एकल लोक गीत प्रतियोगिताको उपाधि बर्दियाकी पोखरेललाई



बुटवल ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेशले आयोजना गरेको एकल लोक गायन प्रतियोगिताको उपाधि बर्दियाकी चन्द्रा पोख्रेलले जितेकी छन् । बुटवलमा सम्पन्न प्रतियोगितामा अन्य २२ जना फाइनलिष्ट प्रतिस्पर्धीलाई पछि पर्दै पोख्रेलले उपाधिसँगै ५१ हजार १ सय ११ रुपैयाँ नगद राशि समेत हात पारेकी छन् ।

यसैगरी बाँकेका चन्द्रबहादुर विश्वकर्मा द्वितीय हुँदै ३१ हजार १११ रुपैयाँ नगद राशि हात पारेका छन् भने तृतीय हुन सफल रुपन्देहीका मधु परियारले २१ हजार १११ नगद राशि हात पारेका छन् ।

सान्त्वना स्थान हासिल गरेका रोल्पाका प्रगती विष्ट क्षेत्रीले ५ हजार १११ रुपैयाँ नगद राशि हात पारेकी छन् । उपाधि विजेता ४ जनाले चर्चित सङ्गतिकार खेम सेन्चुरीको एल्बममा गीत गाउन तथा अभिनयका लागि अवसर पाउने भएका छन् ।

प्रतियोगिताका विजेताहरुलाई राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रिता थापा मगरले शुभकामना तथा बधाईसहित पुरस्कार वितरण गर्नु भयो । लुकेका प्रतिभाको प्रतिभा प्रस्फुटनका लागि यस्तो प्रतियोगिता कोशेढुंगा साबित हुने अध्यक्ष थापाले बताउनुभयो ।

प्रतियोगिताका संयोजक नारायण बिपी परियारका अनुसार प्रतियोगितामा १२ जिल्लाबाट प्रारम्भिक छनौटमा १ हजार २३ जना बढी सहभागी भएका थिए ।
प्रतियोगिताका विजेताहरुलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेशका अध्यक्ष दिपु मगर, राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष अम्बर विरही गुरुङ, पूर्व अध्यक्ष दुर्गा रायमाझी, चन्द्र शर्मा, केन्द्रीय उपाध्यक्ष सुवास बिसी, सचिव दीपक गरौजा लगायतले शुभकामना व्यक्त गर्नु भयो ।

यसैगरी प्रतिष्ठानले विश्व संगीतको दिवसमा लुम्बिनीमा कलाकार हित कोष स्थापना गरेको छ । लुम्बिनी प्रदेश अन्तरगत रहेर कलाकारिताका क्षेत्रमा काम गर्नेहरुको सामाजिक सुरक्षा तथा उनीहरुको हितका लागि कोषको स्थापना गरिएको प्रतिष्ठान लुम्बिनी अध्यक्ष दिपु मगरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्