‘सही सूचना र सीप सिकेर मात्रै वैदेशिक रोजगारीमा जाउँ’

संचारकर्मी र गैससकर्मीलाई अभिमुखीकरण



काभ्रे। 

‘स्वदेशमा नै रोजगारी गरौँ, वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔ’ भन्ने नाराका साथ नेपालका ३९ जिल्लामा सुरु भएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका सन्दर्भमा जिल्लाका सञ्चारकर्मी तथा गैससकर्मीहरुसँग अन्तरक्रिया तथा अभिमुखीकरण गरिएको छ ।

वैदेशिक रोजगारीको समग्र अवस्था र सुरक्षित आप्रवासन  (सामी) कार्यक्रमका सन्दर्भमा कार्यक्रम संयोजक वसन्त कुँवरले जानकारी गराउनु भएको छ । ‘सकेसम्म वैदेशिक रोजगारमा जानै नपर्ने गरी सीप सिकेर आफ्नै स्थानमा स्वरोजगार गर्न तथा जानै पर्ने परिस्थितिमा सीप सिकेर जानु पर्ने व्यवस्थाका लागि सेवाग्राहिरुलाई अभिमुखीकरण र जानकारी गराउने कार्य भइरहेको छ’– कार्यक्रम संयोजक वसन्त कुँवरले भन्नुभयो–‘सामी परियोजनाले जिल्लाका सबै नागरिकहरुका लागि वैदेशिक रोजगारका सन्दर्भमा जानकारी गराउने र राहदानी लिन प्रक्रिया सुरु गरेका ब्यक्तिहरुलाई अभिमुखीकरण गर्दै आएको छ ।’ ‘सीप सिकेर विदेश जाँदा तलब बढी प्राप्त हुन्छ । जाने लागत पनि कम हुनुको साथै सुरक्षित काम गर्ने अवसर पाइन्छ । त्यसैले सीप सिकेर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ । विदेशबाट फर्केपछि स्वदेशमा पनि सो सीपको प्रयोग गर्न सकिन्छ’–कार्यक्रम संयोजक कुँवरले भन्नुभयो ।

काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका र रोशी गाउँपालिकामा सिविक फोरमले कार्यक्रम सञ्चालन गरिरहेको छ भने मण्डन देउपुर नगरपालिका र भुम्लु गाउँपालिकामा स्थानीय सरकार आफैले कार्यक्रम सञ्चालन गरिरहेका छन् । जिल्ला प्रशासन कार्यालयमा सामी परियोजनाका लागि सिविक फोरमले कार्यक्रम सञ्चालन गरिरहेको । उक्त कार्यक्रम अन्तर्गत वैदेशिक रोजगारमा जान चाहनेहरुका लागि निःशुल्क सीप तालिम प्रदान गरिरहेको छ ।

आप्रवासी स्रोत केन्द्र सञ्चालन तथा व्यवस्थापन, आप्रवासी स्रोत केन्द्रबाट सूचना तथा परामर्श सेवा, रिटर्नी स्वयंसेवक परिचालन, सामाजिक परिचालन तथा सशक्तीकरण कार्यक्रम (समुदाय अभिमुखीकरण/गहन अभिमुखीकरण) मार्फत घरभेट तथा सूचना प्रवाह गरिरहेको कार्यक्रम संयोजक कुँवरले बताउनु भयो ।

काभ्रेपलाञ्चोक जिल्लाबाट वैदेशिक रोजगार तथा अन्य प्रयोजनका लागि राहदानी लिनेहरुको संख्या ११ महिनाको अवधिमा करिब १८ हजार नागरिकहरुले राहदानी लिएका छन् । वैदेशिक रोजगारका लागि जानेहरुको संख्या धेरै छ । वैदेशिक रोजगारमा जान चाहनेहरुका लागि मात्रै सूचना तथा परामर्श र सीप उपलब्ध गराउने व्यवस्था गरिएको कार्यक्रम संयोजक कुँवरले बताउनु भयो । सामी परियोजनाले जनप्रतिनिधि, गैससकर्मी, कर्मचारी, पत्रकार तथा वैदेशिक रोजगारमा जान चाहने र गएर फर्केहरुलाई समेत सूचना परामर्श प्रदान गरिएको उहाँले बताउनु भयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले सामी परियोजना प्रभावकारी भएको बताउनुभयो । वैदेशिक रोजगारबाट फर्केका व्यक्ति र रोजगारमा गएका परिवारका आफन्तहरुलाई मनोसामाजिक परामर्श, वित्तीय साक्षरता, निःशुल्क कानुनी सहायता (न्यायमा पहुँच) र  सूचना तथा परामर्श सेवा (सूचनामा पहुँच) जस्ता कार्यक्रममा सामी परियोजनाले सहयोग पु¥याएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्