रतिशत बजेट प्रस्तुत गर्नुभएको छ । प्रस्तुत बजेटमध्ये सबैभन्दा धेरै सामाजिक विकासतर्फ २२ करोड ५९ लाख रुपैयाँ विनियोजन भएको छ ।

यसैगरी पूर्वाधार विकासतर्फ ११ करोड ३९ लाख, आर्थिक विकासतर्फ दुई करोड ४६ लाख ५० हजार, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ एक करोड ४८ लाख ५० हजार, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ छ करोड ७५ लाख पाँचहजार सातसय, पूर्वाधारतर्फ सडक निर्माण तथा स्तरोन्नति, सुरक्षित भवन आवास तथा सहरी विकास, सांस्कृतिक सम्पदाको संरक्षणलाई प्राथमिकतामा राखिएको छ । सामाजिक विकासतर्फ शिक्षामा नेपाल सरकारको सशर्त अनुदार र गाउँपालिकाबाट छुट्टै विनियोजन गरी १८ करोड ६९ लाख ५० हजार बजेट विनियोजन गरिएको छ ।

स्वास्थ्यमा योग अभ्यास कक्षा सञ्चालन, सुरक्षित गर्भपतन र प्रजनन स्वास्थ्य, बालबालिकाको पोषणमा सुधार, उपाध्यक्ष सुत्केरी उपहार कार्यक्रम, औषधी खरिदलगायत सशर्त अनुदानसहित दुई करोड ६० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । विद्यालय, युवा क्लब तथा विभिन्न संघसंस्थाका भवन निर्माण तथा मर्मत सम्भारका लागि २७ लाख तथा विद्यालयका विभिन्न कार्यक्रमको सशर्त अनुदानमा १७ करोड ४९ लाख प्रस्ताव गरिएको छ । खानेपानी तथा सरसफाइमा ६६ लाख, कृषितर्फ ८६ लाख र पशुपक्षी विकासतर्फ ३१ लाख ५० हजार बजेट विनियोजन गरिएको छ ।

यसअघि गाउँसभामा गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले आगामी आर्थिक वर्ष ०८०÷८१ का लागि पालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । गाउँपालिकाले योजना बैंक तयार पारी कार्यान्वयन गर्ने नीति लिएको छ । विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने, सेवा प्रवाहलाई जनउत्तरदायी बनाउने, उपभोक्ता समितिबाट सम्पन्न हुने योजनाको कामलाई सरल र सहज बनाउन योजना सफ्टवेयरको व्यवस्था गर्ने लगायतका नीतिहरु अवलम्बन गरिने भएको छ ।

कृषि, पशुपालन, पर्यटन, सिँचाइ, सडक, पुल, भवन, शिक्षा, स्वास्थ्य, खानेपानी, युवा तथा खेलकुदको विकासमा महत्त्वपूर्ण उपलब्धि हासिल हुने गरी कार्यक्रमहरु बनाइएको छ । अध्यक्ष रोकाद्वारा प्रस्तुत नीति तथा कार्यक्रम र उपाध्यक्ष क्षत्रीद्वारा प्रस्तुत बजेट गाउँसभाले बिहीबारै पारित गरेको छ । त्यस्तै गाउँसभाले आर्थिक विधेयक र विनियोजन विधेयक पनि पारित गरेको प्रमुख प्रशासकीय अधिकृत शिवकुमार पौडेलले बताउनुभयो ।

१६औँ गाउँसभा पालिकाका अध्यक्ष रोकाको अध्यक्षता, जिल्ला समन्वय समिति म्याग्दीका उपप्रमुख डिलकुमारी खत्रीको प्रमुख आतिथ्य, प्रमुख प्रशासकीय अधिकृत पौडेलको स्वागत र सूचना अधिकारी राजेन्द्र आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्