प्रशासनको सेवामा सरलीकरणपछि संख्यामा वृद्धि



काभ्रे।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सेवामा प्रवाह सरलीकरण गरेको बताएको छ । चालु आर्थिक वर्षको ११ महिनाको समीक्षा गर्दै प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले कार्यालय भित्रका सेवा प्रवाहलाई सहज बनाइएको बताउनुभयो ।

‘एक स्थान देखि अर्को स्थान जानु पर्ने अवस्थालाई कम गरिएको, सम्बन्धित सेवा एकत्रित गरिएको, एक प्रकृतिको सेवा एकै साइडमा राखिएको, टाइम/टोकन प्रणाली लागू गरिएको, सेवाको मिति समय र प्रक्रिया समेत उल्लेख गरी टाइम कार्ड वितरण गरिएको, राहदानी आवेदनमा डबल स्क्रिनको व्यवस्था गरिएको, सार्वजनिक बिदाको दिनमा समेत सेवा प्रवाह गरेको, अतिरिक्त समय (बिहान/बेलुका) समेत सेवा प्रवाह गरेको छ’–प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले भन्नुभयो–‘स्थानीय तहहरुमा सेवा प्रवाह सम्बन्धमा निरन्तर अन्तर्क्रिया, सेवा प्रवाह सम्बन्धी सूचना प्रवाहमा वृद्धि, प्रक्रिया पुगेकै समयमा सेवाको सुनिश्चिता र सेवाको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।’

नयाँ नागरिकता प्रतिलिपि नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र लगायतका सेवामा नागरिकहरुले थोरै समयमा सहज रुपले सेवा प्राप्त गरेको उहाँले बताउनु भयो । राष्ट्रिय परिचयपत्रका लागि जेष्ठ महिनामा मात्रै २ हजार ९ सय ३३ जनाले फोटो खिचाएका छन् भने २ हजार ४ सय २१ जनाले राहदानीका लागि फोटो खिचाएका छन् । नयाँ नागरिकता १ हजार ६ सय ८९ जनाले प्राप्त गरेका छन् प्रतिलिपि नागरिकता ९ सय ८५ जनाले प्राप्त गरेका छन् ।

त्यस्तै प्रशासन कार्यालयले विपद संकट व्यवस्थापनका लागि तीन वटा खाँज तथा उद्धार सम्बन्धी अभ्यास गरेको छ भने प्रतिकार्य योजनाहरु तयारी गरेको छ । विपद्का घटनामा तत्काल परिचालित हुने गरी पूर्व सक्रियतामा समन्वयात्मक क्रियाकलाप गरिरहेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनुभयो ।
कार्यालयको भौतिक संरचना थप मिलान गरी सेवा प्रवाह गर्ने डेस्कहरुको व्यवस्थापन गरिएको उहाँले बताउनु भयो । राहदानी, नागरिक सहायता, दर्ता चलानी संघ संस्थाका लागि अलग्गै डेस्क खडा गरिएको छ भने बैठक कक्ष, पार्किङ स्थल तथा प्राङ्गण निर्माण, निरन्तर सरसफाइको प्रबन्ध, सेवाग्राहीको प्रतिक्षास्थलको व्यवस्था र आफ्नै भवनको मुद्दाको पहिलो पटक सुनुवाइ भएको छ । सु–शासनका लागि कार्यालय निरीक्षणमा वृद्धि र स्थलगत अनुगमनलाई विशेष ध्यान दिइएको उहाँले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षा र अपराध नियन्त्रणमा विशेष ध्यान दिएको बताएको छ । शान्ति सुरक्षाको अवस्थामा सुधार, अपराध नियन्त्रणमा उल्लेखित सफलता प्राप्त गरेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनु भयो । प्रशासन कार्यालयमा आएका शतप्रतिशत गुनासोको सुनुवाइ गरिएको उहाँले बताउनुभयो । सबै उजुरी उपर कारबाही आरम्भ गरिएको छ भने मुद्दा फर्छ्र्याैटको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ । चालु आर्थिक वर्षको जेष्ठ मसान्तसम्म ८५ वटा मुद्दा दर्ता भएकोमा १ सय ३१ वटा फर्छर्याैट भएका छन् । अघिल्लो आर्थिक वर्षको यो अवधिमा ८९ वटा मुद्दा दर्ता भएको थियो भने फैसला ३९ वटा भएका थिए । मुद्दा फैसलाको संख्या अघिल्लो आर्थिक वर्षको भन्दा तेब्बर जस्तै भएको छ ।

प्रशासन कार्यालय काभ्रेले फिल्डमा देखिने गरी विकास निमार्ण कार्यमा सहयोग गरेको बताएको छ भने सहकार्य सहजिकरणमा वृद्धि भएको छ । सबै स्थानीय तहमा पुगेर समन्वय र अन्तर्क्रिया गरेको, भुम्लुको जग्गाको अभिलेख ब्यवस्थित गर्न पटक पटक बैठक गरी कार्य अन्तिम चरणमा पुगेको, महाभारतबाट ३ जवना सुत्केरी महिलाहरुको पछिल्लो चार महिनामा हेलिकप्टर मार्फत उद्धार गरिएको, महिला बालबालिका वैदेशिक रोजगारमा आश्रित परिवार केन्द्रित कार्यक्रम, खानीखोला गाउँपालिकालाई सुत्केरी उद्धार कार्यक्रममा समेट्न सिफारिस तथा शहीदको सूची यकिन गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्